सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन मंगलबार, ५ हजार बढी सहभागी हुने दाबी

आर्थिक आवाज
पोखरा, ४ फागुन । पोखरामा मंगलबार अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ यहि फागुन ७ गते १२औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको हो ।

रन फर फनसहित विभिन्न ८ इभेन्टमा प्रतिष्पर्धा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ । प्रतियोगितामा म्याराथन, १० किलोमिटर महिला तथा पुरुष दौड, ५ किलोमिटर छात्र तथा छात्रा दौड, अपाङ्गता भएकाहरुका लागि ४ सय मिटर पुरुष तथा १ सय मिटर महिला र १ सय मिटर दृष्टीविहिन ह्विल चेयर प्रतियोगिता गरी ८ इभेन्टमा प्रतिष्पर्धा हुने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा एकैदिन करीब ३ हजार धावक दौडिने आयोजकले दाबी गरेको छ । मञ्चका अध्यक्ष गुरुङका अनुसार म्याराथनमा २५ जना, १० किलोमिटर महिलामा २५ जना, १० किलोमिटर पुरुषमा ७५ जना, ५ किलोमिटर छात्रमा १ सय ८० जना, ५ किलोमिटर छात्रामा १ सय जनाले नाम दर्ता गराइसकेका छन् । यसैगरी ४ सय मिटर ह्विल चेयर पुरुष, १ सय मिटर ह्विल चेयर महिला र १ सय मिटर दृष्टीविहिन् दौडको दर्ता कार्य पनि जारी रहेको उनले बताए ।

आयोजकका अनुसार पोखरा रंगशालाबाट सोमबार विहान ठीक ७ बजे म्याराथन शुरु हुनेछ । ४२.१ किलोमिटरको म्याराथन दौड रंगशालाबाट शुरु भएर पृथ्वीचोक, विरौटा चोक (तल्लो), राष्ट्रवैंक चोक, सहीदचोक, बसुन्धरा पार्क, हल्लनचोक, जिरोकिलोमिटर, सिम्पानी, भिमकालीपाटन चोक, महेन्द्रपुल, विपी चोक, न्यूरोड, सभागृह चोक, पृथ्वीचोक, नयाँबजार महेन्द्रपुल, रानीपौवा, पुरानोधारा, गौंडामुख, भद्रकाली चोक, मियापाटन, वि.पी. मार्ग, चाउथे चोक, गलेश्वर चोक, रामेश्वर मा.वि., मझेरीपाटन चोक, निराजन चोक, फुलबारी होटल चोक, ढुङ्गेसाँघु चोक, महतगौडा चोक, हनुमान चोक, अन्तर्राष्ट्रिय म्यूजियम, घारीपाटन बिरौटा चोक (माथिल्लो), राधाकृष्ण मन्दिर, नयाँ गाउँ (सेन्ट मेरिज स्कूल चोक), वन क्याम्पस, नयाँ एयरपोर्ट, कालिका क्याम्पस गेट, भारतीय पेन्सन क्याम्प गेट, तमु धीं यू.के. गेट हुँदै पोखरा रंगशालामा पुगेर समापन हुनेछ ।

यसैगरी १० किलोमिटर दौड पोखरा रंगशालाबाट सुरु भई विरौटा चोक (तल्लो), राष्ट्रवैंक चोक सहीदचोक, बसुन्धरा पार्क, हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृह चोक, पृथ्वीचोक हुँदै रंगशालामा पुगेर समापन हुनेछ भने ५ कि.मी. दौड रंगशालाबाट सुरुभई पृथ्वीचोक, एअरपोर्ट हर्कचोकबाट दाहिने हुँदै जनप्रिय क्याम्पस, रत्नचोक, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक, रंगशालागेट हुँदै रंगशालामा पुगेर समापन हुनेछ ।

प्रतियोगिताबारे जानकारी दिदै मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुपनै सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदका विश्व मानचित्रमा स्थापित गराउने, खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न र वर्षको एक दिन शहरकै उत्सवको रुपमा प्रतियोगितालाई स्थापित गराउने आफूहरुको उद्धेश्य रहेको बताए । उनले प्रतियोगिहरुलाई घर अगाडि आईपुग्दा स्थानियले घडा र कलश राखेर स्वागत गर्ने उनले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रतियोगिताले पर्यटन प्रबद्र्धनमा सघाउने विश्वास व्यक्त गरे । उनले भौतिक विकासँगै खेलकुदको विकास र बिस्तारका लागि योजनाबद्ध तवरले काम थाल्ने बताए ।

jutta mela

अन्र्तराष्ट्रिय भनेपनि विदेशी खेलाडी सहभागि हुने सम्भावना न्यून

आयोजकले म्याराथन दौड प्रतियोगिता अन्र्तराष्ट्रिय भनेपनि विदेशी खेलाडी सहभागि हुने सम्भावना कम देखिएको छ । प्रतियोगितामा सहभागिताका लागि अहिलेसम्म कुनैपनि विदेशी धावकले नाम दर्ता गरेका छैनन् भने नाम दर्ता गराउने सम्भावना पनि न्यून देखिएको छ । मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले विदेशी धावकहरु ल्याउने प्रयास गरिएपनि त्यसले सार्थकता पाउने सम्भावना कम रहेको बताए । उनले भने,‘हामी प्रयास गरिरहेका छौं, ४÷५ जनासँग कुरा पनि भइरहेको छ, तर अन्तिम समय भएकाले आउने सम्भावना अत्यन्त न्यून छ ।’ अहिलेसम्म पनि नाम दर्ता नभएकाले पर्सी सोमबार विहानका लागि कुनैपनि धावक आएर दौडिने सम्भावना नदेखिएको स्वयम् आयोजकले पनि स्विकारेका छन् ।

प्रतियोगितामा विदेशी मात्र नभई स्वदेशी नाम चलेका धावक पनि सहभागि नहुने भएका छन् । माघको अन्तिम साता काठमाडौंमा म्याराथन भएकाले सो प्रतियोगितामा सहभागि राष्ट्रिय धावकहरु पोखरामा हुने प्रतियोगितामा सहभागि नहुने भएका हुन् । म्याराथनमा एक पटक सहभागि धावक ३ महिनासम्म अर्को प्रतियोगितामा सहभागि हुन शारिरिक रुपमा फिट नहुने भएकाले त्यसको असर पोखराको प्रतियोगितामा परेको हो । एथलेटिक्स संघले तालिका बनाएर प्रतियोगिता गर्न सर्कुलर नगर्दा यस्तो स्थिति आएको मञ्चका अध्यक्ष गुरुङले गुनासो गरे ।

प्रतियोगितामा कास्कीसहित पर्वत, बागलुङ, स्याङ्जा, तनहुँ, जुम्लाबाट सहभागि हुने उनले जानकारी दिए । अन्य जिल्लाबाट पनि सहभागि गराउने प्रयास भइरहेको उनले बताए ।

पर्यटन प्रवद्र्धनका लागि गरिने प्रतियोगितामा पर्यटन व्यवसायीको संलग्नता शून्य

पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिने भनिएको प्रतियोगितामा पर्यटन व्यवसायीहरुको सहभागिता भने शून्य देखिएको छ । प्रतियोगितामा आन्तरिक तथा बाह्य जुन पर्यटक आएपनि फाइदा हुने भनेको पर्यटन व्यवसायीलाई नै हो । तर यो प्रतियोगिता सफल बनाउन पर्यटन व्यवसायीको भूमिका नदेखिएको हो । प्रतियोगितामा धावकलाई सहभागि बनाउनदेखी प्रतियोगिता सम्पन्न गर्न आर्थिक प्रायोजन गर्नेसम्म उनीहरुले भूमिका खेल्न सक्छन् तर उनीहरुले यसमा कुनै चासो दिएका छैनन् । मञ्चका अध्यक्ष गुरुङले अपेक्षाकृत रुपमा पर्यटन व्यवसायीबाट सहयोग नमिलेको बताए । आफूहरुले आग्रह गरेपनि सामान्य सहभागिताबाहेक अन्यमा पर्यटन व्यवसायीले सहयोग गर्न चासो नदेखाएको उनले बताए ।

पोखराको प्रतिष्ठित खेलको रुपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उधोगको उत्पादन सफल दुधले दुई वर्ष देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । म्याराथनमा प्रथम हुनेले नगद ७० हजार, दोश्रो हुनेले ४५ हजार र तेश्रो हुनेले ३० हजार तथा चौथो हुनेले सान्त्वना रुवस्प नगद ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, १० कि.मी. पुरुष–महिला दौडमा प्रथमले १५, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार, ५ किलोमिटर छात्र–छात्रा दौडामा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ४ हजार प्राप्त गर्ने मंचले जनाएको छ । प्रतियोगितामा ४ सय मीटर ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन दौडमा प्रथम हुनेले ५, दोश्रो हुनेले ३ र तेश्रो हुनेले २ हजार प्राप्त गर्नेछन् ।

You might also like

Comments are closed.