सडकमै बसेर खाने, नाच्ने र रमाउने अवसर

बुधराज भुजेल (भीमसेन)
अध्यक्ष, रेवान पोखरा

पोखरा सडक महोत्सवको तयारी कस्तो छ ?
महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । पूरा लेकसाइड दुलही झैं सजाइएको छ । स्टलहरु तयार भएका छन् । स्टलमा व्यवसायीहरुले सामानहरु राखिसकेका छन् । सांस्कृतिक टोली नाच्न गाउन तम्तयार भएर बसेका छन् । प्रचारप्रसार राम्रो भएको छ । हरेक हिसाबले महोत्सवको तयारी राम्रो छ । अब उद्घाटन गर्नमात्र बाँकी छ ।

महोत्सवको मूख्य विशेषता के–के हुन् ?
महोत्सवको मूख्य विशेषता भनेको खुल्ला सडकमा महोत्सव हुनु हो । जहाँ पर्यटकले महोत्सव स्थल तीन किलोमिटर क्षेत्रमा निःशुल्क रुपमा प्रवेश पाउँछन् र आफू स्वतन्त्र रुपले घुम्न पाउँछन् । अर्को विशेषता भनेको सडकमै आफूले रोजेको स्वाद लिन पाउनु हो, यो संसारमा बिरलै पाइन्छ । होटल वा घरको कोठामा बसेर त मान्छेले खाए होलान् तर सडकमै बसेर खानुको मज्जा छुट्टै हुन्छ, जुन यो सडक महोत्सवमा मात्र पाइन्छ । त्योपनि एउटा, दुइटा मात्र होइन, तीन किलोमिटर क्षेत्रका हरेक ठाउँमा यो सुविधा हुन्छ । अर्को विशेषता भनेको सांस्कृतिक विविधता निःशुल्क रुपमा महोत्सवमा हेर्न पाइन्छ ।

महोत्सवका आकर्षणहरु के–के हुन् ?
सडकमै खानाका परिकार पाउनु यस महोत्सवको मूख्य आकर्षण हो । हाम्रो नारा नै ‘सडकमै खाउँ, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने छ । जहाँ सडकमा बसेर खान पाइन्छ, सडकमै नाच्न र गाउन पाइन्छ भने सडकमै आफूले चाहेको गतिविधी हेर्दै रमाउन पाइन्छ । महोत्सवमा सहभागीलाई सडकमै खान पाउन् भन्ने उद्देश्यले हामीले नेपाली, नेपालका पनि विभिन्न जाति विशेषको खानका परिकार, इण्डियन, चाइनिज, भियतनामी, कोरियन, जापनिज, अमेरिकन, मेक्सिकनलगायतका देशका खानाका परिकारहरु एउटै थलोमा राख्ने जमर्को गरेका छौं । त्यसका अलावा विभिन्न देशका सांस्कृतिक विविधता पनि मूख्य आकर्षणको रुपमा रहेको छ । हामीले नेपालका सातै प्रदेशका चर्चित संस्कृति ल्याएर प्रदर्शन गर्दैछौं । जस्तो पूर्वको धान नाचदेखि पश्चिमको देउडासम्म हामी यहि महोत्सवमा निःशुल्क देखाउँदैछौं । यसले दर्शकलाइ आकर्षण गर्ने विश्वास लिएका छौं । त्यस्तै, चीन, पाकिस्तानी र भारतीय सांस्कृतिक प्रस्तुती पनि महोत्सवको आकर्षण हो । त्यतिमात्र होइन महोत्सवमा हामी हट एयर बेलुनपनि उडाउँदैछौं । योपनि अर्को आकर्षणको केन्द्र बन्ने विश्वास लिएका छौं ।

महोत्सवको उद्देश्य के हो ?
महोत्सवको प्रमुख उद्देश्य भनेको पोखरा, लेकसाइड, गण्डकी प्रदेश र समग्र नेपालकै ब्राण्डिङ गर्नु हो । जसका कारण विदेशी पर्यटक नेपाल आउन् । नेपाल आउँदा पोखरा आउन् । नेपाल नआउनेलाई पनि यहाँ हुने महोत्सवले आउँआउँ होस् भन्नका लागि महोत्सव गरिएको हो । यो सँगसँगै महोत्सवमार्फत प्रकृतिसँगै संस्कृतिमा पनि नेपाल धनी छ र ति संस्कृति हेर्दाको आनन्द कस्तो हुन्छ ? भन्ने बुझ्नका लागि नेपाल र त्यसको पर्यटकीय राजधानी पोखरा पुग्नुपर्छ भन्ने सन्देश दिनुपनि महोत्सवको उद्देश्य हो । यसले समग्र पर्यटनको प्रवद्र्धनमा सघाउँछ । पोखरालाई पर्यटन गन्तव्य बनाउनपनि यसले सघाउँछ । यसले लोपोन्मुख संस्कृति, परम्परा तथा संस्कार संस्कृतिमा पनि सघाउँछ ।

महोत्सवमा दर्शक किन आउने ?
महोत्सवमा दर्शक मनोरञ्जन लिनका लागि आउनुपर्छ । दर्शकले तीन किलोमिटर क्षेत्रमा फैलिएको यो महोत्सवका प्रत्येक स्टल फरक÷फरक भएकाले त्यसको अवलोकन गर्न पाउँछन् । सुदूरपश्चिमको देउडादेखि पूर्वको धान नाँचसम्म हेरेर मनोरञ्जन लिन सक्छन् । त्यस्तै चाइनीज, पाकिस्तानी र भारतीय विविधतामूलक सांस्कृतिक कार्यक्रम हेरेर रमाउन सक्छन् । त्यतिमात्र होइन स्टेजमा लोकदोहोरी, प्रहसन, लाइभ पप कन्सर्टमा झुम्न सक्छन् । महोत्सवमा दर्शकले नयाँनयाँ परिकारका स्वाद लिन सक्छन् । एउटै थलोमा नेपाल, भारत, चीन, कोरियनलगायतका खानाका परिकारहरुको स्वाद लिने यो अवसर पनि हो । अझ अहिले सबैको लागि नयाँ हट एयर बेलुन हेर्न र चढ्नका लागि पनि आउन सक्छन् ।

सडकका विभिन्न ठाउँमा लाइभ कन्सर्ट हुने भनिएको छ, कहाँकहाँ हुने हो ?
मूख्य सांस्कृतिक कार्यक्रम हामी कोमागाने पार्कमा गर्छौं । त्यहाँ दोहोरी, पप, हास्य प्रहसनलगायतका कार्यक्रम दिउँसो, साँझ र राति हुन्छ । त्यसका अलावा गौरीघाट, वाराहीघाट, खहरेलगायतका क्षेत्रमा लाइभ कन्सर्ट र नाचगान हुन्छ । त्यस्तै बिचबिचका सडकमा लाखेनाच, तायमचा, हनुमान, कौरालगायतका प्रदर्शन गर्छौं ।

महोत्सवका लागि भनेर कास्की बाहेकका जिल्ला र विदेशी पर्यटक पनि आउँछन् ?
आउँछन् । महोत्सवकै लागि भनेर विदेशबाट विदेशी पर्यटक आउन थालेका छन् । नेपालमा पनि विदेशमा जस्तै तामझामसहित महोत्सवकै अवसरमा अंग्रेजी नयाँ वर्ष मनाउन थालेपछि भारत, चीन, अमेरिका, जापान, युरोपियन मुलुकका देशका पर्यटक यहाँ आउन थालेका छन् । यतिकै संख्यामा आउँछन् भन्ने त ठ्याक्कै भन्न सकिदैन, तर अन्य समयमा भन्दा यो महोत्सवको बेला विदेशी पर्यटकको उपस्थिति बाक्लै हुन्छ । त्यस्तै, कास्की बाहिरका जिल्लाहरु स्याङ्जा, पाल्पा, तनहुँ, पर्वत, भैरहवा, चितवन, काठमाडौंलगायतका जिल्लाका आन्तरिक पर्यटकहरु पनि ठूलो मात्रामा आउने गर्छन् ।

यति धेरै संख्यामा आउने पर्यटकको बसाई ब्यबस्थापनचाहिं कसरी गर्नुहुन्छ ?
यहाँ आउनेजति सबै यहीं बस्ने त होइन । नजिककाहरु घर फर्किन्छन् । त्यसका लागि हामीले यातायातको व्यवस्था मध्यरातसम्म नै मिलाएका छौं । महोत्सव अवधीभर रातीसम्मै नगर बसहरु सञ्चालन हुन्छन् भने ट्याक्सीलाईपनि मध्यरातसम्मनै सेवा दिनका लागि हामीले आग्रह गरेका छौं । लेकसाइडमै बस्न चाहनेहरुले अग्रिम बुकिङ गरेका हुन्छन् । नगरेकाहरुले पनि त्यहि दिनपनि बुकिङ गरेर बस्न सक्छन् । यहाँपनि पछिल्लो समय पर्याप्त होटलहरु खुलेका छन् । यहाँ नअटाएकाहरु पृथ्वीचोक, महेन्द्रपुल, सराङकोट, बेगनासताललगायतका क्षेत्रमा गएर बस्नपनि सक्छन् । त्यतिमात्र होइन, यहाँ आउनेहरु पोखरा नजिकका होमस्टेहरुमा पनि गएर रात बस्न सक्छन् । जस्तै कालाबाङ घरेडी, मिर्सा, ल्वाङ्घलेललगायतका होमस्टेमा पनि गएर बस्न सक्छन् ।

महोत्सवको मौका छोपेर रेट बढाउने होटल रेष्टुरेण्टलाई रोक्न केही गर्दै हुनुहुन्छ ?
महोत्सवको अवसरमा मौका छोपेर रेट बढाउन हामी दिदैनौं । त्यसका लागि हामीले सबै होटल तथा रेष्टुरेण्टहरुलाई निर्देशन दिइसकेका छौं । हरेकलाई होटल तथा रेष्टुरेण्टको रेट लिष्ट बाहिरै झुण्ड्याउन भनेका छौं । कसैले त्यस्तो नगरेको पाइए कार्वाही गर्छौं ।

महोत्सवलाई कसकसको सहयोग छ ?
महोत्सवलाई सबैभन्दा पहिलो कुरा त स्थानीयको राम्रो सहयोग छ । असुविधाका बाबजुद उनीहरुले महोत्सव सफल पार्न हरतरहले सहयोग गरेका छन् । त्यस्तै, संघीय, प्रदेश र स्थानीय सरकारको पनि सहयोग छ । तीनै तहका सरकारले आर्थिक, भौतिक, नैतिकका साथै सुरक्षा व्यवस्थापनमा पनि सहयोग गरेका छन् । पर्यटन सम्बद्ध सबै संघसंस्थाहरुको पनि उत्तिकै सहयोग छ । हामीलाई नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद र यसमा आबद्ध सबै पर्यटन संघ संस्थाहरु, स्थानीय क्लव, आमा समूहलगायतले सघाएका छन् ।

महोत्सवमा कति दर्शक आउलान र आय व्यय कति होला ?
महोत्सवको करिब ८ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरेका छौं । आन्तरिक तथा वाह्य सबै गरी यतिको संख्याले महोत्सव भिजिट गर्छन् भन्ने हाम्रो अनुमान हो । महोत्सवमा करीब डेढ करोड संकलन गरेर ८० लाख खर्च हुने अनुमान छ । बचत रकम हामीले सामाजिक कार्य र पर्यटन प्रवद्र्धनमा खर्चिन्छौं ।

You might also like

Comments are closed.