संसारकै होचो स्थानमा रहेको कफुचे हिमताल जोड्ने नयाँ पदयात्रा मार्ग खोल्दै टान (फोटो फिचरसहित)

पोखरा, २६ पुस । संसारकै होचो स्थानमा रहेको दावी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउँदै नयाँ पदयात्रा मार्ग संचालनको तयारी अगाडि बढाइएको छ । पछिल्ला एक दुई वर्ष यता बढी चर्चामा आउन थालेको कास्कीको मादी गाउँ पालिका– १ मा समुन्द्र सतहबाट मात्र २४५० मिटरको उचाईमा यो ताल रहको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले उक्त तालको प्रवद्र्धका लागि नयाँ पदमार्ग खोल्न हालै एक खोज तथा अनुसन्धान अभियान समेत संचालन गरेको थियो ।

अन्नपूर्ण दोश्रो र लम्जुङ हिमाल विचबाट आउने हिमपहिरोबाट बनेको यो हिमतालले पर्यटनको अथाह संभावना बोकेका कारण खोज तथा अनुसन्धान अघि बढाइएको टान पश्चिमाञ्चल संघका अध्यक्ष दीपकराज अधिकारीले बताए । पोखरा लेखनाथ महानगरपालिकाको दीपबाट पदयात्रा सुरु गरी कास्कीकै अर्मला, आँटीघर मौजा, थाक, तारा हिल, सिक्लेस, हुगु हुँदै कफुचे पुग्ने यो मार्ग कम्तिमा एक हप्ता लामो हुने छ । पदयात्रा मार्गमा पर्ने गाउँ, पानीका श्रोत, भञ्ज्याङ लगायतलाई समेटेर नक्सा बनाउन लागि जीपीएस सहितको एक टोली समेत खटिएको थियो । केही महिना भित्र सो मार्गको नक्सा र ब्रोसर निर्माण गरी सो मार्ग संचालनको क्रम अगाडि बढाइने खोज टोलीका सहमागी एवं टान क्षेत्रीय संघ पोखराका पूर्व सचिव विनय आचार्यले जानकारी दिए ।

पदयात्रा मार्गको अधिकांश भाग अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्छ । गुरुङ संस्कृतिको अवलोकन, हरियाली जंगल, लामो हिमाली श्रृंखलाको दृष्य, कोटहरु, चरा अवलोकन, विभिन्न जंगली जनावरको अवलोकन गर्दै होचो स्थानमा हिमताल र त्यहाँ आउने हिमपहिरो हेर्न पाउनु यो मार्गको विशेषता भएको टान रजत महोत्सव एक्सप्लोर कमिटीका संयोजक नारायण सापकोटाले बताए । टान वेष्टर्न रिजनल एशोसिएशन पोखराले यो वर्ष मनाई रहेको रजत महोत्सवका अवसरमा एक्याप र मादी गाउँ पालिकाको सहयोग तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा पदमार्ग खोज कार्य सम्पन्न भएको कार्यक्रम संयोजक विश्वराज अधिकारीले बताए । केम्पिङ र होमस्टेमा आधारित यो पदयात्रा मार्गलाई १० दिनमा विस्तार गरी कास्कीको मादी गाउँ पालिकामा रहेको हुगुबाट कोरी, थुर्जु, दूधपोखरी हुँदै नामुन पासबाट मनाङ जिल्ला निकाल्ने योजना रहेको व्यवसायीले बताएका छन् ।

कतिपय गाउँलेले भर्जिन आइस लेक नाम दिएको कफुचे हिमतालमा पछिल्ला वर्षहरुमा नेपाली तथा विदेशी पर्यटकहरु समेत पुग्ने गरेको कास्कीको सिक्लेस स्थित नमस्ते गेष्ट हाउसका संचालक धन गुरुङ (माइला) ले जानकारी दिए । थाकबाट तारा हिल खण्ड र सिक्लेसबाट कफुचे ताल खण्डको बाटो मर्मत संभारको जरुरी भएको सुझाव उनको छ । गुरुङ लवजमा क्हफुचे समेत भनिने यो तालको नामाकरणमा क्ह भनेको हिउँ, फू भनेको झर्नु र चे भनेको समतल मिलेर बसेको भन्ने अर्थ लाग्ने पदयात्रा व्यवसायी थाक गाउँका विकास गुरुङले बताए । यो ताल मादी नदीको प्रमुख जलाधार समेत हो ।

टान वेष्टर्न रिजनल एशोसिएशन सँग सहकार्य गर्दै उक्त एक हप्ता लामो पदयात्रा मार्गलाई व्यवस्थित रुपमा संचालन गर्न आफूहरुको सदा सहयोग रहने एक्याप इलाका कार्यालय पार्चेका प्रमुख उत्सव न्यौपानेले सुनाए । चालू पदयात्रा मार्गहरु सडक मार्गको चपेटामा पर्दै जान थालेपछि बैकल्पिक मार्गको रुपमा यो मार्ग संचालनको तयारी थालिएको टान वेष्टर्न रिजनल एशोसिएशन पोखराका कार्यकारी सदस्य रामचन्द्र अधिकारीले बताए ।

You might also like

Comments are closed.