समृद्ध पोखरा हाम्रो लक्ष्य हो : समावेशी व्यवसायी समूह

 

पोखरा, १ असोज

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि प्यानलसहित उम्मेद्वारी दिएको समावेशी व्यवसायी समूहले समृद्ध पोखरा आफूहरुको लक्ष्य रहेको बताएको छ । संघको यहि असोज ५ र ६ गते हुन गइरहेको ३२ औं महाधिवेशनबाट नेतृत्व लिन अघि सरेको सो समूहले समृद्ध पोखरा आफूहरुको लक्ष्य भएको बताउँदै सो लक्ष्य पूरा गर्न नेतृत्व लिने उद्घोष गरेको हो ।

संघमा आबद्ध प्रत्येक उद्योगी÷व्यवसायीको घर÷घर र पसल÷पसलमा पुग्ने लक्ष्य लिएर घरदैलो गरिरहेको समावेशी व्यवसायी समूहले सोमबार सृजनाचोक, मालेपाटन, पृथ्वीचोक, नागढुंगा, पृथ्वीचोक बसपार्क, सभागृहचोक, जाल्पारोडलगायतका क्षेत्रमा घरदैलो गरेको थियो । सो समूहलाई सोमबार मालेपाटनका व्यवसायीहरुले औपचारिक कार्यक्रम राखेर स्वागत गरेको थियो । स्वागतसहित शुभकामना कार्यक्रममा बोल्दै समावेशी व्यवसायी समूहका अध्यक्षका उम्मेद्वार दामु अधिकारीले नीजि क्षेत्रको अगुवाईमा पोखरालाई समृद्ध बनाउने बताए । उनले भने,‘समृद्ध पोखरा हाम्रो लक्ष्य हो, त्यसका लागि उत्पादनमा जोड दिनुपर्छ अनि उत्पादन भएका सामानहरुको बजारीकरण गर्नुपर्छ, यी कुराहरु सरकारको सहयोगमा नीजि क्षेत्रले गर्ने हो, त्यसका लागि हामी तीनै तहको सरकारसँग हातेमालो गरेर अघि बढ्छौं ।’

घरदैलोका क्रममा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार यदुनाथ अधिकारीले करका विषयमा सरकारले पुर्नबिचार गर्नुपर्ने बताउँदै व्यवसायीमैत्री कर निर्धारणका लागि आफूहरुले दवाब दिने र दवाबले नपुगे आन्दोलन गर्न पछि नपर्ने बताए ।

उद्योगतर्फको उपाध्यक्षकी उम्मेद्वार गीता तिवारी गौतमले ब्यबस्थित औद्योगिक क्षेत्र निर्माणका लागि नेतृत्व गर्ने बताईन् ।

वाणिज्यतर्फका उपाध्यक्षका उम्मेद्वार यमनाथ पौडेलले व्यवसायी र घरधनी बिचको खाडल पुर्न समावेशी व्यवसायी समूहले जित्नैपर्ने बताए ।

महासचिवका उम्मेद्वार किसान सुनारले पछिल्लो समय पोखरा उद्योग वाणिज्य संघ र उद्योगी÷व्यवसायी बिचको दुरी बढेको बताउँदै त्यो दुरी समावेशी व्यवसायी समूहले मेट्ने बताए । उनले भने,‘संघ र उद्योगी÷व्यवसायी बिच ठूलो खाडल छ, त्यो खाडल पुर्न जरुरी छ, यो खाडल पुर्न हामी प्रयास गर्छौं ।’

कोषाध्यक्षका उम्मेद्वार प्रेम भुजेलले सबै क्षेत्रका उद्योगी÷व्यवसायी समेटेर समावेशी प्यानल भएकाले यसलाई जिताईदिन आग्रह गरे ।

उप महासचिवका उम्मेद्वार सीता बरालले महिला उद्यमशीलतामा क्रान्ति ल्याउन समावेशी व्यवसायी समूहलाई जिताउनुपर्नेमा जोड दिईन् ।

यसैबीच, समावेशी व्यवसायी समूहले सभागृचोकदेखी सृजनाचोकसम्म दुबैतर्फ पार्किङ गर्ने व्यवस्थाका लागि पहल थालेको छ । पार्किङ समस्याले त्यस क्षेत्रको व्यवसाय धरासयी हुने अवस्था आएको गुनासो आएपछि सो समूहले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई भेटेर तत्कालका लागि दुबैतर्फ पार्किङ गर्ने व्यवस्था गरिदिन आग्रह गरेको हो । साथै सो समूहले दीर्घकालिन रुपमा भने वैकल्पिक पार्किङ ब्यबस्था गर्न मेयरसँग आग्रह गरेको महासचिवका उम्मेद्वार किसान सुनारले जानकारी दिए ।

समावेशी समूहको प्यानलको अध्यक्षमा दामु अधिकारी, वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बराल उम्मेद्वार छन् । त्यस्तै सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल उम्मेद्वार छन् ।

You might also like

Comments are closed.