काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि एनआइसी एसिया बैंकले सरकारलाई सहयोग गरेको छ ।
नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकको तर्फबाट १ करोड ७ लाख ५९ हजार सहयोग प्रदान गरिएको नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।
‘कोरोना महामारीको यो असाधारण समयमा मुलुकको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस अघि समेत आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै देशका सातै प्रदेश सरकारलाई १५÷१५ लाख रुपैयाँका दरले कुल १ करोड ५ लाख रुपैयाँ प्रदान गरिसकेको छ । सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख समावेश गरी १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग भएको थियो स।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब ४८ लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । ‘२२ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद छन्,’ विज्ञप्तिमा भनिएको छ ।
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब १ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय तहहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।




Comments are closed.