संघर्षबाट सफलताको शिखरमा पुगेकी महिला उद्यमी चिनु

 

चिनु गुरुङ
उपमहासचिव पदका उम्मेदवार
पोखरा उद्योग वाणिज्य संघ, ३२औं महाधिवेशन

स्याङ्जाको दरौमा जन्मिएकी चिनुकुमारी गुरुङ बिगत २७ वर्षदेखि पोखरा १७ मुस्ताङचोकमा बस्दै आएकी छन् । २०४९ सालदेखि उनले निरन्तर व्युटीपार्लर व्यवसाय संचालन गर्दै आइरहेकी छन् । सफल महिला उद्यमी गुरुङका श्रीमान इन्डियन आर्मीका सु–मेजर हुन् । श्रीमानसँगै परिवारमा १ छोरा, १ छोरी र १ नातिनी छन् ।

गुरुङ ब्युटीपार्लर एण्ड एकेडेमी प्रा.लि. उनको व्यावसायिक संस्था हो । न्युरोडमा मुख्य कार्यालय रहेको एकेडेमीको पोखराको पृथ्वीचोक, भाटभटेनी, बगर, चिप्लेढुङ्गा तथा तनहुँको दुलेगौंडामा शाखा छन् । उनले आफ्नो व्यवसायमार्फत ४९ जनालाई प्रत्यक्ष रोजगारी दिन सफल छन् । धेरै महिलालाई उद्यमशील तथा आत्मनिर्भर बन्न प्रोत्साहन पनि उनले गर्दै आइरहेकी छन् । पोखरामा हाल सञ्चालनमा रहेका धेरै महिला तथा पुरुष व्युटिपार्लर उनकै उत्पादन हुन् ।

अति न्युन लगानीमा व्यवसाय सुरु गर्ने क्रममा हप्ता दिनसम्म पनि बोहोनी नहुँदाको पीडा आज पनि ताजै छ उनको मनमा । तर, उनी बिचलित भइनन्, धैर्यताका साथ अगाडि बढिरहिन्, संघर्ष गरिरहिन् । त्यो समयको धैर्यता र संघर्षले नै उनलाई अहिलेको स्थानमा ल्याएको हो, सफलताको शिखरमा पु¥याएको हो । उनले ३ हजार भन्दा धेरै महिलालाई सिप सिकाएकी छन् । बेरोजगारीलाई न्युनीकरण गर्न यसले महत्वपूर्ण भुमिका खेलेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न तालिम तथा गोष्ठीमा सहभागी भएर प्राप्त गरेको ज्ञान आफ्ना विद्यार्थीलाई बाँडिरहन्छिन् गुरुङ । नेपाल सरकार एवं घरेलु तथा साना उद्योग कार्यालय मार्फत उद्यमशील विकास तालिम लिएकी छन् । भारतको मद्रासबाट ब्युटिसियन तालिममा डिप्लोमा कोर्ष तथा एडभान्स स्किन केयर कोर्ष भारतको पुनाबाट गरेकी छन् । थाइल्याण्डबाट हेयर एण्ड ब्रो कोर्ष गरेकी उनले सिटीइभिटीबाट लेभल टु स्किल टेस्ट लाइसेन्स प्राप्त गरेकी छन् । भारत, चीन, थाइल्याण्ड, मलेसिया, बंगलादेश, सिंगापुर, हङकङ, इन्डोनेसिया लगायतका देश उनले भ्रमण गरिसकेकी छन् ।

सौन्दर्य जगतमा ३० वर्षको लामो अनुभव उनीसँग छ । २ वर्ष पोखरा उद्योग वाणिज्य संघको महिला उद्यम विकास समितिको सदस्य भएर काम गरेकी छन् भने २ वर्ष संघको कार्य समिति सदस्य भएर काम गरेको अनुभव छ उनीसँग ।

व्युटीपार्लर व्यवसायी संघको सचिव भएर पनि उनले काम गरिसकेकी छन् । रेडियोमा ब्युटी पर्सनालिटी कार्यक्रम सञ्चालनको अनुभव पनि छ चिनुसँग । फरक क्षमता भएका विद्यार्थीको लागि सहारा ब्युटीपार्लर २०६८ सालमा स्थापना भएको छ । गरिब तथा जेहेनदार विद्यार्थीको लागि निःशुल्क तालिमको व्यवस्था उनले गरेकी छन् ।

हाल उनी महिला उद्यमी संघ नेपाल, कास्की शाखाको सदस्य हुन् । व्युटीपार्लर व्यवसाय संघ कास्कीको बरिष्ठ सल्लाहकारको भूमिका पनि छ । गण्डकी तालिम प्रदायक संघ (सिटिइभिटी) तथा ग्रामीण तालिम परिषद् केन्द्र (सिटिइभिटी) भिमादको सल्लाहकार पनि हुन् ।

लायन्स क्लब अफ पोखरा ब्युटी सिटीको संस्थापक अध्यक्ष हुन् भने हाल लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको जोन चियरपर्सनको जिम्मेवारीमा छन् । लायन्ससँगै रोटरी, जेसिस लगायतका संस्थामा काम गरेको लामो अनुभव उनीसँग छ । उत्कृष्ट काम तथा सामाजिक योगदानकै कदर स्वरुप उनले विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेकी छन् ।

व्यवसायसँगै सामाजिक क्षेत्रमा दैनिक सक्रिय छन् उनी । सञ्चारिका समूह पश्चिमाञ्चलमा अक्षयकोष स्थापना गरेकी छन् । अक्षयकोषको रकमबाट आउने ब्याजबाट क्रियाशील पत्रकार महिलालाई सम्मान तथा पुरस्कृत गर्ने व्यवस्था छ । घरेलु तथा साना उद्योग कार्यालयसँगको साझेदारीमा उद्यमशीलता सम्बन्धी १० दिने तालिम पनि प्रदान गरेकी छन् । लेखनाथ उद्योग वाणिज्य संघमार्फत लेखनाथमा निःशुल्क १ दिने सेमिनार गरेकी छन् ।

उनै चिनु गुरुङ निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवार बनेर प्रस्तुत भएकी छन् । समग्र उद्योगी व्यवसायीको हक तथा हितमा काम गर्ने उनको प्रतिवद्धता छ । महिला उद्यमीद्वारा उत्पादन गरिएका सामानको प्रवद्र्धन तथा बिक्रीको वातावरण बनाउन पहल गर्ने उनको उद्देश्य छ । व्यवसायीलाई कर तथा व्यवसाय सम्वन्धी अभिमुखीकरण कार्यक्रम गर्ने प्रतिबद्धता गरेकी गुरुङले आफू विजयी हुनेमा विश्वस्त रहेको बताउँछिन् । ‘महिला व्यवसायीको संख्या बढाउन पनि महत्वपूर्ण भुमिका खेल्नेछु,’ भन्छिन्, ‘उद्योगी तथा व्यवसायीसँग नजिक रहेर समस्या पहिचान गरी समाधान गर्नतर्फ लाग्ने मेरो प्रतिबद्धता छ ।’

You might also like

Comments are closed.