संघलाई सूचना प्रविधिमैत्री बनाउँछुः पोखरेल

अर्जुन पोखरेल
महासचिव पदका उम्मेदवार
पोखरा उद्योग वाणिज्य संघ, ३२औं महाधिवेशन

पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशन मिति नजिकिएको छ । चुनावी मिति नजिकिएसँगै आकांक्षीहरु चुनाव प्रचार–प्रसारमा व्यस्त छन् । संघको बर्तमान कार्यसमितिमा उपमहासचिव रहेका अर्जुन पोखरेल महासचिवको उम्मेदवार बन्दैछन् । महासचिवमा उम्मेदवारी दिनुको कारण, प्रतिबद्धता लगायत विविध विषयमा केन्द्रित रहेर पोखरेलसँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनमा महासचिवमा उम्मेदवारी किन ?
महासचिव प्रशासनिक कार्यकारी पद हो । संस्थागत सुशासन कायम गर्दै निजी क्षेत्रको छाता संस्था भएकाले उद्योग व्यवसाय र पर्यटनको प्रवद्र्धन गर्ने मेरो सोच छ । उद्योग व्यवसायमा पर्ने समस्याहरुको समाधानका लागि पहलकदमी लिदै व्यापारीलाई पर्ने समस्याहरु कर, नगरपालिका, घरबहाल, प्रशासनिक, ट्राफिक, जिल्ला प्रहरी स्टेक होल्डरहरुसँग पुलको काम गर्नेछु । संघलाई सूचना प्रविधिमैत्री बनाउने मेरो प्रतिबद्धता छ । संघमा आबद्ध भएका व्यवसायीहरुको प्रोफाइल बनाउने मेरो सोच छ, जोसुकैले पनि उक्त प्रोफाइललाई अनलाइनमार्फत हेर्न सक्नेछन् । मोबाइल एप्स बनाउनेछु । सदस्य र उपमहासचिव भइसकेर संघ भित्रको आन्तरिक प्रशासनिक ज्ञानलाई प्रयोगमा ल्याउनेछु । प्यानलले अगाडि सारेका प्रतिबद्धतालाई आफ्नो तर्फबाट कार्यान्वयन गराउनेछु । उपमहासचिव भएर काम गरेकाले स्वभाविक रुपमा मेरो महासचिवमा दाबेदारी हो । धेरै व्यवसायीहरुले पनि मलाई महासचिव बन्नका लागि प्रोत्साहन गर्नुभएको छ ।

उपमहासचिव हुँदा तपाईंले के–के गर्नुभयो ?
पोखरा उद्योग वाणिज्य संघमा प्रवेश गरेपछि पोखरा पर्यटनको गन्तव्य भएकाले मट्टीखान जुन पोखराबाट नजिक रहेर पनि छायाँमा परेको थियो, त्यस ठाउँलाई पर्यटनको गन्तव्य बनाउनका लागि नविनतम सोचका साथ त्यहाँ रिसोर्ट सञ्चालन गर्न सफल भएँ । यसले ग्रामीण पर्यटनलाई प्रवद्र्धन,स्थानिय
उत्पादनको खपत, स्थानीय युवाहरुलाई रोजगारीमा महत्वपूर्ण भूमिका खेलेको महसुस गरेको छु । संघमा उपमहासचिवसँगै अनुगमन समितिको संयोजक रहेर काम गरेको छु । त्यसबखत करिब ६ सय जना सदस्यहरु संघमा थपिएका छन् । यसले संघको आर्थिक विकासमा पनि टेवा पुग्नुका साथै संघलाई बलियो बनाएको छ । युवा तथा खेलकुद मन्त्रालयबाट गत वर्ष नेपालकै युवा उद्यमीहरुमध्ये पोखरा उद्योग वाणिज्य संघको उपमहासचिव पदकोे हैसियतमा भारतको युवा मन्त्रालयबाट आमन्त्रण गरेको कार्यक्रममा नेपालको पर्यटन र युथ एक्चेन्ज प्रोग्राममा आफ्नो भनाइ राख्न सफल भएँ । जहाँ नेपालको पर्यटन र भारतीय लगानीलाई जोड दिएको थिएँ । पोखरेली मञ्च युकेसँग सहकार्य गरेर सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई रातह वितरण गरेको थिएँ । ठूला कार्यक्रमहरु गर्न पोखरामा ठाउँ नभएको अवस्थामा संघको स्वामित्वमा रहेको प्रदर्शनी केन्द्रमा अत्याधुनिक अपाङगमैत्री शौचालय निर्माण कार्य मेरो संयोजकत्वमा भएको छ । अत्याधुनिक डोम निर्माणका लागि संयोजक रही कार्य अगाडि बढाइरहेको छु । संघ र घरजग्गा व्यवसायी संघमार्फत व्यवसाय प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेबापत शहरी विकास मन्त्रालयबाट विशेष सेवाबाट सम्मानित हुने अवसर मिल्यो ।

चुनावी अभियानका क्रममा मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
चुनावी घोषणासँगै हामीले घरदैलो अभियानलाई तिब्र बनाएका छौं । बजारमा जाने क्रममा मतदाताबाट प्राप्त प्रतिक्रियाबाट मलाई र मेरो टिमलाई हौसल्ला मिलेको छ । संघमा रहेर युवा उद्यमशीलता, व्यवसायीहरुको निकट रहेर उनीहरुका समस्यामा आवाज बुलन्द गर्न सक्ने व्यक्तिका रुपमा मलाई हेरेको पाएको छु । टिमले घोषणा गरेका कुराहरु र अनुभवी तथा पुराना, विभिन्न क्षेत्रबाट समेटिएका व्यवसायीहरुको प्रतिनिधित्व रहेको टिम भएकाले जित सुनिश्चित छ भन्ने प्रतिक्रिया पाएको छु ।

संघभित्र बढी राजनीति भयो भनिन्छ, तपाईंको धारणा के छ ?
संघमा राजनीति हुनुु हुँदैन र भएको पनि छैन भन्ने मलाई लाग्छ । विशुद्ध व्यावसायिक संस्थामा राजनीति हुनुहुँदैन भन्ने मेरो मान्यता संघमा प्रवेश गरेदेखि नैै मैले अबलम्बन गरिरहेको छु । सदस्य र उपमहासचिव भएर काम गरेपछि महासचिव पदमा मेरो दावेदारी हुनु स्वभाविकै हो । मेरो व्यक्तिगत स्लोगन संस्थागत सुशासन, उद्योग व्यवसायको प्रवद्र्धन र अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन भन्नेमा म दृढ छु । यदि कोही कसैले संघभित्र आएर राजनीति गर्न चाहन्छ भने त्यसलाई सबैले निरुत्साहित गर्नुपर्छ ।

आफ्नो व्यावसायिक अनुभवलाई कसरी सम्झनुहुन्छ ?
बिगत १४ वर्षदेखि निरन्तर व्यावसायिक क्षेत्रमा आबद्ध भइरहेको छु । सुरुमा रियलस्टेट व्यवसायमा आबद्ध थिएँ । संघमा प्रवेश गरिसकेपछि पर्यटन क्षेत्रमा लगानी गर्न सफल भएँ । त्यसैगरी अटोमोबाइल व्यवसायमा पनि आबद्ध भएको छु । पोखराको सिमलचौरमा कालिका अटोकेयर प्रालि स्थापना गरेको छु । वित्तीय संस्थामा पनि मेरो आबद्धता छ । सिद्धार्थ बैंकको संस्थापक छु । एस ट्रेड सेन्टर न्युरोडमा सञ्चालनमा छ ।

संघ बाहेक अन्य कुन–कुन संस्थामा आबद्ध हुनुहुन्छ ?
गण्डकी जग्गा तथा आवास विकास संघको अध्यक्ष भएर काम गरिसकेको छु । लायन्स क्लब अफ पोखरा अन्नपूर्णको निर्वतमान अध्यक्ष तथा हाल डिष्ट्रिक्टको जोन चियरपर्सन भएर सामाजिक काम गरिरहेको छु । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराको सदस्यसमेत छु । पश्चिमाञ्चल होटल संघको साधरणसदस्य छु । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको पनि म सदस्य छु । शिक्षा क्षेत्रमा पनि मेरो संलग्नता छ । जनप्रिय बहुमुखी क्याम्पसको सिनियटर तथा जनप्रिय उच्च माविको व्यवस्थापन समितिको सदस्यमा रहेर काम गरिरहेको छु । स्वास्थ्य क्षेत्रमा पनि संंलग्न छु । नेपाल ब्लड बैंकको संस्थापक तथा नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्य रहेर काम गरिरहेको छु । लगातयत विभिन्न संघसंस्थामा आबद्ध छु ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
व्यवसायीबाट प्राप्त मायाले म महासचिव पदमा विजयी हुनेमा ढुक्क छु । प्रशासनिक कामलाई व्यवस्थित गर्नेछु । व्यवसायीका समस्यामा सहजीकरण गर्ने मेरो भूमिका रहनेछ । कर बढाउनुभन्दा दायरा बनाउनुपर्छ भन्ने मेरो मान्यता छ । करको दर बढी हुँदा त्यहाँ लगानीको वातावरण बन्दैन । जथाभावी कर बृद्धि नगर्न दबाब दिनेछौं । युवाहरुले व्यवसाय र नेतृत्व लिनका लागि हतार गर्नुहुँदैन, धैर्य गर्दै क्रमशः अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ । म सधैं व्यवसायीहरुकै माझमा रहने प्रतिबद्धता व्यक्त गर्दै ३२ महाधिवेशनमा अत्याधिक माया पाउनेमा विश्वस्त छु ।

You might also like

Comments are closed.