‘सदस्य केन्द्रित सरल र गुणस्तरीय कारोबार गरेका छौं’

विनोद ढुंगाना
अध्यक्ष
सञ्चार बचत तथा ऋण सहकारी संस्था लि.

पोखराको न्युरोडमा कार्यालय रहेको सञ्चार बचत तथा ऋण सहकारी संस्थाले वैशाख ३ गतेबाट वित्तीय कारोबार शुभारम्भको ७ औं वर्ष प्रवेश गरेको छ । सदस्य केन्द्रित रहेका विभिन्न योजनासहित वित्तीय कारोबार गरिरहेको सहकारीका विविध विषयमा केन्द्रित रहेर सहकारीका अध्यक्ष विनोद ढुंगानासँग आर्थिक आवाजले गरेको कुराकानीको सार ः

सञ्चार बचत तथा ऋण सहकारी संस्थाको वित्तीय अवस्था कस्तो छ ?
सेयर सदस्यहरुको सक्रिय सहभागितामा छरिएर रहेको पुँजीलाई संकलन गरी आयमुलक व्यवसायमा लगानी गर्दै सेयर सदस्यहरुको आर्थिक क्षमताको विकास गरी आत्मनिर्भर हुन प्रेरित गर्ने उद्देश्यका साथ सहकारी स्थापना भएको हो । कास्कीभर कार्यक्षेत्र रहेको सञ्चार बचत तथा ऋण सहकारी संस्था लि.मा हालसम्म १ सय ५० जना सेयर सदस्य आबद्ध हुनुहुन्छ । सहकारीको सेयर पुँजी ३ करोड १० लाख रुपैयाँ, निक्षेप ८ करोड ५० लाख रुपैयाँ, ऋण लगानी ९ करोड ९० लाख रुपैयाँ छ । २०६८ फागुन १६ गते सम्बन्धित निकायमा दर्ता भइ २०६९ वैशाख ३ गतेबाट वित्तीय कारोबार सुरु गरेको यस संस्थाको कार्यालय पोखरा ८ न्युरोडमा छ ।

कुन–कुन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्नुभएको छ ?
विशेष गरी व्यावसायिक सदस्यहरुद्वारा स्थापित यस सहकारीले व्यावसायिक क्षेत्रमा बढी लगानी गरेको छ । कृषि र पर्यटन क्षेत्रमा पनि उल्लेखनीय लगानी गर्दै आइरहेको छ । महिला उद्यमीलाई विशेष प्राथमिकतामा राख्दै महिला उद्यमी लगानीका शीर्षकहरु मार्फत लगानी गर्दै आइरहेका छौं । सेयर सदस्यहरुको आपतकालीन समस्यालाई मध्यनजर गर्दै आपतकालीन कर्जाको व्यवस्था गरी वित्तीय सहयात्रीका रुपमा सदस्यहरुप्रति उत्तरदायी भएर लगानी गरेका छौं ।

अन्य सहकारी भन्दा सञ्चार सहकारी कसरी फरक छ ?
अत्याधुनिक कम्प्युटर सफ्टवयर मार्फत सेवा प्रदान गर्दै छिटो छरितो रुपमा कारोबार गर्ने संस्थाको रुपमा हामी स्थापित भएका छौं । सहकारीको क्षेत्रमा लामो अनुुभव संगालेका दक्ष सञ्चालक एवं कर्मचारी मार्फत सेवा सञ्चालन गर्दै आइरहेका छौं । बचत गर्ने बानीको विकास गर्न विभिन्न किसिमका बचत योजनाहरु तथा सदस्यहरुको पारिवारिक विपत्ती (मृत्यु) मा बिना व्याज र बिना धितो कर्जा व्यवस्था गर्दै आएका छौं । एसएमएस बैंकिङको सुविधा मार्फत पारदर्शी वित्तीय सेवा प्रदान गर्दैै आइरहेका छौं । सबै किसिमका रेमिट सेवाहरुका साथमा सदस्यमुखी वित्तीय कारोबार गर्दै आइरहेका छौं ।

सदस्यको हकहित तथा क्षमता अभिबृद्धिमा के–के काम गर्दैै आउनुुभएको छ ?
सदस्यहरुको हितका लागि समवेदना कर्जा मार्फत सदस्यहरुको तथा एकाघर परिवारको सदस्यको मृत्यु भएकोे खण्डमा बिना धितो बिना ब्याज कर्जा सुविधा उपलब्ध गराउँदै आएका छौं । महिला सदस्यको हकमा सुत्केरी अवस्थामा सुत्केरी खर्च र नबजात शिशुको लागि पौष्टिक आहार संस्थाको तर्फबाट उपलब्ध गराउँदै आएका छौं । सदस्यहरुको व्यवसायमा चोरी वा आगजनी भएको खण्डमा बिना धितो निश्चित समयाबधीका लागि बिना व्याज ऋण प्रदान गर्ने व्यवस्था मिलाएका छौं । त्यसैगरी सदस्यहरुको क्षमता अभिबृद्धिका लागि सहकारी सम्बन्धी तालिम, गोष्ठी, सेमिनारहरुमा सदस्यहरुलाई सहभागी गराउँदै आएका छौं । संस्थाबाट सहकारी सम्बन्धी तालिमहरु आयोजना गर्दै आइरहेका छौं । सहकारी अध्ययन अवलोकन भ्रमणको आयोजना गरी अन्य सहकारी संघसंस्थाको विषयमा जानकारी सहित फेलोसिपको माध्यमबाट सदस्यहरुबीच भाइचाराको सम्बन्ध स्थापना गर्दै आइरहेका छौं ।

सहकारीले सामाजिक उत्तरदायित्व कसरी बहन गर्दै आइरहेको छ ?
हामीले हाम्रो क्रियाकलापहरुलाई २ भागमा बिभाजन गरेका छौैं । पहिलो आर्थिक क्रियाकलाप (व्यवसायमूलक) र दोस्रो सेवामूलक (सामाजिक क्रियाकलाप) । व्यावसायिक क्रियाकलापमा दैनिक आर्थिक कारोबारको माध्यमबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेका छौं भने सेवामूलक कार्यक्रमहरुमा रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, सम्पदा सरसफाइ तथा रंगरोगन लगायतका कार्यक्रमहरु गरी समुदायप्रति उत्तरदायित्व बहन गर्दै आइरहेका छौं ।

सहकारीको आगामी लक्ष्य के–के छन् ?
संस्थाले आफ्नै भवन निर्माण गरी आफ्नै भवनबाट गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । कास्की जिल्लाभर कार्यक्षेत्र रहेको हुँदा जिल्लाका विभिन्न ठाउँमा सेवा केन्द्र स्थापना गरी वित्तीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । त्यसैगरी एसएमएस बैंकिङको सुविधामा अझ थप गरी इन्टरनेट बैंकिङ मार्फत रकम ट्रान्सफर तथा स्टेटमेन्ट जानकारी सुविधा प्रयोगमा ल्याउने तयारी गरिरहेका छौं ।

You might also like

Comments are closed.