सडक महोत्सव सफल पार्न सबैको साथ र सहयोग आवश्यक छ

गणेशबहादुर भट्टराई
सल्लाहकार, रेवान पोखरा

पोखरा सडक महोत्सव हामी सबै पोखरेलीको हो । यो सफल बनाउन सबैको साथ र सहयोग आवश्यक छ । सबै मिलेर यो महोत्सवलाई राम्रो र हाम्रो बनाऔं । महोत्सवमा नेपाल सरकार, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार, पर्यटन मन्त्रालय, नेपाल पर्यटन वोर्ड, उद्योग वाणिज्य संघ र महासंघ लगायतका संस्थाको सहयोग छ । तर यत्तिले मात्र पुग्दैन । हामीलाई सबै पोखरेली र नेपालीको साथ र सहयोग चाहिन्छ । महोत्सव सबै नेपालीको गौरवको विषय हो, पोखरेलीको गर्वको कार्यक्रम हो । सबैले गर्व गर्न सकियो र यसलाई ब्राण्डिङ गर्न सकियो भनेमात्र आगामी दिनमा यसको उपादेयता रहन्छ । यसका लागि पोखरा महानगरपालिकासहित स्थानीय सरकार तथा गण्डकी प्रदेश सरकार र नेपाल सरकारले स्वामित्व लिएर छुट्टै प्रोडक्टको रुपमा अन्र्तराष्ट्रियकरण गर्नुपर्छ ।

अन्तर्राष्ट्रियस्तरमा नै प्रचार तथा प्रसार गर्नुपर्छ । त्यसो भयो भने धेरै भन्दा धेरै विदेशीहरु पोखरा आउँछन् । अन्तर्राष्ट्रिय युनिभर्सिटी तथा कलेजका विद्यार्थीको लागि केही सिक्ने स्थल पनि महोत्सव बन्न सक्छ । जसले गर्दा उनीहरु नेपाल आउछन् । पोखरामा बस्छन् । यहाँ बस्दा उनीहरुले खानपानदेखी मनोरञ्जनमा धन खर्चन्छन् । यसले पोखराको आयश्रोत बढ्छ र समग्र अर्थ व्यवस्थामै सकारात्मक प्रभाव पर्छ । आयोजकका हिसावले पनि हामी सडक महोत्सवबाट सन्तुष्ट छौ । तर अझ धेरै गर्नु छ । हामीले देशमा कठीन परिस्थिती सृजना हुँदापनि यसलाई निरन्तरता दियौं । निरन्तरतासँगै विभिन्न नयाँ कुरा पनि हामीले महोत्सवमा थप्दै आएका छौं । त्यसैको प्रतिफल स्वरुप नेपालबाट मात्र नभई अन्य विभिन्न देशबाट पनि सडक महोत्सवमा पर्यटक आउने क्रम बढेको छ ।

सरकारले महोत्सवमा स्थानीय स्तरमा उत्पादित वस्तु महोत्सवमा ल्याई बजारीकरणमा सघाउनु पर्छ । महोत्सवको उद्देश्य मध्ये यो पनि एक हो । महोत्सवमा पर्यटकले देखेपछि विदेशबाटसमेत डिमान्ड हुने सम्भावना हुन्छ । त्यस्ता सामानमा घरेलु तथा हस्तकलाका सामानहरु पर्दछन् । यी कोशेलीको रुपमा विदेशमा निर्यात हुने सम्भावना बोकेको बस्तु हुन् । यस्ता सामानको पहिचान गरी प्रवद्र्धन तथा बजारिकरणमा सरकारले सहयोग गर्नुपर्छ । त्यस्तै लोपोन्मुख जातजातिका संस्कृती, परम्परा, रहनसहन तथा भेषभुषा संरक्षणमा पनि सडक महोत्सवको बिशेष भुमिका रहेको छ । महोत्सवको समयमा त्यस्ता संस्कृती तथा परम्पराको प्रर्दशन गरिन्छ ।

महोत्सवको मौका छोप्नु राम्रो होइन । यसमा व्यवसायी आफै सचेत हुनुपर्छ । सँधैको रेटमा होटलका कोठाहरु उपलब्ध गराउनुपर्छ । यसलाई रेवान पोखराले निगरानी र मौका छोपेर बढी रेट लगाएको छ भने कार्वाही गर्न सक्नुपर्छ । नत्र यसले अन्र्तराष्ट्रिय समुदायमा नकारात्मक सन्देश जान्छ । कोही पनि ठगिनु हुँदैन भन्ने मान्यताका साथ हामी अगाडि बढेका छौ । पर्यटन सगँ सम्वद्ध विभिन्न संघ संस्थाको धारणा पनि यहि छ । पाहुनाहरु रातको समयमा आउने र उनीहरुको व्यवस्थापनको लागि स्टाफका लागि पनि अवेरसम्म काम गराउनुपर्ने हुन्छ त्यसकारण केही मात्रामा बढाउनु सामान्य हो तर असामान्य रुपमा भने बढाउनु हुँदैन ।

You might also like

Comments are closed.