समृद्धिका लागि कर तिर्न आग्रह

पोखरा, २२ चैत ।

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशवकुमार उप्रेतीले कर तिर्नु नागरिकको दायित्व भएको स्मरण गराउँदै देशको आर्थिक समृद्धिका लागि कर तिर्न सम्बन्धित सबैसँग आग्रह गरे ।

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा आन्तरिक राजश्व कार्यालय पोखराको समन्वय तथा प्राविधिक सहयोगमा विहिबार पोखरामा आयोजित एक दिने कर शिक्षा एवं छलफल कार्यक्रममा उप्रेतीले सो आग्रह गरेका हुन् ।

छलफल कार्यक्रममा होटल संघका पदाधिकारी, सदस्य तथा होटल क्षेत्रका कर्मचारीहरुको सहभागिता रहेको थियो । आन्तरिक राजश्व कार्यालयलाई कर मैत्री बनाउन आफूहरु सधैं लागिरहेको भन्दै उनले कर अधिकृतहरुले कुनै पनि प्रतिष्ठानको कर सम्बन्धि खाताहरु चेकजाँच गर्दा अन्यथा नमान्न आग्रह गरे ।
कतिपय अवस्थामा कर कानून विपरितका कामहरु हुने गरेको आफूहरुले पाएको भन्दै उनले विल नकाट्ने पक्ष सबैभन्दा ठूलो समस्याको रुपमा रहेको अवगत गराए । कर प्रशाशन सधैं व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको भन्दै उप्रेतीले कर छलीले राजश्व, वजेट हुँदै देशकै समृद्धिमा नकारात्मक असर पुग्ने भनाई राखे ।

आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजयप्रसाद लामिछानेले स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि करका विषयमा व्यवसायीहरुलाई जानकारी गराएका थिए । कसैले पनि कर छलेर उम्किन नपाउने भन्दै उनले कर तिर्ने बानी बसाल्न सम्बन्धित सबैसँग आग्रह गरे । कर सम्बन्धि आबश्यक सूचना र जानकारी प्रदान गर्न आफ्नो कार्यालय सधै तयार रहेको भन्दै उनले कर छल्न खोज्ने व्यक्ति एक पटक न एक पटक कानूनको दायरामा आउने र पछि दुःख पाउने अवस्था सिर्जना हुने भनाई उनले राखे ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले देशको समृद्धिको लागि कर तिर्नुपर्ने विषयमा आफूहरु सहमत रहेको भन्दै सबै व्यवसायीलाई करको दायरामा समेटिन आग्रह गरे । करका विषयमा व्यवसायी विच रहेका अन्योल हटाउन कार्यक्रम आयोजना गरिएको जानकारी उनले दिए । अध्यक्ष तुलाचनले अहिले पोखराको होटलको अकुपेन्सी ४० प्रतिशत हाराहारीमारहेको जानकारी पनि गराए । संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले व्यवसायी कर तिर्न सधैं तत्पर रहेको भन्दै आन्तरिक राजश्व कार्यालय व्यवसायी मैत्री हुनुपर्ने भनाई राखे । संघका महासचिव गणेशराज पहारीले कार्यक्रम संचालन गरेका थिए ।

You might also like

Comments are closed.