‘सडक महोत्सवका ५ दिन नवदुर्गा पूजाजस्तै हो’

गणेशबहादुर थापा
महासचिव, रेवान पोखरा

रेवानको पोखरा सडक महोत्सव के कारणले विशेष छ ?
सडक महोत्सव अन्य मेला महोत्सव जस्तो महोत्सव होइन । यो धेरै हिसाबले फरक छ । आर्थिक रुपमा मात्र नभई व्यवहारिक रुपमै सडक महोत्सव अन्य भन्दा भिन्न छ । हामी यो महोत्सवमा टे«डिङ हाउसहरुलाई भन्दा इन्टरप्रेनरसीपलाई बढी फोकस गर्छौं । मतलब सडक महोत्सव कुनै सामान ल्याएर बेच्ने थलो होइन । अर्थात यो हार्ड मार्केट होइन । हामी यो महोत्सवमा फरक प्रोडक्टहरुलाई कसरी भ्यालुएडेड गरेर मार्केटिङ गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिन्छौं । यसमा हामीले प्रेजेन्टेसनलाई महत्व दिन्छौं । एउटै वस्तुलाई फरक तरिकाले कसरी प्रेजेन्टेसन गरेर दर्शक वा पर्यटकको मन जित्ने भन्ने कुरालाई ध्यान दिन्छौं । हामी यो महोत्सवबाट नयाँ ईन्टरप्रेनरहरुलाई ईन्ट्रोड्यूस गराउँछ । जस्तै सडकमै स्टल राख्न दिएर कुनै उद्यमी बन्न चाहने युवालाई प्रोत्साहित गर्छौं । उसले ५ दिनमा कुनै स्टल राखेर केहि न केहि पक्कै कमाउँछ । त्यसले उसलाई व्यवस्थित उद्यम गर्न पक्कैपनि प्रोत्साहित गर्छ भन्ने हामीलाई विश्वास छ ।

हामी यो महोत्सव रिसर्च बेसमा चलाउँछौं । मार्केटमा के को डिमान्ड छ त्यसलाई जतिसुकै खर्च गरेर पनि ल्याएरै छाड्छौं र त्यो दर्शक वा पर्यटकका लागि आकर्षणको केन्द्र बन्छ । चाहे त्यो कलाकार रोजाईमा होस् वा नयाँ प्रोडक्ट थप्ने विषयमा होस् । जस्तै यसपाली हामीले हट एयर बेलुन भित्र्याएका छौं । यसले पनि दर्शकको मन जित्नेमा हामी ढुक्क छौं । त्यस्तै हामी पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मको संस्कृति एउटै स्टेजमा देखाउँछौं । योपनि दर्शकका लागि नयाँ हुन्छ र संस्कृति पनि जोगिन्छ । अन्य मेला महोत्सवमा ठूलठूला प्रोडक्टहरु बेच्ने गर्छन् । तर हामी साना साना प्रोडक्टहरुलाई ठूलो बनाएर बेच्छौं ।

महोत्सवमा यति धेरै दुःख र खर्च गर्नुहुन्छ केका लागि हो यो ?
सडक महोत्सवको शुरुवातचाहिं अफ सिजनमा पर्यटक भित्राउनका लागि गरिएको हो । तर अहिले त पर्यटनमा अफ सिजन खासै हुँदैन । तर महोत्सवको शुरुवातताकाचाहिं जाडो सिजनमा पर्यटन व्यवसायीहरु होटल तथा रेष्टुरेण्टहरु बन्द गरेर गाउँ फर्कने, लेकसाइडमै हुनेहरु पनि घरको काममा केन्द्रीत हुने गर्थे । विदेशमा भने अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गर्थे । त्यसपछि हाम्रा अग्रजहरुले यहिंपनि अंग्रेजी नयाँ वर्ष मनाउन सकिन्छ र पर्यटक ल्याउन सकिन्छ कि भनेर महोत्सवको शुरुवात गर्नुभयो । यो कालान्तरमा बढ्दै गएर साँच्चिकै उत्सवको रुपमा बढ्दै गयो । तर अहिले हामी महोत्सवमार्फत पोखरालाई ब्राण्डिङ गर्नुपर्छ है भनेर महोत्सव गरिरहेका छौं । यसमा हामी सफलपनि भएका छौं । पोखरामा यस्ता गतिविधि भएन भने त कसले थाहा पाउँछ कि पोखरामा के हुँदैछ ? पोखरा बाहिरका भन्नुस् वा देश बाहिरकाले पोखरालाई यहाँ केहि भएन भने किन सम्झिने पोखरालाई ? कम्तिमा पोखरालाई सम्झाईरहनका लागि पनि गरिएको हो महोत्सव । यसले मानिसहरुलाई अंग्रेजी नयाँ वर्षमा पोखरा जानुपर्छ भन्ने बनाएको छ । त्यसकारण सडक महोत्सवले पर्यटन स्थापित त हुन्छ नै । त्यो भन्दापनि ठूलो कुराचाहिं पोखरालाई ब्राण्डिङ हुन्छ । अझ यसलाई गण्डकी प्रदेशकै ब्राण्डिङ गर्नुपर्छ । गण्डकी प्रदेशको पर्यटनको प्रोडक्ट के हो ? भन्दा सडक महोत्सव भन्ने बनाउनुपर्छ ।

यहाँहरुले सातै प्रदेश र विदेशका सांस्कृतिक कार्यक्रम आफ्नै खर्चमा ल्याउनु हुन्छ किन नि ?
त्यहि भएर नै हामी फरक छौं । त्यहि भएर हाम्रो सडक महोत्सव अन्य मेला महोत्सव भन्दा फरक छ । हाम्रो सडक महोत्सवको उद्देश्य भनेको यहाँको कला संस्कृति संरक्षण गर्नुपनि हो । ति लुकेर रहेका तथा लोपोन्मुख भएका संस्कृतिलाई उजागर गर्नेपनि महोत्सवको उद्देश्य हो । सँगसँगै भएका संस्कृतिलाई प्रदर्शन गरेर पर्यटक लोभ्याउनुपनि हो । हाम्रो उद्देश्यले नै कला संस्कृतिको संरक्षण, सम्बद्र्धन, प्रवद्र्धन गर्दै यसको प्रदर्शनमार्फत दर्शक तथा पर्यटक आकर्षण गर्नु हो । यो सांस्कृतिक माध्यमबाट पोखरालाई ब्राण्डिङ पनि गरिरहेका छौं । हामीले यस्ता फरक÷फरक स्वादलाई एकीकृत गरेर दर्शकको मत जित्दै पोखरालाई ब्राण्डिङ गर्दैछौं । जसरी मःम चाउमिन मीठो बनाउनलाई सबै कुराहरु मिल्नुपर्छ तब न त्यसको स्वाद मीठो हुन्छ । हो त्यस्तै हो सडक महोत्सवको स्वाद पनि त्यहि हो । यहाँपनि सबै किसिमको कला संस्कृति र प्रोडक्टहरु मिलाएपछि सडक महोत्सव साँच्चिकै स्वादिलो र रमाइलो हुन्छ । हामीले महोत्सवमा कला, संस्कृति देखाउँछौं, स्पोर्टसका गतिविधिहरु गर्छौं, खानाका परिकारहरु पस्कन्छौं, बाजागाजाहरु सुनाउँछौं त्यसैले त यो उत्कृष्ट छ ।

यति धेरै गतिविधि गर्नुहुन्छ तर यसको प्रभाव पर्यटनमाचाहिं कस्तो छ ?
हामी यो महोत्सवमा एक वर्षमा हुने चाँडवाँडहरु पाँच दिनमै देखाउँछौं । देशभरका नाच यो पाँच दिनमै प्रदर्शन गर्छौं । एउटा पर्यटकले यो महोत्सवको बेला पाँच दिन पोखरा बस्यो भने नेपालका सबै संस्कृति तथा परम्पराहरु देख्न र बुझ्न पाउँछन् । यसैका कारण पर्यटकहरु पोखरा आउँछन् । विदेशी पर्यटकहरु यसैलाई क्यालेन्डर बनाएर आउने गर्छन् । किनकी हामी पोखरा यो बेला गयौं भने सबैकुरा एउटै थलोमा त्यो पनि पाँच दिनमा देख्न पाउँछौं भन्ने भएको छ । उनीहरुले हामी आफ्नो देशमा भन्दापनि नयाँ वर्षमा पोखरा गयौं भने त्यहाँ खुशी हुन्छौं भन्ने हुन्छ । पोखरामा आयोजित सडक महोत्सवको पाँच दिन भनेको नवदुर्गा जस्तो हो । महोत्सवले यहाँ आउनेलाई मनोरञ्जन प्रदान गर्दै कला संस्कृतिको उजागर गर्दै पर्यटन आगमनमा सकारात्मक प्रभाव पारेको छ । यसले पोखरा आउने संख्यामा ह्वात्तै बृद्धि ल्याएको छ । जस्तै पहिले अफ सिजन मानिने यो समय अहिले अकुपेन्सी सबैभन्दा धेरै हुने सिजन भएको छ । यो पाँच दिनमा मात्रै ७÷८ लाख दर्शक आउने बनाएको महोत्सवले नै हो । होटलहरुमा शत प्रतिशत अकुपेन्सी हुन्छ महोत्सवको समय । त्यस्तै रेष्टुरेण्टहरु भरिभराउ हुन्छन् । टे«किङको पनि यहिबेला धेरै डिमान्ड हुन्छ भने प्याराग्लाइडिङ, जीप फ्लायर, बञ्जी जम्प यहि बेला प्याक हुन्छ । एयरलाइन्सहरुलाई यहि बेला भ्याईनभ्याई हुन्छ । आर्थिक पनि यो बेला चलायमान हुन्छ । खाद्य प्रोडक्टदेखी तरल पदार्थसम्मको ब्यापार यो समय उच्च हुन्छ । यस हिसाबले पर्यटनमा यसले धेरै राम्रो प्रभाव पारेको छ ।

सडक महोत्सव सडकमाचाहिं गर्न छाडियो हैन ?
सडक महोत्सव हामीले बाध्यताले सडकमा नगरेको होइन । हामी आफै जिम्मेवार भएर पार्कमा सारेका हौं । यो त आवश्यकताले हटाइएको हो । अहिले त सडकमा मात्रै सिमित गर्न सम्भव नै छैन । महोत्सवको महत्वपूर्ण पाटो भनेको सुरक्षा पनि हो । महोत्सवमा आएका दर्शकलाई सुरक्षा दिनु हाम्रो दायित्व हो । त्यहि सुरक्षाका कारणले हामी सरेका हौं । सडकमै स्टल राख्दा दर्शक÷पर्यटकचाहिं कहाँ हिंड्ने त ? हो त्यसैले सडक खुल्ला गरेर दर्शकलाई सहजता प्रदान गर्नका लागि हामीले जिम्मेवारी बोध गर्दै सारेका हौं । यद्वपी सँधै होटल, रेष्टुरेण्टमा बसेर खाँदा खाँदा वाक्क भएकाहरुलाई सडकमै बसेर खाँदाको मज्जा छुट्टै हुन्छ । त्यसका लागि सडकमै राख्नका लागि आग्रह नभएको भने होइन, तर हामी त्यस्तो गर्ने पक्षमा छैनौं ।

You might also like

Comments are closed.