पोखरा, १५ मंसीर

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संघीयता नेपालका लागि नयाँ भएकाले केहि अलमल भएको बताएका छन् । सृजना विकास केन्द्र पोखराको ४१ औं साधारणसभाको उद्घाटन सत्रलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले संघीयता नयाँ अनुभव भएकाले शुरुवाती चरणमा अलमल हुनुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । संघीयता कार्यान्वयनको शुरुवाती चरणमा अलमल भएकैलाई आधार मानेर संघीयता अफाप भयो वा असफल भयो भनेर भन्न नहुने बताउँदै उनले भने,‘अहिलेको समय संघीयता कार्यान्वयनको शुरुवाती चरण हो, यो नयाँ ठाउँ र नयाँ मार्गमा भएकाले केहि भएको हो, यसलाई स्वाभाविकै मान्नुपर्छ, यसैलाई आधार मानेर संघीयता अफाप भयो, असफल भयो भनेर भन्नु हुँदैन ।’
मन्त्री गुरुङले राजनीतिको मूल धार र विकासको मुल फुटाउने भनेकै संघीयता भएको बताए । उनले संघीयता महंगो भयो भनेर भन्नेहरुले लाटो हिसाब गरेको टिप्पणीसमेत गरे । उनले भने,‘संघीयता महंगो हो भन्ने लाटो हिसाब हो, देशमा पहिले भएको एउटा सरकार अहिले केन्द्रीय, प्रदेशका ७ वटा र स्थानिय सरकार हुँदा खर्च बढायो भनेर हल्ला पिटाका छन्, यो लाटो हिसाब मात्र हो, जसरी कुनै एउटा कम्पनीले शाखा खोल्यो, कर्मचारी थप्यो भने काम व्यवस्थित हुन्छ, उत्पादन धेरै हुन्छ, फाइदा धेरै हुन्छ र सुविधा पनि धेरै हुन्छ त्यसरी नै संघीयता आएपछि जनताले सुविधा पाउने र कामपनि व्यवस्थित हुन्छ ।’
मन्त्री गुरुङले वैंकमा पैसा नराखिरहन आग्रह गरे । उनले भने,‘वैंकमा पैसा राखिरहनु भनेको निस्कृय हुनु हो, अझ भनौं यसरी वैंकमा राखिएको पैसा कागज मात्र हो, यसलाई चलायमान गराएमात्र त्यो पूँजी हो, त्यसैले वैंकमा पैसा राखिरहनु भन्दा उत्पादनमा लगानी गर्नुस् ।’
Comments are closed.