‘सडक महोत्सवले अकुपेन्सी बढाएको छ’

होटलको अहिलेको अकुपेन्सी कस्तो छ ?
हाम्रो होटलमा अहिले अकुपेन्सी शत प्रतिशत छ । केही दिन अघिसम्म ७० प्रतिशत थियो । तर पोखरा सडक महोत्सवका कारण अकुपेन्सी बढेर शत प्रतिशत भएको हो ।

न्यू इयर इभको लागि प्रि बुकिङ कत्तिको भएको छ ?
प्रि बुकिङ राम्रो भएको छ । हामीले न्यू इयर इभमा विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसहित गाला डिनर गर्छौं । त्यसको टिकट लिनेलाई मात्र प्राथमिकता दिएर होटलमा बस्न दिने गरेका छौं । किनकि हामीले गाला डिनरसहितको सांगीतिक÷सांस्कृतिक कार्यक्रम हाम्रो विशेष कार्यक्रम हो ।

चालु वर्षको अकुपेन्सीचाहिं कस्तो रह्यो ?
चालु वर्षको अकुपेन्सी औषतमा राम्रो रह्यो । अझ भनौं २०१७ भन्दा २०१८ मा होटलको अकुपेन्सी राम्रो रह्यो । झण्डै २० प्रतिशतले बृद्धि भयो होटलको अकुपेन्सी ।

गत वर्ष कति थियो यो वर्ष कति भयो होटलको अकुपेन्सी ?
यो वर्ष होटलको अकुपेन्सी ८० प्रतिशत रह्यो । यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी हो । अघिल्लो वर्ष ६० प्रतिशत मात्र थियो अकुपेन्सी ।

होटल वाराहीमा आन्तरिक तथा वाह्य पर्यटक कुन बढी आउँछन् ?
हाम्रोमा धेरैजसो विदेशी पर्यटक नै हुन्छन् । यसअघि झन् बढी विदेशी पर्यटक थिए । अहिले भने नेपाली पर्यटक पनि आउने क्रम बढेको छ । हाम्रोमा ७० प्रतिशत विदेशी र ३० प्रतिशत आन्तरिक पर्यटक बस्छन् । बाह्य पर्यटकमा विशेषगरी नेदरल्याण्डका डचहरु धेरै आउँछन् । त्यसपछि ब्रिटिसहरु पनि राम्रै आउँछन् ।

पोखरा सडक महोत्सवका कारण होटलको अकुपेन्सीमा कत्तिको फरक पार्छ ?
महोत्सवको कारण होटलको अकुपेन्सीमा राम्रो सुधार हुन्छ । प्रायः ८० प्रतिशत हुने अकुपेन्सी बढेर शतप्रतिशत पुग्छ । डिमान्ड बढेर दोब्बर÷तेब्बरसम्म हुन्छ । महोत्सवमा आउनेहरु आन्तरिक पर्यटक बढी हुन्छन् । उनीहरुसँग विदेशी पर्यटकको भन्दा कम रेट लिन्छौं । त्यसैले विदेशी पर्यटकबाट हुनेजस्तो फाइदा भने हुँदैन ।

समग्र पोखराको पर्यटनको अवस्था कस्तो रह्यो यो वर्ष ?
पोखराको पर्यटनको अवस्था यो वर्ष केही सुधार भयो । भूकम्प र नाकाबन्दीले थिलथिलो बनेको पर्यटनमा यस वर्ष केही उत्साह थप्यो । पर्यटक आगमनमा बृद्धि आएको छ । यद्वपि उत्साहजनक भने हुन सकेन । सरकारी स्तरबाट प्रयास नहुँदा उत्साहजनक हुन नसकेको जस्तो लाग्छ मलाई । स्थानीय स्तरबाट गरिएको प्रयासले अहिलेको अवस्था भएको हो ।

कति पर्यटकलाई राख्न सक्ने क्षमता छ वाराही होटलको ?
हाम्रो होटलमा ८० रुम छन् । ७३ वटा डिलक्स रुम छन्, ८ वटा सेमी स्विट रुम र २ वटा स्विट रुम छन् । हाम्रोमा एक दिनमा १६० जना बस्न मिल्छ । अन्य इभेन्टहरु गर्ने हलहरु छन् । बाहिर स्विमिङ पुलसहितको पार्टी गर्ने राम्रो ठाउँ छ ।

होटल वाराहीको प्रमुख विशेषता के हो ?
हाम्रो होटलको विशेषता भनेको सर्भिस र स्वादिष्ट खाना हो । यहाँ पारिवारिक वातावरण छ । यहाँदेखी भ्यूहरु सजिलै देख्न सकिन्छ । हिमालहरु पहिले सबै कोठाबाट देखिन्थ्यो तर अहिले त अग्ला अग्ला भवनहरु बनेकाले मुश्किल पर्छ । तैपनि हाम्रो होटलका माथिल्ला तलाहरुको झ्याल तथा बार्दलीबाट हिमाल र लेकसाइड पुरै देखिन्छ ।

न्यू इयर इभ विशेष केहि छ कि ?
न्यू इयर इभमा होटल वाराहीमा न्यू इयर इभ स्पेसल कार्यक्रम हुँदैछ । स्विमिङ पुल नजिकै रहेको इभेन्ट सेन्टरमा न्यू इयर इभ स्पेसल कार्यक्रम हुन्छ । कार्यक्रम राती ९ बजेदेखि मध्यराति १ बजेसम्म जारी रहनेछ । इभमा पप गीतमा आफ्नो छुट्टै छवि बनाएका कमल खत्री र माण्डवी त्रिपाठीले प्रस्तुती राख्नेछन् । लाइभ कन्सर्टका लागि साँझ साढे ७ बजेदेखि ढोका खुल्ला हुनेछ । कार्यक्रममा सहभागी हुनका लागि प्रति व्यक्ति ४ हजार रुपैयाँ टिकटदर तोकिएको छ । सो टिकटमा वेलकम ड्रिङ्क्ससहित बार्बिक्यु, स्न्याक्स र डिनर फ्रि हुनेछ ।

You might also like

Comments are closed.