समृद्धिको यात्रामा सहकारी

आर्थिक आवाज/पोखरा । अर्थतन्त्रको मेरुदण्डका रुपमा स्थापित सहकारीले वित्तीय क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन सफल भएको छ । सहकारी क्षेत्रका माध्यमबाट हुने कारोबारमा वर्षेनी वृद्धि भइरहेको छ । कास्कीका सहकारीबाट ३० अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको तथ्यांक छ । कास्कीमा सहकारी क्षेत्रबाट हुने कारोबार वर्षेनी बढिरहेको जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी बताउँछन् ।

कास्कीका सहकारीमा ६ अर्ब ६९ करोड रुपैयाँ सेयर पुँजी छ । बचत २१ अर्ब ५० करोड तथा ऋण लगानी २५ अर्ब २१ करोड रुपैयाँ रहेको बताइएको छ । कास्कीमा अहिले ६ सय २९ वटा सहकारी सञ्चालनमा छन् । जिल्लामा सञ्चालित सहकारी मध्ये प्रदेश अन्तर्गत २ सय ११ वटा सहकारी परेका छन् । पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत ३ सय १७ वटा सहकारी छन् । महानगरभित्र मात्रै कार्यक्षेत्र रहेका सहकारी महानगरपालिका अन्तर्गत रहनेछन् भने जिल्लाभरी कार्यक्षेत्र रहेका सहकारीहरु प्रदेश अन्तर्गत रहने नीतिगत व्यवस्था छ । कास्कीमा रहेका ४ वटा गाउँपालिका अन्तर्गत १ सय १ वटा सहकारी छन् ।

कास्कीका सहकारीको कुल शेयर पुँजी ७ अर्ब रुपैयाँ छ । ऋण लगानी २५ अर्ब रुपैयाँ रहेको बताइन्छ । कास्कीमा सहकारीमा सदस्य २ लाख ६६ हजार जना छन् । सहकारी सदस्य संख्या धेरै भएपनि डुब्लिकेसनको समस्या छ । एकैजना व्यक्ति धेरै सहकारीमा सेयर सदस्यहुँदा डुब्लिकेसन समस्या बढिरहेको हो । कुल सेयरसदस्य मध्ये पुरुषभन्दा महिला ३ हजार बढी छन् । कास्कीका सहकारीमार्फत करिब २ हजार ८८ जनाले प्रत्यक्ष रोजगारी र ८ हजार जनाले अप्रत्यक्ष स्वरोरोजगारी पाइरहेका छन् ।

समग्र नेपालको आर्थिक क्षेत्रमा सहकारीले पु¥याएको योगदान महत्वपूर्ण रहेको नेफ्स्कुनका सञ्चालक भीम गुरुङ बताउँछन् । नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले सरकारले पनि सहकारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

शहरी क्षेत्रमा सहकारीको संख्या बढी भएपछि बिगत केही वर्ष दर्तामा रोक लगाइएको छ । शहरी क्षेत्रमा अहिले सहकारी दर्ता गर्न पाइँदैन । ग्रामीण क्षेत्रमा केही सहकारीहरु थपिने क्रम जारी छ । कृषि सहकारी सञ्चालनमा ल्याउन भने खुल्ला छ । कृषि सहकारी पनि मूख्य शहरी क्षेत्रमा स्थापना गर्न पाइँदैन । कृषि सहकारी सञ्चालन गर्न मिल्ने खुल्ला ठाउँमा दर्ता गर्न मिल्ने व्यवस्था छ । कास्की लगायत देशभरको सहकारी अभियान निकै सशक्त बनेको बताउँछन् गुरुङ । ‘आर्थिक तथा वित्तीय क्षेत्रमा सहकारीको योगदान महत्वपूर्ण छ,’ उनले भने, ‘सामाजिक जागरणका क्षेत्रमा पनि सहकारीले राज्यलाई ठूलो योगदान पु¥याएको छ ।’

You might also like

Comments are closed.