सञ्चारिका समूहको नयाँ कार्यसमितिको पदस्थापन

पोखरा, २ पुस । सञ्चारिका समूह गण्डकी प्रदेशको नयाँ कार्यसमितिको सोमबार पोखरामा पदस्थापन तथा सपथ ग्रहण गराइएको छ । समूहका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई सञ्चारिका समूहका संस्थापक तथा निर्वाचन समितिका संयोजक दुर्गा भण्डारी, समितिका सदस्य भगवती पहारी, प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल लगायतले पदस्थापन गराएका हुन् । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक भण्डारीले सपथ ग्रहण गराएकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै महिला पत्रकारको गुणात्मक अभिवृद्धिका लागि अघि बढ्न सुझाव दिए । उनले आत्मविश्वासलाई बलियो बनाएर अघि बढ्न सुझाउँदै कार्यकालको सफलताको कामना गरे । निर्वाचन समितिका संयोजक दुर्गा भण्डारीले सञ्चारिका समूहको निर्वाचन कानुनगत र पूर्ण प्रक्रियागत भएको बताइन् । समितिका सदस्य तथा अधिवक्ता भगवती पहारीले सम्पूर्ण महिलालाई समेटेर अघि बढ्न आग्रह गरिन् ।नवनिर्वाचित अध्यक्ष स्मिता अधिकारीले आफू र आफ्नो समूह महिलाको संख्यात्मक र गुणात्मक सहभागीता बढाउन लागी पर्ने बताइन् । उनले तर्कपूर्ण पत्रकारिताको लागि महिला पत्रकारको क्षमता बढाउने खालको कार्यक्रम ल्याउने बताइन् ।

कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, प्रेस सेन्टरका केन्द्रीय सदस्य माधव पनेरु, प्रेस चौतारीका अध्यक्ष माधव बराल, सञ्चारिका समूहका पूर्व अध्यक्ष सुष्मा पौडेल, निवर्तमान अध्यक्ष जमुना वर्षा शर्मा लगायतले कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा सञ्चारिका समूहका निवर्तमान अध्यक्ष जमुना वर्षा शर्माले निर्वाचित अध्यक्ष स्मिता अधिकारीलाई पद हस्तान्तरण गरेकी थिइन् । निर्वाचन समितिका संयोजक दुर्गा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य तथा अधिवक्ता भगवती पहारीले गरेकी थिइन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...