सञ्चार सहकारीको एसएमएस बैंकिङ सेवा सुरु, बचत र लगानी योजना सार्वजनिक

पोखरा, ५ पुस । सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोड पोखराले एसएमएस बैंकिङ सेवा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त सेवा सुरु गरिएको सहकारीका अध्यक्ष विनोद ढुङगानाले जानकारी दिए । ‘सूचना प्रविधि मार्फत पारदर्शी वित्तीय सेवा प्रदान गर्ने लक्ष्यसहित एसएमएस बैंकिङ सेवा सुरु गरिएको हो,’ उनले भने, ‘सहकारीलाई प्रविधिमैत्री बनाइ स्तरीय सेवा प्रदान गर्न हामी लागिरहेका छौं ।’

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रविरमण तिवारीले उक्त सेवा सुरु गरेका हुन् । एसएमएस बैंकिङ सेवासँगै सहकारीले बचत योजना, लगानी योजना तथा संस्था परिचय ब्रोसर सार्वजनिक गरेको छ । सहकारीले खुत्रुके बचत योजना पनि सुरु गरेको सचिव पवित्रराज तिवारीले जानकारी दिए ।

सहकारीले सोही अवसरमा जिल्ला सहकारी संघका नवनिर्वाचित अध्यक्ष रविमरण तिवारीलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै तिवारीले सहकारी अभियानमा अगाडि बढ्न सम्मानले थप प्रेरणा प्रदान गरेको बताए ।

सहकारीले बचत गर्ने बानीको विकास गरेको बताउँदै तिवारीले सहकार्यका साथ अगाडि बढेर वित्तीय सफलता हासिल गर्न आग्रह गरे । ‘सहकार्य बिना सहकारीको सम्भावना छैन,’ उनले भने, ‘सहकार्यले सहकारीलाई स्थापित र दीगो बनाउँछ ।’

कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष देवीराज गुरुङ, कर्र्र्जा अधिकृत दीनेश सिग्देल लगायतले बोलेका थिए । अध्यक्ष विनोद ढुङगानाको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन सचिव पवित्रराज तिवारीले गरेका थिए । सहकारीमा १ सय ४१ जना सेयर सदस्य छन् । चुक्ता पुँजी करिब ६ करोड रुपैयाँ, सेयर पुँजी करिब २ करोड ५० लाख रुपैयाँ, निक्षेप ३ करोड ९० लाख रुपैयाँ र कर्जा लगानी ४ करोड ५० लाख रुपैयाँ रहेको अध्यक्ष ढुङगानाले जानकारी दिए ।

You might also like

Comments are closed.