सफल एक्स्पोको आयव्यव सार्वजनिक, राष्ट्रिय औद्योगिक व्यापार मेला’ पुसमा गरिने

आर्थिक आवाज
पोखरा, ३ असार । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले गत मंसिरमा आयोजना गरेको ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला’को आयव्यय विवरण सार्वजनिक भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी संघले आयव्यय विवरण सार्वजनिक गरेको हो ।

एक्स्पोबाट कुल ९२ लाख ४३ हजार ६ सय ७० रुपैयाँ आम्दानी भएको पत्रकार सम्मेलनमा अध्यक्ष दामु अधिकारीले जानकारी दिए । प्रायोजन, टिकट बिक्री तथा स्टल भाडाबाट उक्त रकम आम्दानी भएको हो । विभिन्न शीर्षकमा गरी ८८ लाख ५६ हजार ४ सय ६७ रुपैयाँ खर्च भएको बताइएको छ । एक्स्पोबाट ३ लाख ८७ हजार २ सय २ रुपैयाँ बचत भएको उनले जानकारी दिए ।

संघले वर्षेनी आयोजना गरेको महोत्सवको नाम गत वर्ष परिवर्तन गरिएको थियो । नाम परिवर्तन हुँदा दर्शकहरु अन्यौलमा परेको भन्दै संघले अबका दिनमा पुरानै नामबाट महोत्सवलाई निरन्तरता दिने भएको छ । ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६’ आगामी पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।  महोत्सवलाई आगामी दिनमा अझ परिस्कृत गरेर सञ्चालन गरिने वाणिज्य उपाध्यक्ष पवन प्रजापतीले बताए ।

संघका महासचिव अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघले आउँदो मेलालाई सबै पोखरेलीको मेला बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको विकासको लागि मेलालाई उपयोग गर्ने पनि उनको उद्घोष थियो । यसअघि मेला मूल आयोजक समितिको बैठकबाट मेलालाई सफलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने प्रतिवद्धता व्यक्त गरियो ।

पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग, लक्ष्मी समूहको मूख्य प्रायोजन, नेपाल पर्यटन वोर्ड सहित आइएमई ग्रुपको प्रवद्र्धनमा एक्स्पो आयोजना गरेको थियो । एक्स्पोलाई हिमायलयन डिष्टिलरी प्रालि, गरिमा विकास बैंक लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी, होटल लेक सोर, टुडे मिनिरल वाटर,हन्सराज हुलासचन्द्र एण्ड सन्स, हरपल चामल, हिमालयन जनरल इन्स्योरेन्स, गण्डकी टे«ड हाउसको पिजो मोटर्स, सगरमाथा इन्स्योरेन्स, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, पोखरा इन्टरनेट प्रालि,फर्निचर ल्याण्ड, बबिन टेलरिङ एण्ड लेडिज कलेक्सन,बोटलर्स नेपाल तराई प्रालिको कोकाकोला, गृहलक्ष्मी ग्याँस कम्पनी प्रालिबाट विभिन्न विधा तथा नेपाल जनरल मार्केटिङ प्रालिको तर्फबाट हिरो ड्युट स्कुटर बम्बर उपहारको रुपमा प्रायोजन गरेका थिए । एक्सपोमा अत्याधुनिक डोममा र साधारण गरी ३ सयको हाराहारीमा स्टलहरु रहेका थिए ।

You might also like

Comments are closed.