सभामुख प्रदेश नं ३, एपिएफ, प्रदेश नम्बर ५ र नेपाल पुलिस क्लवको सुखद शुरुवात

सन्देश श्रेष्ठ
पोखरा, १ माघ

प्रदेश नम्बर ३ दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितीको संयोजनमा मंगलबारदेखी पोखरामा शुरु भएको दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता–२०७५ को पहिलो खेलमा जित हात पार्दै प्रदेश नम्बर ३ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर ३ ले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । प्रदेश नं ३ ले नेपाली सेनालाई २५–१०, १२–२५, २५–२० र २५–१४ को सेटमा पराजित गरेको हो । जितसँगै प्रदेश नम्बर ३ क्वाटरफाइनलमा प्रवेश ग¥यो ।

प्रतियोगिताको पहिलो दिन मंगलबार भएको अन्य खेलहरुमा शसस्त्र प्रहरीको एपिएफ क्लब, प्रदेश नम्बर ५, नेपाल पुलिस क्लवले आ–आफ्नो खेल जित्दै सुखद शुरुवात गरे । प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा शसस्त्र प्रहरीको एपिएफले प्रदेश नं १ लाई २५–३, २५–८, र २५–३ को सोझो सेटमा पराजित ग¥यो ।

अर्को खेलमा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर २ लाई २५–१०, २५–१४ र २५–८ को सोझो सेटमा पराजित ग¥यो । मंगलबारको अन्तिम खेलमा एपिएफले गण्डकी प्रदेशलाई २५–१९, २५–२०, र २५–१७ को सोझो सेटमा पराजित ग¥यो ।

यसअघी प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए । उउद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले खेलकुद नबुझेका व्यक्ति मन्त्री तथा पदाधिकारी हुँदा खेलकुदले अपेक्षित विकास गर्न नसकेको आरोप लगाए । उनले भने,‘अन्य देशमा विकास र समृद्धिसँगै खेलकुदले पनि फड्को मारेको छ, तर हाम्रो नेपालमा खेलकुद नबुझेका व्यक्ति मन्त्री र पदाधिकारी हुँदा अपेक्षित विकास हुन सकेको छैन ।’ उनले नेपालको खेलकुद प्रशिक्षक र खेलाडीले धानिदै आएको बताए । उनले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग)को समापनमा गएर २ वर्षभित्र तेह्रौं साग गर्छु भनेर प्रतिबद्धता गरेपनि अहिले समयमै प्रतियोगिता गर्न नसक्दा नेपालको प्रतिष्ठामाथी प्रश्न उठेको बताए । उनले भने, ‘बचन पुरा नगर्दा नेपालको प्रतिष्ठा माथी नै प्रश्न उठेको छ, न त प्रतियोगिताको तयारी भएको छ, न त कुनै पूवाधार बनेका छन्, न त खेलकुदमा परिवर्तन नै आयो ।’

मुख्यमन्त्री गुरुङले पोखरालाई खेलकुद राजधानीको रुपमा अगाडि बढाउन पोखरा रंगशालालाई बहुउद्धेशीय रंगशालाको रुपमा विकास गर्ने लक्ष्यका साथ काम अगाडि बढेको बताए । उनले संघीय सरकारले रंगशालामा कम दर्शक अटाउने फुटवल स्टेडियम बनाउन हतार गरेको आरोप लगाउँदै भने,‘हतारमा निर्णय गर्नुहुँदैन, अन्र्तराष्ट्रिय प्रतियोगिता गर्न सकिने गरी ठूलो फुटवल स्टेडियम बनाउनुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले पोखरामा बन्न लागेको फुटवल स्टेडियम सानो भएकाले यसलाई बढाउन आवश्यक भएको बताए । उनले राखेपले स्विकृत नगरी पोखरामा स्टेडियम बनाउने प्रक्रिया अघि बढेको बताउँदै यसलाई हतार गरेर काम गर्नुभन्दा परिमार्जन गरेर ३५ हजार वा त्यो भन्दा बढी दर्शक अटाउने स्टेडियम बनाउनुपर्ने र त्यो राखेपले स्विकृत गरेर ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले गण्डकी प्रदेशमा खेलकुदको विकासका लागि योजनाबद्ध ढंगले काम गरिरहेको बताए ।

You might also like

Comments are closed.