सम्पूर्ण विभेदको अन्त्य हुनुपर्छः प्रदेश प्रमुख कुँवर

पोखरा । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले नेपाली सम्पूर्ण जातिका नाममा हुने विभेद, आरक्षणको पूर्ण अन्त्य हुनुपर्ने बताएका छन् । क्षेत्री समाज नेपाल गण्डकी प्रदेशद्वारा विश्व आदिवासी दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा कुँवरले संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको, सबै नेपाली बराबर रहेको र क्षेत्री जाति आँफैमा पहिचान भएको बताए ।

कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले खस, क्षेत्री आदिवासी जाति विषय कार्यपत्र पेश गरेका थिए । सो कार्यपत्रमाथि समाजका सल्लाहकार प्रा.डा. ज्ञानबहादुर कार्कीले टिप्पणीसहित कार्यपत्रमार्फत आएका बुँदा र विगतका माग मुद्दालाई समाजले अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले केही टाठा–बाठाका क्षणिक स्वार्थले देशपछि परेको बताए । गण्डकी प्रदेश सदस्य कृष्ण थापाले समाजले सधै जातीय सद्भाव पूर्ण कार्य गरेको बताए । समाजका महासचिव केशबहादुर केसीले देशको सम्पूर्ण परिवर्तनमा समाजले खेलेको भूमिका र अधिकारका लागि देशव्यापी कार्यक्रम गरिने बताए ।

गण्डकी प्रदेशका अध्यक्ष बेनीबहादुर बस्नेत, केन्द्रीय पूर्व अध्यक्ष प्रा।डा।चन्द्र बहादुर थापा, प्रदेशका बरिष्ठ उपाध्यक्ष इन्द्रमान खत्री, सचिव लक्ष्मी अधिकारी लगायतले कार्यक्रममा बोलेका थिए । दिवसकै अवसरमा क्षेत्री समाज कास्कीद्वारा नौडाडा महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीका लागि स्टेशनरी सामाग्री वितरण गरिएको थियो ।

जिल्ला अध्यक्ष पदमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिलबहादुर अधिकारी, सचिव भरत थापा, ईन्द्र थापा, राजेन्द्र खत्री, शेरजंग अधिकारी र प्रधानाध्यापक ढाकाराम सुवेदीले पनि बोलेका थिए ।

You might also like

Comments are closed.