चन्द्र कुँवर
अध्यक्षः पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसियसन
अध्यक्षः कुँवर नयन ग्रुप
अटो मोबाइलको ब्यापार खस्किएको हो ?
हो, अहिले अटोमोबाइलको ब्यापार खस्किएको छ । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष अटोमोबाइलको ब्यापार घटेको छ ।
कति प्रतिशत जति खस्कियो होला व्यापार ?
अटोमोबाइलको ब्यापार झण्डै ५० प्रतिशत नै खस्किएको अनुमान गरिएको छ । खास गरेर चार पाङ्ग्रे सवारी साधनको व्यापार घटेको छ । मोटरसाइकलको चाहिं नघटे पनि बढेको पनि छैन ।
व्यापार किन खस्कियो त ?
व्यापार खस्किनुको मुख्य कारण फाइनान्सिङ प्रोबलम हो । अहिले बैंकहरुले अटो लोनमा कडाई गरेका छन् । ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने बाध्यकारी व्यवस्थाको प्रभाव अटो व्यवसायमा देखिएको छ । त्यतिमात्र होइन गाडी किन्न आउँदा ग्राहकले केवाइसी भर्नुपर्ने, गाडी किन्ने पैसाको श्रोत खोल्नुपर्ने लगायतका झन्झटिला प्रावधानले पनि समस्या निम्त्याएको छ ।
सरकारले किन यस्तो नीति ल्यायो होला त ?
सरकारले नबुझी नीति ल्याएजस्तो लाग्छ मलाई । उहाँहरु विदेश जानुहुन्छ अनि त्यहाँ जे छ त्यो यहाँ लागु गर्न खोज्नुहुन्छ । त्यो सिस्टम नेपालमा लागु गर्दा त्यसको असर के हुन्छ भन्नेबारेमा उहाँहरुले खोजी नीति नगर्दा समस्या देखिएको हो । प्रभाव मूल्यांकन गरेर मात्र ल्याउनुपर्ने नीति हचुवाको भरमा ल्याइएको छ । नीति ठीक भएपनि शुरुमा व्यवसायी र आम सर्वसाधारण जनतालाई बुझाएर मात्र लागु गर्दा राम्रो हुन्छ । अटोमोबाइल मात्रैले ८४ अर्ब राजश्व तिर्छ । अटोमोबाइलले यति गरिरहँदा पनि किन यस्तो गरिदैछ बुझ्न सकिएको छैन ।
समस्या समाधानका लागि पहल पनि भइरहेको छ कि ?
हो हामीले समस्या समाधानका लागि पहल गरिरहेका छौं । एशोसियसन डेलिगेसन गएको छ । नाडाले पनि भूमिका खेलिरहेको छ । नेपाल उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सले पनि पहल गर्नुपर्छ यसमा ।
कुँवर नयन ग्रुप अन्तर्गत के–के बेच्नु हुन्छ ?
हाम्रो मातहत चार÷पाँच वटा कम्पनी छन् । त्यसमध्ये अहिले २ वटा नयन नेसनल प्रालि र कुँवर एण्ड ब्रदर्स पोखरा निरन्तर सञ्चालनमा छ । हामी होण्डाको मोटरसाइकल र स्कुटरको गण्डकी प्रदेश स्तरीय आधिकारिक बिक्रेता हौं । हामी सोनालिका ट्रयाक्टर पनि बेच्छौं । हामीले बेच्ने डियो स्कुटर सबैको रोजाइमा पर्ने गरेको छ । स्कुटर भनेको डियो भन्ने भएको छ । त्यस्तै ग्रेजिया पनि राम्रो बिक्री भएको छ । डियो स्कुटर कम्फर्टेबल छ । गाडीमै बसेजस्तो हुन्छ ।
ब्यापार कस्तो छ ?
हामीले बजारमा लिड गरिरहेका छौं । दुई पांग्रेमा हाम्रो जस्तो ब्यापार कसैको छैन । पोखराको ४८ प्रतिशत व्यापार होण्डाकै छ । हाम्रो व्यापार ३० प्रतिशत बाइक र ७० प्रतिशत स्कुटरको छ ।
होण्डा कुन वर्ग लक्षित छ ?
यो कमर्सियल मोटरसाइकल हो । होण्डा प्रोडक्ट अफिसियल, किसान सबैलाई हुने बाइक हो । अर्थात मध्यम वर्ग लक्षित बाइक हो यो । हामीसँग युनिकोन पनि छ जसको पिकअपका कारण रोजाइमा पर्ने गरेको छ । होण्डाको बाइक तथा स्कुटर परिवारका सबैले चढेर हिंड्न मिल्ने भएकाले रोजाइमा परेको छ ।
एशोसियसनले के गरिरहेको छ त पछिल्लो समय ?
मेरो दुई वर्षे कार्यकालमा एक वर्ष सकियो । विशेषगरी हामी व्यावसायिक हक हितकै लागि स्थापित भएकाले त्यसैमा फोकस छौं । सँगसँगै हामीले सामाजिक उत्तर दायित्वपनि वहन गरिरहेका छौं । मेरो एक वर्षे कार्यकालमा कर सम्बन्धी सचेतना जगाउन कर सम्बन्धी प्रशिक्षण, भ्याट सम्बन्धी प्रशिक्षण, सामाजिक काम अन्तर्गत ट्राफिक नियम सचेतना कार्यक्रम, मानव आश्रममा ५१ हजार सहयोग, वृक्षरोपण लगायतका कार्यक्रम गरेका छौं । अटोसँग रिलेटेड भएकाले ट्राफिक नियम सम्बन्धी सचेतना र हामीले बेचेको साधनले धुँवा प्रदूषण गर्ने भएकाले पर्यावरणमा कम असर परोस् भनेर प्रदूषण शोषण गर्ने रुख विरुवा बनाउन वृक्षरोपण गरेका हौं ।