सडक महोत्सवलाई राम्रोसँगै हाम्रो बनाउँछौं : रेवान पोखरा

 

सन्देश श्रेष्ठ पोखरा, ५ पुस

रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराले पोखरा सडक महोत्सवलाई राम्रोसँगै हाम्रो बनाउने प्रतिबद्धता जनाएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवान पोखराले यहि पुष १३ गतेदेखी १७ गतेसम्म अर्थात डिसेम्बर २८ देखी जनवरी १ सम्म पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आयोजना गर्ने पोखरा सडक महोत्सवलाई सभ्य, भव्य र राम्रोसँगै हाम्रो बनाउने प्रतिबद्धता जनाएको हो । महोत्सवमा पर्यटक बोलाउनका लागि रेवान पोखराले स्याङ्जा, पाल्पा, भैरहवा, नवलपुर र चितवनमा महोत्सव प्रवद्र्धनात्मक कार्यक्रम गर्दै पत्रकार भेटघाट तथा छलफल कार्यक्रम गरेको थियो । टोलीले स्याङ्जाको वालिङ, पाल्पाको तानसेन, भैरहवाको बुटवल, नवलपुरको अमलटारी र चितवनको सौराहामा प्रवद्र्धनात्मक कार्यक्रम गरेको हो ।

प्रवद्र्धनात्मक कार्यक्रममा सहभागि पत्रकार तथा सम्बन्धित जिल्लाका उद्योगी, व्यवसायीहरुले पोखरा सडक महोत्सवलाई साझा बनाउन सुझाव दिएका थिए । स्याङ्जाको वालिङमा आयोजित छलफल कार्यक्रममा बोल्दै वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले पोखरा सडक महोत्सवलाई प्रदेशले स्वामित्वग्रहण गर्नसक्ने बनाउन सुझाव दिए । उनले भने,‘महोत्सव आफैमा राम्रो छ, तर प्रदेशबासीको लागि हाम्रो बनाउन जरुरी छ, त्यसका लागि यसलाई प्रदेश स्तरीय बनाएर सबैले स्वामित्व ग्रहण गर्नसक्ने बनाउनुहोला ।’

पाल्पामा आयोजित कार्यक्रममा बोल्दै पाल्पा उद्योग वािणज्य संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईलेपनि रेवान पोखराको सडक महोत्सव सभ्य र भव्य हुनेगरेको भएपनि त्यसलाई समग्र नेपालीको बनाउन सुझाव दिए । उनले भने,‘पोखरा देशकै पर्यटकीय केन्द्र हो, यो कुनै सानो क्षेत्रमा सिमित हुनुहुँदैन, अझ यसले देशलाई नै चिनाउनसक्ने क्षमता राख्छ, त्यसैले यसलाई साझा पहिचान दिएर ब्राण्डिङ गर्न आवश्यक छ ।’

चितवनको सौराहामा आयोजित कार्यक्रममा रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले पोखरा सडक महोत्सव सबै हिसाबले लोभलाग्दो भएको बताए । उनले सभ्य र भव्य हुने यस्तो महोत्सवलाई अन्र्तराष्ट्रिय रुपमा ब्राण्डिङ गर्नका लागि सबै नेपालीले अपनत्व हुने खालको बनाउन सुझाव दिए । उनले भने,‘हामी त पोखरा सडक महोत्सवबाट प्रभावित भएका छौं, अझ यो महोत्सवलाई सबैको बनाउन जरुरी छ, त्यसका लागि रेवान पोखराले कदम चालोस्, हाम्रो सदैव साथ रहन्छ ।’ उनले रेवान सौराहाले पनि पोखरा सडक महोत्सवजस्तै सभ्य, भव्य र अन्र्तराष्ट्रिय महोत्सव गर्ने सोंच बनाएको र यो रेवान पोखरा र पोखरा सडक महोत्सवबाट सिक्ने प्रयास गरिरहेको बताए ।

कार्यक्रममा पत्रकारहरुले पनि महोत्सवको दायरा फराकिलो बनाउन सुझाव दिएका थिए । साथै उनीहरुले पोखरा सडक महोत्सवप्रति आफ्नो क्षेत्रका युवा युवतीदेखी बृद्धबृद्धासम्मले चासो लिदै महोत्सवमा जाने गरेकाले सबैको अपनत्व महशुष हुनेगरी महोत्सव ब्राण्डिङ गर्न सके अझ धेरै दर्शक जान ईच्छुक हुने बताएका थिए ।

कार्यक्रममा रेवान पोखराका पूर्व अध्यक्ष तथा पोखरा सडक महोत्सव प्रवद्र्धनात्मक भ्रमण टोलीका संयोजक सूर्यबहादुर भुजेलले पोखरा सडक महोत्सव नेपालकै ठूलो महोत्सव भएको बताउँदै यसलाई अन्र्तराष्ट्रिय रुपमा ब्राण्डिङ गर्नका लागि प्रयास भइरहेको बताए । उनले भने,‘यो पोखरा सडक महोत्सव हामी सबैको हो, रेवान पोखरा त आयोजक मात्रै हो, यो त समग्र पोखरेली, गण्डकी प्रदेशवासी र समग्र नेपालीको हो, त्यसैले तपाईंहरु ढुक्क हुनुस्, हामी पोखरा सडक महोत्सवलाई सभ्य, भव्य र राम्रोसँगै हाम्रो बनाउँछौं ।’ उनले रेवान सडक महोत्सवबाट शुरु भएको यो महोत्सवलाई सातौं संस्करणबाट पोखरा सडक महोत्सव बनाइएको उल्लेख गर्दै भने,‘आगामी वर्षदेखी यसलाई गण्डकी सडक महोत्सव वा नेपाल सडक महोत्सव नामांकरण गरेर सबैको अपनत्व महशुष गराउँछौं ।’ उनले महोत्सवलाई गण्डकी प्रदेश सरकारले स्वामित्व ग्रहण गरेर नाम फेर्नेबारेमा छलफल गरिरहेको उल्लेख गरे ।

संयोजक भुजेलले महोत्सवप्रति अपनत्व महशुष गराउँदै महोत्सवको ब्राण्डिङ गर्नकै लागि देशभरका लोपोन्मुख तथा चर्चित सांस्कृतिक कार्यक्रमहरु ल्याएर प्रदर्शन गर्नेगरेको, लोपोन्मुख अवस्थामा पुगेका ढिंकी, जाँतो, तान, आरनलगायतलाई खर्च दिएरै स्टल राखेर अवलोकन गर्ने वातावरण बनाइएको, निःशुल्क रुपमा सडकका विभिन्न ठाउँमा लाइभ कन्सर्ट राख्नेगरिएको बताए । उनले सडक महोत्सवमा ४ अर्ब भन्दा बढीको कारोबार हुनेगरेको भन्दै त्यसको फाइदा पर्यटन व्यवसायीले मात्र नभई किसान, व्यापारी, उत्पादक कम्पनीलगायत सबैले पाउने बताए । उनले भने,‘पर्यटन व्यवसायी अर्थात हामीले बेच्ने खाद्य पदार्थ हामी आफैले उत्पादन गर्ने होइन, यो त नेपालका विभिन्न क्षेत्रबाट आउँछ, त्यसैले त्यो उत्पादन गर्ने किसान, कम्पनी, पोखरासम्म लैजाने व्यापारी सबैले यसको फाइदा लिन्छ, त्यतिमात्र होइन हाम्रा कर्मचारीहरु पनि लाभान्वित हुन्छन्, यो सबै हिसाबले यो महोत्सव सबैको हो ।’

भ्रमण टोलीमा सहभागि पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले महोत्सव रेवान पोखरा, पर्यटन व्यवसायी वा पोखरेलीको मात्र नभई समग्र नेपालीको भएकाले यसलाई सफल बनाउनु सबैको दायित्व भएको बताए ।

रेवान पोखराका महासचिव गणेशबहादुर थापाले महोत्सवलाई राम्रो र हाम्रो बनाउन सँधै प्रयत्नरत रहेको बताए । उनले भने,‘हामी पोखरा सडक महोत्सवलाई राम्रो र हाम्रो बनाउन हामी सँधै प्रयत्नरत छौं, अझ यसलाई हरेक नेपालीले आफ्नो महोत्सव भन्ने महशुष गराउनका लागि के गर्नुपर्ने हो, त्यो हामी बनाउन तयार छौं ।’

‘सडकमै खाउँ, सडकमै नाचौ,सडकमै रमाऔं’ भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रमा हुनेछ । महोत्सवमा खानाका विभिन्न स्टलहरु सडकको पेटिमा रहनु र न्यू इयर इभको दिन मध्यरातमा आतसबाजी गर्नु महोत्सवको मूख्य विशेषता हो । न्यू इयर इभको दिन हजारौं दर्शक महोत्सवमा आउँदा महोत्सव स्थलको ३ किलोमिटर सडक भरिभराउ हुनेगर्दछ ।

महोत्सवको प्रमुख स्थल कोमागाने पार्कमा राष्ट्रिय कलाकारहरुको लोकदोहोरी, लाइभ व्याण्ड, हाँस्य प्रहसन, बालउद्यान तथा अन्र्तराष्ट्रिय खानाका स्टलहरु रहने रेवान पोखराका अध्यक्ष बुधराज भुजेल (भीमसेन)ले जानकारी दिए । उनका अनुसार महोत्सवमा यस पटक चीन, भारत र पाकिस्तानका झाँकीसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।

You might also like

Comments are closed.