सञ्चारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष शर्मा सम्मानित

पोखरा,१४ भदौ ।

सञ्चारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष जमुना वर्षा शर्मा सम्मानित भएकी छन् । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा उपकार बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रममा महिलाहरुको हक अधिकारको क्षेत्रमा पत्रकारिताको माध्यमबाट सशक्त भुमिका निर्वाह गरेको कार्यको उच्च मल्यांकन गर्दै शर्मालाई सम्मान गरेको हो । पोखरा एक्सप्रेस पाक्षिक, देशसञ्चार मल्टिमिडिया अनलाइन, रेडियो जननी लगायतका सञ्चार माध्यममा आवद्व शर्मा विगत डेढ दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशिल छिन् ।

सम्मान ग्रहण गर्दै शर्माले सम्मानले सामाजिक रुपान्तरणका लागि क्रियाशिल रहेर काम गर्न थप उर्जा मिलेको बताईन् । उनले पत्रकारिता जस्तो चुनौतिपुर्ण पेशाको मर्मलाई बुझेर सम्मान गरेकोमा संस्थाप्रति आभार व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष इन्द्र पौडेलले संस्थाले पुरुष सँगसँगै महिलाहरुलाई पनि अगाडी बढाउनको लागि प्रेरणादायी भूमिका खेलेको बताए । उनले सहकारीमा अधिकांश सेयर सदस्यहरु महिलाहरु रहेको भन्दै महिलाहरुलाई सदैव सम्मानका साथ अघि बढाउन क्रियाशिल रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुर्यनाथ पहारी, कार्यसमिति सदस्य दुर्गा पहारी लगायतले बोलेका थिए । कार्यक्रममा सहकारीका सात सिद्वान्त वाचन समेत गरिएको थियो भने संस्थाका जेष्ठ सदस्य ८२ वर्षीय जमुना पहारीलाई पनि सम्मान गरिएको थियो ।

तीन सय ४२ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी करिव ६ करोड २० लाख रुपैयाँ रहेको छ ।

संस्थाका सहसचिव कृष्णकुमारी घिमिरेले सञ्चालन गरेको कार्यक्रमको स्वागत महिला उपसमिति संयोजक पवित्रा थापाले गरेकी थिईन् । संस्थाका जेष्ठ सदस्य ८२ वर्षीय जमुना पहारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको समापन शिक्षा उपसमितीका संयोजक संगिता पहारीले गरेकी थिईन् ।

You might also like

Comments are closed.