सडक सञ्जालको शिकार बन्दै पदयात्रा, टानको सक्रियतामा नयाँ पदयात्राको खोजी

सुरेन्द्र पौडेल
पोखरा, २३ साउन । नेपालका कतिपय पदयात्रा संसारमै लोकप्रिय मध्येमा पर्छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशिद्ध पदयात्राहरु मध्येमा पर्छ अन्नपूर्ण सर्किट । प्रशिद्ध अन्नपूर्ण सर्किट पदयात्रा भने मोटरबाटोको शिकार बनेको छ । २१ दिनसम्मको प्याकेजमा यात्रा गरिने यो रुट अहिले घटेर ४÷५ दिनमा पुरा गर्न सकिन्छ ।

लमजुङबाट सुरु हुने अन्नपूर्ण पदयात्रा अहिले मनाङको कङसारसम्म मोटरबाटो पुगेपछि यात्रा छोटिएको हो । अन्नपूर्ण राउण्ड पास गरिसकेपछि मुस्ताङको मुक्तिनाथ मन्दिरभन्दा माथि फेदीसम्म मोटरबाटो पुगिसकेको छ । २ सय १० किलोमिटर लामो यो पदयात्रा छोटिएर करिब ३० किलोमिटरमा झरिसकेको बताउँछन् ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष दीपकराज अधिकारी ।

‘यो पदयात्रामा हिड्ने पर्यटकले १÷२ लाख रुपैयाँसम्म खर्च गर्थे,’ अधिकारीले भने, ‘अहिले मोटरबाटोले यात्रा छोटिएपछि पर्यटकले १५÷२० हजार रुपैयाँ भन्दा बढी खर्च गर्दैनन् ।’ छोटो पदयात्रामा अन्तर्राष्ट्रिय क्षेत्रमै प्रशिद्ध घोरेपानी पुनहिल पदयात्रा पनि छोटिएको छ । यो पदयात्रामा पर्ने घान्दु्रक, लान्दु्रकसम्म मोटरबाटो सुरु भएपछि पदयात्राको दुरी घटेको हो । पदयात्राका लागि प्रशिद्ध सिक्लेसम्म पनि अहिले गाडीमै यात्रा हुन्छ ।

‘अन्नपूर्ण सर्किट र घोरेपानी पुनहिल पदयात्रालाई मात्र होइन, नेपालका धेरै पदमार्गमा मोटरबाटोले असर गरेको छ,’ अधिकारीले भने, ‘नेपालको पर्यटनमा प्रमुख आकर्षण पदयात्रा भएकाले यसको संरक्षणमा राज्य लाग्नुपर्छ ।’ पदयात्राका लागि अन्यत्रको तुलनामा गण्डकी प्रदेश बढी प्रशिद्ध रहेको अधिकारीले बताए ।

चलेका राम्रा पदमार्गलाई मोटरबाटोको कारण असर गरेपछि टानको सक्रियतामा नयाँ पदयात्राका रुटहरु पहिचान सुरु गरिएको अधिकारीले जानकारी दिए । ‘अव्यवस्थित विकास र सडक मार्गहरुको अबैज्ञानिक विस्तारले कतिपय महत्वपूर्ण पदयात्रा मार्गहरु लोप हुने क्रममा पुगेकाले व्यवसायीहरु मर्कामा परेका छन्,’ उनले भने, ‘व्यवसायको संरक्षण गर्न नयाँ पदयात्राको विकास र पहिचान अनिवार्य बनेको छ ।’

टानले नयाँ पदयात्रा मार्गको खोजी, अनुसन्धान, पहिचान तथा प्रबद्र्धनमा विगत लामो समयदेखि काम गर्दै आएको सचिव सुशीलराज पौडेलले बताए । टानकै पहलमा माछापुच्छ«े मोडल ट्रेक, मिलिनियम ट्रेक, धौलागिरी आइसफल ट्रेक, हिडनलेक ट्रेक, क्हपुचे लेक ट्रेक सहित हालसम्म एक दर्जन भन्दा बढी पदयात्रा मार्गहरुको खोज तथा प्रबद्र्धन कार्य सम्पन्न भएको उनले जानकारी दिए । कास्की, लमजुङ, तनहुँ, स्याङजा, म्याग्दी र पर्वत लगायतका जिल्लाहरुमा यस्ता पदयात्रा मार्गहरुको खोज तथा विकास गरिएको हो ।

ती पदयात्रा मार्ग वरपर पर्ने कतिपय गाउँहरुमा होमस्टे कार्यक्रम समेत विकास गरिएको प्रथम उपाध्यक्ष हरि भुजेलले जानकारी दिए । ‘टानकै पहलमा हालसम्म विभिन्न जिल्लाका झण्डै १५ वटा गाउँमा होमस्टे विकास गरिएको छ,’ उनले भने ।

You might also like

Comments are closed.