सगरमाथा इन्स्योरेन्स २५औं वर्षमा प्रवेश, ‘भिआइपी अन द स्पट’ कार्यक्रम लागु गरिने

काठमाडौं । नेपालको निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी २५औं वर्ष प्रवेश गरेको छ । २०५३ साउन २ गतेदेखि निर्जीवन बीमा क्षेत्रमा काम गरेको कम्पनीले २५औं वर्ष प्रवेशको अवसरमा शुभकामना जारी गरी ग्राहक, शुभेच्छुक, नियामक निकाय बीमा समिति लगायत सबै निकायहरुप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेको छ ।

कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धर र प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले शुभकामना सन्देश जारी गरी सबैको मायाले सगरमाथा इन्स्योरेन्सले सफलता प्राप्त गरेको बताएका छन् ।

काठमाडौंको थापाथलीमा १० जना कर्मचारीबाट कारोबार सुरु गरेको कम्पनीको अहिले देशभर ७३ वटा कार्यालय छन् । ३ सय ६१ जना कर्मचारीमार्फत सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए । ३ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको कम्पनीको हाल १ अर्ब १२ लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी पुगेको छ ।

कम्पनी स्थापनाको प्रथम वर्षमा ५९ लाख ७ हजार ६ सय ७६ रुपैयाँ बीमा शुल्क संकलन गरी ४४ हजार रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्म आइपुग्दा २ अर्ब १९ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरी १ अर्ब ३ करोड दावी भुक्तानी गर्न सफल रहेको क्षेत्रीले जानकारी दिए ।

‘भिआइपी अन द स्पट’ कार्यक्रम लागु गरिने

सगरमाथा इन्स्योरेन्सले ‘भिआइपी अन द स्पट’ कार्यक्रम नेपालभर लागु गर्ने संकल्प गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले शुभकामना जारी गर्दै उक्त कार्यक्रम देशभर लागु हुने बताएको हो । ‘नेपाल सरकारले प्राथमिकतामा राखेको कृषि बाली तथा पशुपंक्षी र लघु बीमा समेतलाई प्राथमिकतामा राखिनेछ,’ प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ।

कम्पनीबाट उपलब्ध हुने बीमालेखलाई क्रमशः डिजिटलाइज गरी डिजिटल युगमा प्रवेश गर्ने प्रद्धिबद्धता कम्पनीले गरेको छ ।

You might also like

Comments are closed.