सडकको बीचमा रुखैरुख राखेर २ अर्बको आयोजनाको काम अगाडि बढ्दै

काठमाडौं, १० माघ । सडक कालोपत्र गर्न गिटी बिच्छ्याइएको छ, रोलिङसमेत भइसकेको छ । तर, सडकभरि रूखैरूख छन् । सघन सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन धनगढी क्षेत्रआसपासका ग्रामीण बस्तीका सडक यही हालतमा कालोपत्रे हुँदैछन् । सडक विभाग र वन विभागबीच समन्वय नहुँदा अनौठो सडक बन्न थालेको हो । तर, सडक बनेपछि दुर्घटना बढ्ला भनेर स्थानीय चिन्तित छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सघन सहरीअन्तर्गत झन्डै दुई अर्बको लागतमा धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङरोडसहित ९२ किलोमिटर सडक निर्माण भइरहेको छ । संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका अनुसार निर्माणाधीन ९२ मध्ये ४२ किलोमिटर क्षेत्रमा २ सय ८४ वटा सानाठूला रूख छन् । यसरी औसतमा हरेक किलोमिटरमा सडकभित्र ७ रूख पर्छन् । धनगढीको रिङरोडअन्तर्गत पर्ने मनेहरा–जाखोरताल सडकमा मात्रै बीचमै दर्जनौँ रूख छन् ।

रिङरोडअन्तर्गत विभिन्न ठाउँमा साढे १५ किलोमिटर सडकमा कालोपत्रेका लागि गिटी बिच्छ्याएर रोलिङको काम सकिएको छ । अन्य केही खण्डमा पनि कालोपत्रेको तयारी भइरहेको आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

आयोजना कार्यान्वयन इकाइ प्रमुख सुरेशकुमार वाग्ले वन कार्यालयले रूख कटानको अनुमति नदिँदा रूखवरिपरिको केही ठाउँ छाडेर सडक कालोपत्रे गर्न लागिएको बताउँछन् । वातावरणीय प्रभाव मूल्यांकन गरी रूख कटान अनुमतिका लागि गत असारअघि नै वन मन्त्रालयमा फाइल पठाए पनि स्वीकृति नपाएको उनले बताए ।

You might also like

Comments are closed.