बसुन्धरा घर्ती
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँ
एवं महोत्सव संयोजक
तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव आजदेखी शुरु हुँदैछ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा ‘अमूल्य भाषा, सस्ंकृतिको संरक्षण गरौं, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं’ भन्ने नारासहित हुने महोत्सव मंसीर १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको सेरोफेरोमा आर्थिक आवाजका लागि सन्देश श्रेष्ठले महोत्सव संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीसँग गरेको कुराकानी ।
मेलाको तयारी कस्तो छ ?
मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सबै किसिमको प्रबन्ध गरिएको छ । स्टल निर्माण गरेर व्यवसायीहरुले सामान राखेर तयारी अवस्थामा बसेका छन् । उद्घाटन कार्यक्रमको पनि सबै तयारी गरिएको छ । उद्घाटन प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले गर्नुहुँदैछ । सुरक्षा व्यवस्था पनि प्रहरी प्रशासनको सहयोगमा चुस्त बनाइएको छ । त्यसैले सबै हिसाबले महोत्सवको तयारी पूरा छ ।
आदिवासी जनजातिको साझा संस्थाले गर्न लागेको यो महोत्सव कस्तो महोत्सव हो ?
यो अन्य संघसंस्थाले गर्ने महोत्सव जस्तै हो । तर यसमा हामी आदिवासी जनजातिका संस्कार संस्कृतिको प्रदर्शनी मुख्य रुपमा गर्दछौं । यसका अलावा हाम्रो महोत्सवमा अन्य महोत्सवमा जस्तै व्यापारिक स्टल राखिन्छ । सांस्कृतिक प्रदर्शनी तथा मनोरञ्जनात्मक कार्यक्रम गरिन्छ । स्थानीय उत्पादनहरु प्रदर्शनी तथा बिक्री गरिन्छ । जहाँबाट महोत्सवमा आउने दर्शकले अवलोकन गर्नुका साथै आवश्यक्ता अनुसार खरिद गर्न सक्छन् । पर्यटन प्रवद्र्धनात्मक स्टलहरु, अटो, मोवाइल, फेन्सी, कस्मेटिकदेखि सबै प्रकारका सामानहरु प्रदर्शनी तथा बिक्री पनि गरिन्छ । त्यसैले यो अवलोकनसहितको व्यापारिक थलो पनि हुनेछ ।
भनेपछि यो र अन्य महोत्सवमा खासै भिन्नता छैन ?
सबै महोत्सव एउटै प्रकारका हुन्छन् । तर यो महोत्सव व्यापारिक मात्रै नभई सांस्कृतिक संरक्षण तथा पर्यटन प्रबद्र्धनमा पनि केन्द्रित छ । जुन अन्य महोत्सवमा कम छ । हामी तनहुँमा रहेका २३ जनजातिका झाषा, संस्कृति संरक्षणसँगै त्यसको प्रबद्र्धन पनि यहि महोत्सवबाट गर्दैछौं । जसका लागि महोत्सवमा हरेक दिन कम्तिमा कुनै एक जातिको संस्कार, संस्कृतिको प्रदर्शनी गर्दैछौं । महोत्सवमा आउने दर्शकले यो अवलोकन गर्न पाउनेछन् । त्यस्तै पर्यटन प्रबद्र्धनका लागि पनि हामीले तनहुँका धार्मिक तथा ऐतिहासिक स्थानहरुको अवलोकन गराउने, आदिवासी जनजातिले सञ्चालन गरेका होमस्टेमा लगेर बास बसाउने लगायतका कार्यहरु गर्नेछौं । यसले तनहुँको पर्यटनमा नयाँ आयाम थप्ने हामीले विश्वास गरेका छौं ।
महोत्सवको उद्देश्य के हो ?
महोत्सवको उद्देश्य भनेको तनहुँमा रहेका आदिवासी जनजातिको भाषा, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रबद्र्धन गर्नु हो । महोत्सवका माध्यमबाट समाजमा पीछडिएका आदिवासी, जनजातिका संस्कार संस्कृति प्रदर्शन गरेर यसको महत्व झल्काउने र यसप्रति सम्बन्धित समुदाय र अन्यमा आकर्षण जगाउनुपनि महोत्सवको मूख्य उद्देश्य हो । त्यस्तै पर्यटन प्रवद्र्धन गर्ने, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री गर्नेलगायतका पनि महोत्सवको उद्देश्य हो ।
महोत्सवमा केके प्रदर्शनीमा राखिन्छ ?
हाम्रो यो महोत्सवमा आदिवासी जनजातिका संस्कार संस्कृति मुख्य रुपमा प्रदर्शनी गरिन्छ । त्यसका अलावा हामी कृषि, अटो, घरेलु हस्तकलाका सामानहरु प्रदर्शनी गर्छौं । आदिवासी जनजातिका छुट्टै घरहरु निर्माण गरेर प्रदर्शनी गर्छौं । त्यस्तै आदिवासी जनजाति गुरुङ, मगर, नेवारलगायतका खानाका स्टलहरु पनि मुख्य आकर्षणका रुपमा रहनेछन् ।
तनहुँमा कति आदिवासी जनजाति छन् र उनीहरुको कुन कुन संस्कृति प्रदर्शन हुन्छ ?
तनहुँमा २३ जनजाति भएपनि महासंघमा १२ जनजाति आबद्ध छन् । मगर, गुरुङ, नेवार, दरै, बोटे, दुरा, कुमाललगायतका जनजातिहरु छन् । उनीहरुको आफ्नै भाषा, संस्कृति र संस्कार तथा भेषभूषाहरु छन् । उनीहरुको संस्कार, संस्कृति र खानाहरुको प्रदर्शनी मूख्य रुपमा हुन्छ । यो हरेक दिन छुट्टाछुट्टै जातिको प्रदर्शन गर्छौं ।
आदिवासी जनजातिको हक अधिकारका लागि स्थापित महासंघ महोत्सव तिरचाहिं किन ?
पक्कै पनि हामी आदिवासी जनजातिको हक अधिकारका लागि नै स्थापित भएका हौं । र अहिले पनि हामी त्यसैका लागि लागिपरेका छौं । त्यहि अन्तर्गत नै हामीले महोत्सव गरेका हौं । आदिवासी जनजातिको सांस्कृतिक संग्रहालय बनाउन आर्थिक जोहो गर्ने उद्देश्यले हामीले महोत्सव आयोजना गरेका हौं । सांस्कृतिक संग्रहालयले आदिवासी जनजातिकै हित गर्छ । उनीहरुको भाषा, संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिन्छ । त्यस्तै महोत्सवबाट प्राप्त आम्दानीले हामी महासंघको भवन बनाउँछौं । सो भवन पनि आदिवासी जनजातिको हक, हितका लागि नै प्रयोग गरिने भएकाले यसका लागि पनि महोत्सव गरेका हांै ।
महोत्सवलाई पर्यटनसँग पनि जोड्नु भएको रहेछ । किन ?
तनहुँ जिल्लामा आदिवासी जनजातिका विभिन्न होमस्टेहरु छन् । यहाँ धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक ठाउँहरु प्रशस्त छन् । महोत्सवमा आउने दर्शकहरुले यी होमस्टे, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक ठाउँहरु जान चाहेमा प्याकेजमा अवलोकन गर्ने व्यवस्था गरिएको छ । कुनै होमस्टेमा बस्न चाहेमा त्यो ठाउँमा बस्ने व्यवस्था पनि गरिनेछ । सेती र मादीमा ¥याफ्टिङ गर्ने वातावरण पनि महोत्सव स्थलबाटै गरिनेछ ।
तपाईंहरुले महोत्सव गरिरहँदा निजीतर्फको अग्रणी संस्था उद्योग वाणिज्य संघले बिरोध गरिरहेको भन्ने सुनिन्छ । के भन्नु हुन्छ ?
उद्योग वाणिज्य संघले बिरोध गरेको भन्न मिल्दैन । उहाँहरुकै सहमतिमा हामीले महोत्सव गरेका हौं । यसबारे उहाँहरुसँग यस वर्ष आदिवासी जनजातिले र अर्को वर्ष उद्योग वाणिज्य संघले गर्ने भनेर सहमति भइसकेको छ । संस्थागत नभई केही व्यक्तिहरुले सुझावको रुपमा कुराहरु राख्नु भएपनि उहाँहरुले सहयोग गर्ने प्रतिबद्धता जनाइसक्नु भएको छ ।
महोत्सवमा आर्थिक कारोबार कति होला भन्ने अनुमान गर्नु भएको छ ?
महोत्सव करीब ५ लाखले अवलोकन गर्ने हामीले अनुमान गरेका छौं भने ५ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेका छौं । यसबाट हामीले करीब २० लाख बचत गरेर सांस्कृतिक संग्रहालय बनाउने योजना
बनाएका छौं ।
Comments are closed.