सञ्चार सहकारी सातौं वर्षमा प्रवेश

पोखरा, ३ वैशाख ।

पोखराको न्युरोडमा रहेको सञ्चार बचत तथा ऋण सहकारी संस्था लि. सातौं वर्ष प्रवेश गरेको छ । सहकारीले सोमबार एक कार्यक्रमका बीच छैटौं वार्षिकोत्सव मनाएको छ ।

कास्कीभर कार्यक्षेत्र रहेको सहकारीमा हालसम्म १ सय ५० जना सेयर सदस्य छन् । सहकारीको सेयर पुँजी ३ करोड १० लाख रुपैयाँ, निक्षेप ८ करोड ५० लाख रुपैयाँ, ऋण लगानी ९ करोड ९० लाख रुपैयाँ रहेको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए । सहकारीले २०६८ फागुन १६ गते दर्ता भइ २०६९ वैशाख ३ गतेबाट वित्तीय कारोबार सुरु गरेको हो ।

सेयर सदस्यहरुको सक्रिय सहभागितामा छरिएर रहेको पुँजीलाई संकलन गरी आयमुलक व्यवसायमा लगानी गर्दै सेयर सदस्यहरुको आर्थिक क्षमताको विकास गरी आत्मनिर्भर हुन प्रेरित गर्ने उद्देश्यका साथ सहकारी स्थापना भएको ढुंगानाले बताए । ‘उद्देश्य अनुसार सहकारी सफल भएको छ,’ उनले भने ।
अत्याधुनिक कम्प्युटर सफ्टवयर मार्फत सेवा प्रदान गर्दै छिटो छरितो रुपमा कारोबार गर्ने संस्थाको रुपमा सहकारी स्थापित भएको ढुंगानाले बताए ।

‘सहकारीको क्षेत्रमा लामो अनुुभव संगालेका दक्ष सञ्चालक एवं कर्मचारी मार्फत सेवा सञ्चालन गर्दै आइरहेका छौं,’ उनले भने, ‘बचत गर्ने बानीको विकास गर्न विभिन्न किसिमका बचत योजनाहरु तथा सदस्यहरुको पारिवारिक विपत्ती (मृत्यु) मा बिना व्याज र बिना धितो कर्जा व्यवस्था गर्दै आएका छौं ।’ सहकारीले एसएमएस बैंकिङको सुविधा मार्फत पारदर्शी वित्तीय सेवा प्रदान गर्दैै आइरहेको प्रवन्ध निर्देशक पवित्रराज तिवारीले जानकारी दिए । ‘सबै किसिमका रेमिट सेवाहरुका साथमा सदस्यमुखी वित्तीय कारोबार गर्दै आइरहेका छौं,’ उनले भने ।ु

संस्थाले आफ्नै भवन निर्माण गरी आफ्नै भवनबाट गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । कास्की जिल्लाभर कार्यक्षेत्र रहेको हुँदा जिल्लाका विभिन्न ठाउँमा सेवा केन्द्र स्थापना गरी वित्तीय सेवा प्रदान गर्ने सहकारीको लक्ष्य छ । एसएमएस बैंकिङको सुविधामा अझ थप गरी इन्टरनेट बैंकिङ मार्फत रकम ट्रान्सफर तथा स्टेटमेन्ट जानकारी सुविधा प्रयोगमा ल्याउने तयारी गरिरहेको तिवारीले जानकारी दिए ।

You might also like

Comments are closed.