आर्थिक आवाज/पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराले यस आर्थिक वर्षको समिक्षा अवधिमा लक्ष्य अनुरुप राजश्व संकलन गरेको जनाएको छ । आर्थिक वर्षमा ८ अर्ब ६३ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा ४ अर्ब १९ करोड रुपैयाँ भन्दा बढि रकम संकलन गरिएको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशबप्रसाद उप्रेतीले जानकारी दिए ।
उप्रेतीका अनुसार पुस महिनामा मात्र ९४ करोड लक्ष्य रहेकोमा १ अर्ब १० करोड रुपैयाँ भन्दा बढि राजश्व संकलन गरी १ सय १५ प्रतिशत सफलता हाँसिल भएको छ । गतवर्ष ६ अर्ब ९६ करोड लक्ष्य रहेकोमा सोही अनुरुप असुली भएको थियो भने यस वर्ष सो रकममा अर्थ मन्त्रालयले २४ प्रतिशत बृद्धि गरी लक्ष्य पुरा गर्न आन्तरिक राजश्व कार्यालय पोखरालाई जिम्मेवारी दिएको थियो ।
प्रदेश नम्बर ४ को मुख्य केन्द्रको रुपमा रहेको पोखरा सेवा उद्योगका लागि अब्बल मानिन्छ । राजश्व बृद्धि गर्न पर्यटन लगायत अन्य उद्योगलाई व्यवस्थित गरेर लैजान सकेमा राजश्व संकलन अहिलेको भन्दा दोब्बर बनाउन सकिने उप्रेतीको भनाई छ ।
यस क्षेत्रमा मुख्य योगदान रहेको अन्तशुल्कको अशुली पनि सन्तोषजनक रहेको देखिएको छ । गण्डकी र धौलागिरी क्षेत्रमा सीमित रहेको यस कार्यालयले सूर्य नेपालदेखि लिएर विभिन्न डिष्टिलरीबाट अन्तशुल्क उठाउँदै आएको छ । राजश्वको अर्को प्रमुख श्रोत मूल्य अभिबृद्धि कर (भ्याट) रहेको कार्यालयले जनाएको छ । यस वर्ष आय कर, घरबहाल कर, स्वास्थ्य शिक्षा लगायतका करहरुमा पनि सूचांक सकारात्मक देखिएको कर अधिकृत गेहन्द्र गिरीले बताए ।
करको दायरालाई फराकिलो बनाउने उद्देश्य अनुरुप करदातामा समेत उलेख्य रुपमा बृद्धि भएको सो कार्यालयका सूचना अधिकृत विजय प्रसाद लामिछानेले जानकारी दिए । गतवर्ष १ लाख ५ हजार करदाता रहेकोमा अहिले आएर १ लाख ३८ हजार ५ सय करदाता रहेको उनको भनाई छ । यसले पनि करको मात्रा भन्दा पनि संख्यामा बृद्धि गराउन सकेमा स्वस्फुर्त राजश्व संकलन हुने उनले बताए ।