कपिल अधिकारी
प्रिन्सिपल
लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर
पोखरामा रहेका विभिन्न कलेजहरुको भिडमा लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरले आफूलाई अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित गर्न सफल छ । कलेजले बिए, बिबिए र बिएसडब्लुका लागि विद्यार्थी भर्ना गरिरहेको छ । यसैक्रममा कलेजका विशेषता लगायत विविध विषयमा केन्द्रित रहेर प्रिन्सिपल कपिल अधिकारीसँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

लेकसिटी कलेजका विशेषताहरु के–के छन् ?
हामी इनर्जेटिक टिम मिलेर कलेज सञ्चालन गरेका छौं । बिगत १० वर्षदेखि हामीले पोखरामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका छौं । शैक्षिक क्षेत्रमा लामो समय अनुभव भएका दक्ष प्राध्यापक हामीसँग हुनुहन्छ । दक्ष जनशक्ति उत्पादन गर्न हामी सक्षम छौं । हामीले उत्पादन गरेका विद्यार्थी हरेक क्षेत्रमा सफल भएको हामीले पाएका छौं । अध्यापनको क्रममा रिसर्चलाई फोकस दिने गरेका छौं । कलेज भित्र मात्र नभई बाहिर पनि फोकस गर्नुपर्छ भनेर हामीले यो सोच ल्याएका हौं । सैद्धान्तिक भन्दा प्रयोगात्मक विधिमा जोड दिएर अध्यापन गर्छौं ।
कलेजमा कुन कुन विषयको पढाइ हुन्छ ?
त्रिभुवन विश्वद्यिालयबाट सम्वन्धन प्राप्त यस कलेजमा विभिन्न विषय अध्ययन गर्न पाइन्छ । बिए अन्तर्गत समाजशास्त्र, पत्रकारिता र अंग्रेजी साहित्य अध्ययन गर्न सकिन्छ । बिबिएस र बिएसडब्लुका विभिन्न विषय पनि कलेजमा अध्ययन गर्न पाइन्छ । कलेजमा विद्यार्थी क्षमता १ सय ५० सिट छ । करिब ४ सय जनाले फर्म लगिसक्नुभएको छ । विद्यार्थीको उत्साहजनक सहभागिता छ । विएसडब्लु नयाँ विषय भएर पनि होला यसमा धेरै विद्यार्थी आकर्षित भएको मैले पाएको छु । बिबिएस पहिला ३ वर्षे थियो । अहिले ४ वर्षे भएको छ । ४ वर्षे बिबिएस अध्ययन गरेका विद्यार्थी बिबिए अध्ययन गरेका भन्दा कुनै हिसाबमा पनि कमजोर हुँदैनन् । बिबिएमा धेरै फिल्ड वर्क गराइन्छ । बिबिएसमा पहिला फिल्ड वर्क हुँदैनथ्यो । अहिले हामीले यसलाई पनि फोकस गरेका छौं ।
औपचारिक अध्ययनसँगै केकस्ता गतिविधि हुन्छन् ?
विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि तथा क्षमता अभिवृद्धिको लागि कलेजमा स्टुडेन्ट क्लब छन् । स्पोर्टस क्लब पनि छ । भर्खरै मात्र हामीले एउटा फुटसल कम्पनीसँग सम्झौता गरेका छौं । हामीले विभिन्न सामाजिक काम पनि गर्दै आइरहेका छौं । सामाजिक काम गर्न कम्युनिटी सर्भिस क्लब पनि कलेजमा छ । इन्टरप्रेनर्स क्लब बिबिएस अध्ययन गर्ने विद्यार्थीको लागि हो । सोसियल साइन्स सेन्टर पनि पहिलेदेखि नै थियो । सबैलाई समेट्ने गरी लिटेररी क्लब पनि कलेजमा छ । यसलाई अंग्रेजी साहित्य अध्ययन गर्ने विद्यार्थीले लिड गरेका छन् ।
प्रतिस्पर्धी शिक्षाका लागि लेकसिटी कत्तिको अब्बल छ ?
हामीले चाइना र कोरियाका विश्वविद्यालयसँग एमओयु गरेका छौं । उत्कृष्ट विद्यार्थीको लागि यो राम्रो अवसर पनि हो । हाम्रो विद्यार्थी रिसर्चको लागि त्यहाँ जाने र त्यहाँ विद्यार्थी यहाँ आउने भनेर सम्झौता भएको छ । जापान, अष्ट्रेलिया, युरोपका युनिर्भसिटीसँग पनि एमओयु गर्ने तयारीमा हामी छौं । करिव १ वर्ष भित्रमा हामी एमओयु गरिसक्ने छौं । डुयल डिग्री दिन सकिन्छ कि भन्ने हाम्रो सोच छ र त्यसको वारेमा सम्भाव्यता अध्ययन भइरहेको छ । संसारभर प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न हामी सफल छौं । विद्यार्थीलाई सबल र सक्षम बनाउँछौं । गुणस्तरीय शिक्षाका कारण नै लेकसिटीप्रति विद्यार्थीको आकर्षण बढेको हो ।
Comments are closed.