सडक महोत्सव आज सकिदै, पोखरामा सडकबाटै यसरी गरियो नयाँ वर्षको स्वागत

आर्थिक आवाज
पोखरा, १७ पुस । रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी पोखरा सडक महोत्सवको २० औं संस्करण आज मंगलबार सकिंदै छ । पाँचदिने महोत्सवको अन्तिम दिन मंगलबार दिनभर विभिन्न कार्यक्रम हुनेछन् । साँझदेखि अनौपचारिक रुपमा महोत्सव सम्पन्न हुनेछ ।

महोत्सवको अन्तर्गतको महत्वपूर्ण दिन नयाँ वर्षको स्वागत गर्ने दिनलाई मानिन्छ । सोमबार न्यु इयर इभको दिन पोखरामा सडक महोत्सवबाटै अँग्रेजी नयाँ वर्ष २०१९ लाई स्वागत गरिएको छ । अन्य दिन राति १० बजेसम्म चल्ने महोत्सव सोमबार राति १२ बजेसम्म चल्यो । १२ बजेसम्म कार्यक्रम आयोजना गरी नयाँ वर्षलाई स्वागत गरिएको छ । नयाँ वर्षको स्वागतका लागि आयोजित कार्यक्रममा आन्तरिक तथा बाह्य पर्यटकहरु रमाएका थिए ।

महोत्सवमा सोमबार दर्शकहरुको अत्यन्तै भिड लाग्यो । अंग्रेजी नयाँ वर्ष २०१८ लाई विदाई गर्दै २०१९ को स्वागत गर्नका लागि पोखरेलीहरु सडक महोत्सवमा पुगेका हुन् । सोमबार महोत्सवको प्रमुख स्थल कोमागाने पार्कमा मंगोलियन हार्ट र बिकेनको लाइभ कन्सर्टमा दर्शक रमाए । दिउसो प्रजापति पराजुली, बद्रि पंगेनी, कुमार पुन, जीवन दाहाल, सरला पाण्डे, पार्वती जिसी, बबिता बानियाँ, माया गुरुङ, केशब देवकोटा, मञ्जु विक, अनिता पन्त, प्रदिप त्रिपाठी, कृष्ण सुवेदी लगायतको लोकदोहोरी प्रस्तुती राखेका थिए ।

You might also like

Comments are closed.