आर्थिक आवाज
पोखरा, ९ पुस । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला’ पुस १८ देखि सुरु हुँदैछ । मेलाको तयारी अन्तिम चरणमा पुगेको पोखरा उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको सहयोग, नेपाल पर्यटन वोर्ड तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा मेला हुन लागेको हो । ‘लगानीको सम्बद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन’ उद्घोषसहित मेला गर्न लागिएको पोखरा उद्योग वाणिज्य संघका महासचिव तथा प्रचारप्रसार संयोजक अर्जुन पोखरेलले जानकारी दिए । मेला पुसको २८ गतेसम्म चल्नेछ ।
‘नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन तथा पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउन मेला आयोजना गरिएको हो,’ पोखरेलले भने, ‘गण्डकी प्रदेशको व्यवसाय बिस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समेत मmेला समर्पित छ ।’
मेलाको आकर्षणमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी रहेको संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण पनि मेलाको आकर्षण बन्नेछ ।
मेलाको थप आकर्षणतर्फ लोकदोहोरी प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगीतिक कार्यक्रम, खुल्ला एकल नृत्य प्रतियोगिता र प्रहशनहरु समावेश गरिएका छन् । मेलामा यो क्षेत्रमा रहेका होमस्टेहरुको स्टलमार्फत हामी पर्यटकीय नयाँ गन्तव्यहरुको प्रचारमा पनि जुट्ने अधिकारीले जानकारी दिए ।
मेलाबाट अनुमानित आम्दानी रु. १ करोडमा अनुमानित खर्च रु ७० लाख कटाउँदा रु. ३० लाख बचत हुने अनुमान संघको छ । मेलाबाट बचत रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने अधिकारीले बताए । मेला सफल बनाउन मूल आयोजक समिति र उपसमितिहरु तयारीमा जुटिरहेको वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले बताए ।
मेलालाई समृद्धि स्टिल्सले मुख्य प्रायोजन गरेको छ । मेलाको सहप्रायोजकमा हिमशिखर कृषि सहकारी संस्था लिमिटेडको उपकार ब्राण्ड जोडिएको छ । मेलासँग नेपाल टेलिकम, गरिमा विकास बैंक, एनएमबी बैंक, अर्घाखाँची सिमेण्ट, गोल्छा अर्गनाइजेसन, एनआइसी एसिया बैंक, बरुण बेभरेज, हाइलाइफ फुड प्रोडक्ट, विजय डिष्टिलरी, सगरमाथा इन्स्योरेन्स, बंगलामुखी एम्युजमेण्ट प्रालि, अजोड इन्स्योरेन्सले पनि सहकार्य गरेको पत्रकार सम्मेलनका जानकारी दिइयो ।
मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहारको लागि हनुमान प्याराग्लाइडिङ प्रालि, स्काई बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालिसँग सहकार्य गरेको छ । मेला अवलोकनकर्तालाई नेपाल टेलिकमसँगको सहकार्यमा ५० रुपैयाँको टिकट काटेपछि ५० रुपैयाँ ब्यालेन्स भएको सिमकार्ड प्रदान गरिने व्यवस्था मिलाइएको संघले जनाएको छ ।
मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठको संयोजकत्वमा ४ सय ५१ सदस्यीय मेला मूल आयोजक समिति तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा कार्य सम्पादन समिति गठन भएको छ । कार्यसम्पादन समिति अन्तर्गत सल्लाहकार समितिका अलावा विभिन्न २८ वटा उपसमिति छन् । स्टल बुकिङ तीव्र गतिमा अघि बढेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । करिब ८० प्रतिशतको हाराहारीमा स्टल बुकिङ भइसकेको कोइरालाले जानकारी दिए ।
Comments are closed.