सरकारी योजना निर्माणमा बिचौलिया हावी हुँदा गुणस्तर खस्कियो ः निर्माण व्यवसायी संघ कास्की

सन्देश श्रेष्ठ
पोखरा, २८ पुष

नेपाल निर्माण व्यवसायी संघ कास्कीले सरकारी पूर्वाधार निर्माणमा रोकिएको बजेट तत्काल उपलब्ध गराउन माग गरेका छन् । संघले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी सरकारले निर्माण गरेका पूर्वाधार निर्माण गरेर हस्तान्तरण गरिसक्दा पनि सम्झौता अनुरुप बजेट उपलब्ध नगराएको भन्दै तत्काल बजेट उपलब्ध गराउन माग गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले भने,‘काम नसकुञ्जेलसम्म काम सक पैसा दिन्छु भन्छ, काम सकेर हस्तान्तरण गरेपछि भने भुक्तानी अलपत्र पर्छ, हामी त्यसरी रोकिएका बजेट तत्काल भुक्तानी गर्न माग गर्दछौं ।’ उनले अर्थ मन्त्रालयले भुक्तानी गर्ने वातावरण मिलाउने आश्वासन दिएपनि पूरा नगरेको भन्दै यस्तै भइरहेक आन्दोलन गर्ने चेतावनी दिए ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीले निर्माण कार्य शुन्य प्रायः हुने साउन महिनामा निर्माण सामग्रीहरुको मूल्य न्यून हुने भएपनि सोहि महिनामा आर्थिक वर्षको जिल्ला दररेट कायम गर्ने र सोहि दररेटको आधारमा निर्माण कार्यको बोलपत्र तयार गर्दापनि व्यवसायी मारमा परेको बताएको छ । संघले साउनमा कायम भएको दररेट आर्थिक वर्षको अन्त्य तिर मूल्य बृद्धि हुने भएपनि निर्माण योजनाको मूल्य यथावत हुँदा व्यवसायी मारमा पर्ने गरेको बताएको हो ।

निर्माण व्यवसायीले निर्माण कार्यका लागि आवश्यक पर्ने नदीजन्य निर्माण सामग्रीहरुको उत्खनन्मा स्थानिय निकालय अवरोध सृजना गर्नेगरेको आरोप लगाउँदै सहज रुपमा निर्माण सामग्री निकाल्न पाउने अवस्थाको ज्ञारेन्टी गर्न माग गरेको छ । संघले सरकारी कार्यालयले अपारदर्शी ढंगबाट ठूला र संवेदनशिल स्ट्रक्चर निर्माण कार्यमासमेत उपभोक्ता समितिको नाममा बिचौलिया परिचालन गरेको आरोप लगाएको छ । साथै उसले बिचौलियामार्फत काम गर्दा कमिसन तन्त्र बढ्नुका साथै विकास निर्माणको काम गुणस्तरीय नहुने गरेको तथ्य उजागर गरेको छ ।

संघले निर्माण कार्यका नयाँ नीति निर्माण र कार्यान्वयन गर्ने विषयमा निर्माण व्यवसायीहरुसँग छलफलसमेत नगरेको भन्दै यसले विकास निर्माणको कामलाईसमेत प्रभावित पार्ने निश्चित रहेको बताएको छ । उसले भौतिक पूर्वाधार विकासको कामका लागि हालसम्म पोखरा महानगरपालिकाबाहेक कास्कीका अन्य स्थानिय तहले बोलपत्र र दरभाउ प्रकाशन नगरेको भन्दै तत्काल बोलपत्र र दरभाउ प्रकाशन गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका बरिष्ठ उपाध्यक्ष रामराज अधिकारीले निर्माण व्यवसायीलाई ठेकेदार नभई ठगीदार भनेर अपमानित गर्ने काम भइरहेको भन्दै आपत्ति जनाए । उनलेपनि माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिए ।

You might also like

Comments are closed.