सत्यवती माविको ४३औँ वार्षिकोत्सव सम्पन्न

पुस ९,तनहुँ ।
सामुदायिक विद्यालय तर्फ पश्चिमाञ्चल क्षेत्रमै राम्रो छवि बनाउन सफल तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । वार्षिकोत्सवको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्दै सत्यवती विद्यालयले तनहुँको गरिमालाई उच्च बनाएको बताए । सामुदायिक विद्यालय प्रति अभिभावकको विश्वास कम हुदै गएको अवस्थामा यस विद्यालयले सामुदायिक विद्यालयको उत्कृष्ट नमुना प्रदर्शन गरेको भन्दै पौडेलले प्रशंसा गरे ।

शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकारको रुपमा रहेकाले कोही पनि शिक्षाबाट बञ्चित हुन नपरोस् भन्नका लागी शिक्षालाई सर्वशुलभ र निशुल्क बनाइएको उनले बताए । सत्यवतीको सकारात्मक पक्षको अनुशरण गर्दै तनहुँका अन्य सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि तर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, जिल्ला अधिकारी व्यास नगरपालिका शिक्षा शाखा प्रमुख अम्बिकाप्रसाद आचार्य लगायतले बोलेका थिए ।

वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक इन्द्र पौडेलले सत्यवती ४ पटक पश्चिमाञ्चल क्षेत्रको सर्वोत्कृष्ट विद्यालय, एक पटक राष्ट्रिय स्तरको प्रथम र दुई पटक राष्ट्रिय स्तरमा दोश्रो पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको जानकारी दिए । सत्यवतीमा अध्यापन गराउने सबै शिक्षक शिक्षिकाहरुले आफ्ना छोराछोरी सत्यवतीमा नै अध्ययन गराएका छन् । विद्यालयमा पढाउने शिक्षकका छोराछोरी मात्र एक सय ९८ जना छन ।

प्राविधिक, कम्प्युटर इन्जिनियर, विज्ञान, शिक्षा तथा व्यवस्थापनको पढाइ हुने सो विद्यालयमा १२ कक्षासम्म पढाइ हुदैँ आएको पौडलले बताए । सरकारले यस विद्यालयलाई ०७४ सालमा नमुना घोषणा गरिसकेको छ । विद्यालयमा हाल २ हजार ७ सय ३३ बालबालिका अध्ययनरत छन् । त्यस विद्यालयमा ९७ शिक्षक कार्यरत छन । विद्यालयमा ३१ जना स्थायी, १६ जना करार, र ४१ जना शिक्षकहरु विद्यालय स्रोतमा कार्यरत रहेका छन् ।

विद्यालयलाई अझ उत्कृष्ट बनाउन नमुना विद्यालय गुरुयोजना कार्यान्वयन गर्ने, आधुनिक शिक्षण विधि लागु गर्ने, विद्यालयको समग्र गतिविधि अनुगमन गर्न मिल्ने गरी सिसिटिभीको व्यवस्था गर्ने, स्मार्टबोर्ड, प्रोजेक्टर, स्मार्ट टिभी लगायतका शैक्षिक सामग्री प्रयोगमा ल्याउने जस्ता योजना अगाडि सारेको पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.