समुदायमा आधारीत विपद जोखिम व्यवस्थापन सम्बन्धि ५ दिने तालिम सम्पन्न

आर्थिक आवाज
तनहुँ,२३ माघ ।
व्यास नगरपालिकाको आयोजना तथा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल(एनसेट)को प्राविधिक सहयोगमा आयोजित विपद जोखिम व्यवस्थापन अभिमुखिकरण तथा समुदाय स्तरीय आपतकालीन पुर्व तयारी र प्रतिकार्य क्षमता अभिवृद्धि सम्बन्धि ५ दिने तालिम बुधवार सम्पन्न भएको छ ।

तालिमको समापनमा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मत्री हरि बहादुर चुमानले विपद्को समयमा आवश्यक पर्ने उपकरण बेलैमा जोह गनुपर्नेमा जोड दिए । नेपालमा विपदको कारण कमजोर तथा पुरानाशैलीमा निर्मित भौतिक संरचना पनि भएकाले बलियो जग सहित विज्ञको परामर्श अनुसार संरचना निर्माण गर्नुपर्ने उनको भनाइ थियो । विपद् पर्दा त्यसको पूर्वतयारी तथा विपद्पछि उत्पन्न हुने समस्याबारे दरो मानसिकता नहुदाँ समेत समस्या उत्पन्न हुने गरेको चर्चा गर्दै चुमानले विपदपछि आउनसक्ने परिस्थिति बारे मनोवैज्ञानिक रुपले बलियो हुन आग्रह गरे । विपद् व्यवस्थापनका लागी हरेक गाँउपालिकामा हेलीप्याड र वडा वडामा उपकरण सहित तालिम प्राप्त स्वयंसेवक हुनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै गरी जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लले तालिममा प्राप्त ज्ञान, सीप र चेतनाले समुदाय स्तरमा दीर्घकालिन प्रभाव पार्ने विश्वास व्यक्त गरे । सिकेको सीपको निरन्तरता र प्रयोगका लागी थप तालिम र उपकरणको आवश्यकता औल्याए ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जनतालाई सुसुचित पार्नु जोखिम न्युनिकरणको पहिलो कार्य भएको बताए । जिल्लाको विपद् व्यवस्थापन कोषमा विपद्पछि सामन्य राहत उपलब्ध गराउने मात्र स्रोत उपलब्ध भएकाले विपद् व्यवस्थापन कोष बलियो बनाउनुपर्ने उनको धारणा थियो ।

“दरो घर दिगो बस्ती” भन्ने नाराका साथ भवन संहिता कार्यावन्यनको लागी प्राविधिक सहायता कार्यक्रम अन्तर्गत विपद व्यवस्थापनका राम्रो तालिम प्राप्त जनशक्ती नहुदाँ परेको समस्या समाधान गर्न र समुदाय स्तरमा तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
५ दिनको अवधिमा सहभागीहरुलाई विपद् व्यवस्थापनसँग सम्बन्धीत स्वास्थ्य उपचार सेवा, विपद्को बेला उद्दार, भत्किएको घरको जाँच, भुकम्पको बेला गर्न हुने र नहुने कार्य र सुरक्षित हुने तरिका र अग्नी नियन्त्रण लगायतका विषयमा सैदान्तिक तथा प्रयोगात्मक तालिम दिएको व्यास नगरपालिकाका इञ्जिनियर रविन्द्र मुलले जानकारी दिए । तालिममा व्यास नगरपालिकाका नगर प्रहरी, नपाका १४ वटै वडाका एक÷एक जना, नगरपालिकाका कर्मचारी लगायत २८ जनाको सहभागी रहेको थियो ।

वार्षिक १ हजार मानिसको विपद्का कारण मृत्यु
कार्यक्रममा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल(एनसेट)का कार्यकारी निर्देशक सुर्य नारायण श्रेष्ठले नेपालमा दैनिक ३ जना अर्थात् बार्षिक १ हजार मानिसले विविध विपदको कारण ज्यान गुमाउने गरेको तथ्याङ्क पेश गरेका छन् । उनका अनुसार वार्षिक १ लाख भन्दा बढी मानिस विभिन्न विपद्बाट प्रभावित हुने गरेका छन् । त्यस्तै गण्डकी प्रदेशमा मात्र ६ दिनमा १ जनाले अर्थात् वार्षिक ७० जनाले विपदमा ज्यान गुमाउने गरेको अध्ययनबाट पुष्टि भएको छ । २० हजार मानिस विपदकै कारण प्रभावित हुने गर्दछन भने प्रदेशमा विपद्बाट १ प्रतिशत धनमाल क्षति हुने गरेको छ ।
यसैबिच व्यास नगरपालिकामा मात्र वार्षिक ५ देखी १० जनाले विपद्का कारण ज्यान गुमाउने गरेका छन भने १०० जना मानिस प्रभावित हुने गरेको तथ्याङ्क श्रेष्ठले प्रस्तुत गरेका थिए । त्यस्तै व्यास नगरपालिकामा न्युनतम ५ लाख विपद्कै कारण नोक्सान हुने गरेको उनले बताए । सोही अवसरमा श्रेष्ठले हालसम्म एनसेटले प्राकृतिक प्रकोप र विपदको समयमा समुदाय स्तरमा धनजनको सुरक्षा गर्न सक्ने १ हजार दक्ष विपद् उद्दार टोली बनाएको जानकारी दिए । विपदको समयमा जनताको रक्षा गर्न सक्ने भएकाले तालिम प्राप्त टोलीलाई उपकरणको व्यवस्था गरी दिन उनले नगरपालिकासँग आग्रह समेत गरे ।

You might also like

Comments are closed.