सत्ता पक्ष भन्छ : बजेट अत्यन्त राम्रो, बिपक्षी भन्छ : अपूर्ण र अधुरो

सन्देश श्रेष्ठ
पोखरा, ३ असार । गण्डकी प्रदेश सरकारले ल्याएको बजेटका विषयमा सत्ता पक्ष र बिपक्ष दुई खेमामा विभाजित भएका छन् । गण्डकी प्रदेश सभाको मंगलबारको बजेट छलफलमा भाग लिदै सत्ता पक्षीय सांसदहरुले बजेट राम्रो भन्दै बजेटको बचाउ गरे भने बिपक्षीले बजेट अपूरो र अधुरो भन्दै जुहारी खेलेका हुन् । सत्ता पक्षीय सांसदहरुले बजेटले सबै पक्ष समेटेकाले समावेशी भएको र यो समृद्धीको आधार बन्ने बताएका छन् । तर बिपक्षी सांसदहरुले भने बजेट असमावेशी र अपूर्ण भएको टिप्पणी गरेका छन् ।

छलफलमा भाग लिदै नेकपाकातर्फबाट सांसद रामजीप्रसाद बरालले बजेट तथ्यमा आधारित भएर वस्तुगत रुपमा आएको बताए । उनले विकासको मेरुदण्ड पूर्वाधार केन्द्रीत गरेर बजेट ल्याएर सरकारले सराहनीय कार्य गरेको बताए । उनले योजना छनौट गर्ने तरिका परम्पराबादी भएको हो कि भन्ने लागेको भन्दै योजना छनौट गर्ने जिम्मा योजना आयोगलाई नै दिदा वस्तुनिष्ठ हुने धारणा व्यक्त गरे । साथै उनले सुकुम्बासी समस्या समाधानका विषय भने बजेटमा छुट्यो कि भन्ने लागेको उल्लेख गरे ।

सांसद कृष्ण थापाले बजेट समाजवाद उन्मुख आएको बताउँदै यसले समृद्धिको यात्रामा प्रदेशलाई डोहो¥याउने बताए । सांसद मोहनप्रसाद रेग्मीले बजेट गण्डकी प्रदेशको मुहार फेर्दै समृद्धिको यात्रालाई अगाडि बढाउने गरि आएको बताए ।

सांसद मनबहादुर गुरुङले संविधानको मर्म र भावना अवलम्वन गर्नेगरी बजेट आएको बताए । उनले बजेट ठोस र वस्तुनिष्ठ रुपमा आएको र यसले जनताको आधारभुत आवश्यक्ता पूर्ति गर्ने बताए । सांसद प्रभा कोइरालाले बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै बजेटमा खोट लाउने विषय नै नरहेको दाबी गरिन् । सांसद जुनादेवी नेपालीले बजेट विकासको कोशेढुंगा सावित हुने बताईन् ।

सांसद ईन्द्रधारा विष्टले बजेट अत्यन्तै राम्रो भएको बताउँदै कोरला नाकालाई छोएको भए सुनमा सुगन्ध थपिने थियो भन्ने धारणा राखे । बजेट छलफलमा भाग लिदै बिपक्षी दलका तर्फबाट कांग्रेस सांसद विष्णुप्रसाद लामिछानेले बजेट सुन्दा आकाशको तारा झार्ने खालको भएपनि कार्यान्वयन हुने आधार नदेखेको बताए ।

सांसद प्रकाशचन्द्र दवाडीले घाटा बजेट ल्याउनुको औचित्य नभएको बताउँदै घाटा बजेट पूर्ति हुनेमा आशंका व्यक्त गरे । सांसद भगवतप्रकाश मल्लले बजेट हेर्दा विकास गर्ने सोंच सरकारमा नदेखिएको बताए । सांसद सरिता गुरुङले महिलामुखी बजेट नआएको बताउँदै बजेटमा असमानताको गन्ध आएको टिप्पणी गरिन् ।

सांसद डोबाटे विश्वकर्माले बजेट समग्रमा राम्रो भएपनि बिपक्षीको सुझाव समेटेर सुधार्न पाए अझ राम्रो बनाउन सकिने बताए । राष्ट्रिय जनमोर्चाको तर्फबाट सांसद पियारी थापाले बजेट कसैलाई हाइहाइ र कसैलाई बाईबाई गर्ने खालको भएको टिप्पणी गरिन् ।

लोक सेवा आयोग गठन सम्बन्धी विधेयक विधायन समितिमा पठाइयो

प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधीको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाइएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले बहुमतको आधारमा निर्णय गर्दै विधेयक विधायन समितिमा पठाएको हो । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले विधेयक विधायन समितिमा पठाइयोस भनि प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई सभामुख नेत्रनाथ अधिकारीले निर्णयार्थ प्रस्तुत गर्दा विधेयकलाई विधायन समितिमा पठाउने पक्षमा बहुमतले समर्थन जनाएका थिए ।

त्यसअघी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावको छलफलमा भाग लिदै सांसद दीपक कोइरालाले संघीयता कार्यान्वयनका लागि लोक सेवा आयोग अपरिहार्य भएको बताए । सांसद विष्णुप्रसाद लामिछानेले प्रदेशको आफ्नै कर्मचारी नहुँदा प्रदेशले सोंचेजस्तो काम गर्न नसकेको भन्दै लोक सेवा आयोग गठन अत्यावश्यक भएको बताए । सांसद हरिशरण आचार्यले लोकसेवा आयोग गठन आवश्यक भएपनि यसलाई निश्पक्ष र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले लोक सेवा आयोगको पदाधिकारी नियुक्तीमा मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता हुने भएकाले यो निश्पक्ष हुने बताए । लोक सेवा आयोग योग्यहरुबाट पनि योग्य छनौट गर्ने भरपर्दो संस्था भएको संघमा भएको लोक सेवा आयोगले पुष्टी गरिसकेकाले यसप्रति धेरै आशंका नगर्न आग्रह गरे । बरु लोक सेवा आयोगले स्वच्छ, स्वस्थ र दवाबरहित ढंगले काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

You might also like

Comments are closed.