सरकारको गियर बदल्ने बेला आयो : प्रचण्ड

 

सन्देश श्रेष्ठ
पोखरा, २१ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गियर बदल्ने बेला आएको बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् । यद्वपी उनले सरकारको गियर बदल्ने भनेको पुराना मन्त्री हटाएर नयाँ मन्त्री बनाउने कुरा नभएको स्पष्ट पारे । उनले भने,‘गियर बदल्ने भनेको मन्त्री हटाउने भनेको होइन, गति बढाउने हो ।’ सरकारले अब तुरुन्तै गियर बदल्ने घोषणा गर्दै उनले भने,‘सरकारले अब गियर बदल्दै छ, सरकारको गति बढाउन जे जे समस्या छ वा त्यस्ता केहि नमिलेका तथा अपुग छन् भने त्यो मिलाएर भएपनि पूरा गरिन्छ । उनले ओली नेतृत्वको सरकारले जनताले अपेक्षा गरेजस्तै गरी काम गर्ने विश्वाससमेत व्यक्त गरे ।

प्रचण्डले ओली सरकार अन्र्तराष्ट्रिय शक्ति सन्तुलन, राष्ट्रियता, ऐतिहासिक र रणनीतिक रुपमा सफल भएको पनि दाबी गरे । असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनुका साथै छिमेकी देश भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन पनि यो सरकार सफल भएकाले वर्तमान सरकारलाई असफल भन्न नमिल्ने उनले तर्क गरे । बर्षाको समयमा खाल्डा खुल्डी पुर्न र बाटो निर्माणमा केहि ढिलासुस्ती भएपनि अब चाँडै ति काम पनि हुने उनको भनाई छ । उनले नेपाल ल्याण्ड लक्ड (भूपरिवेष्ठित) देशबाट ल्याण्ड लिंक्ड कन्ट्री बन्न सफल भएको भन्दै यो सफलता वर्तमान सरकारकै कारण भएको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले कर्मचारीका कारण नेपालमा राजनीतिक नेतृत्व र सरकार असफल हुनेगरेको आरोप लगाए । राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्व बिचको बुझाईमा एकरुपता नहुँदा नयाँ प्रणाली स्थापित हुन समय लागेको उनको भनाई थियो । उनले भने,‘अन्र्तराष्ट्रिय जगतमा राजनीतिक परिवर्तन भएपछि पुराना कर्मचारीकौ नेतृत्व तहलाई पूरै हटाइन्छ र नयाँ प्रणालीलाई आत्मसाथ गर्ने कर्मचारी ल्याईन्छ, तर नेपालमा त्यस्तो छैन, बरु नेपालमा त ब्यूरोक्रेसीले राजनीतिक नेतृत्वलाई बिस्तारै आफूजस्तै बनाउँछ र नयाँ प्रणाली असफल बनाउँछ ।’ कर्मचारीकै कारण वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको पनि उनले तर्क गरे । अब संघ सरकारदेखी सबै सरकारलाई प्रभावकारी बनाउने बारे छलफल चलिरहेको र चाँडै त्यसको रिजल्ट आउने उनले बताए ।

नेकपा अध्यक्ष प्रचण्डले प्रदेश सरकार प्रभावकारी नहुने वा असफल हुँदा सबै परिवर्तन असफल हुने र देश अँध्यारोमा फस्ने बताए । संघीयतालाई जसरी पनि असफल हुन नदिई प्रभावकारी बनाउनु पर्ने बताउँदै उनले भने,‘प्रदेश असफल भयो भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत सबै परिवर्तनहरु असफल हुन्छ, त्यसैले प्रदेश सरकारलाई जसरी पनि प्रभावकारी बनाउनुपर्छ, नत्र देशै अँध्यारोमा फस्छ ।’ नेकपा अध्यक्ष प्रचण्डले संविधानले प्रदेशलाई प्रभावकारी रुपमा रहने भनेर स्पष्ट भनेको भन्दै त्यसमा आशंका नगर्न आग्रह गरे ।

You might also like

Comments are closed.