सरकार जति जनताको नजिक हुन सक्छ,त्यति नै मानव अधिकारको सम्बोधन हुन्छ : मन्त्री चुमान

पोखरा, २४ मंसिर

७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा कास्कीको पोखरामा प्रभातफेरी र मानवअधिकारका क्षेत्रमा काम गर्ने ब्यक्तित्वलाई सम्मान गरिएको छ । मङ्सिर २४ गते बिहान पोखरा स्थित मानवअधिकार चोकबाट सुरूभएको प्रभातफेरी सभागृह हलमा आइपुगेर सभागर्दै सम्पन्न भएको थियो ।

प्रभातफेरीको समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सरकार जति जनताको नजिक भएर काम गर्न सक्यो त्यति नै बढी मानवअधिकारको सम्बोधन हुन सक्ने धारणा राखे । ‘हिजो द्वन्द्वमा मान्छेहरू मारिईरहँदा त्यति बेला मानव अधिकारको बारेमा राम्रै गरि अनुभूति भयो, त्यो समय पार गरेर राज्यको बागडोर सम्हाल्न पुगेका सबै राजनीतिकब्यक्तिहरू मानवअधिकारको मर्मको बारेमा अनबिज्ञ छैनन् भन्ने लाग्दैन’ मन्त्री चुमानले भने ।  मन्त्रीचुमानले सत्य निरूपण तथा मेलमिलाप आयोगको सुस्तगतिका कारण अझैपनि द्वन्द्वकालिन समयका मुद्धाहरूले किनारा नपाइसकेको बताए । साथै मन्त्री चुमानले गण्डकी प्रदेश सरकार मानवअधिकारको प्रर्बद्धन र सम्र्बद्धनमा प्रतिबद्ध रहेको बताए ।

सोही कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशमा अहिलेको सबैको सक्रियता भएमा मानवअधिकार हनन तथा ज्यादतीका घटना यसवर्ष भन्दा आगामी बर्षहरूमा घट्दै जाने धारणा राखिन् । उनले लैङ्गिक हिंसा अन्त्यकालागी समाजका सबै नागरिक शिक्षित, आर्थिक रूपले सम्बृद्ध र देशमा रहेका कानुनहरू को प्रभावकारी कार्यन्वयन हुनु आवश्यक रहेको बताइन् । ‘प्रदेश सरकार मानवअधिकार प्रत्याभूत गराउन प्रतिबद्ध रहेको छ, मलाई विश्वास छ आगामी वर्षको दिवस मनाउँदा मानवअधिकार उल्लंघनका घटनामा कमी आउने छ’–उनले भनिन् ।

गण्डकी प्रदेश मानवअधिकार महाभेला मूल आयोजक समितिका संयोजक विष्णु प्रसाद बरालले सबैको प्रयासले मात्रै समतामूलक समाज स्थापित हुने बताए । ‘तीनै तहका सरकार बनिसकेका छन्, हामीलाई आशा छ,आगामी दिनमा नेपाली जनताले चाहेको व्यबस्था मानवीयमूल्य र मान्यतामा आधारित समाज बन्ने छ’ उनले भने ।

कार्यक्रममा गण्डकी प्रदेशमा मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै स्याङ्जाकी महिला अधिकारकर्मी गिता शर्मा र तनहुँका अधिकारकर्मी रामलिला सुर्वणकारलाई सम्मान गरिएको थियो । सूर्वणकार इन्सेक आबद्ध मानव अधिकार निगरानी समूह तनहुँका पूर्व संयोजक समेत हुन् ।

गण्डकी प्रदेश महाभेलामूल आयोजक समितिको आयोजनामा भएको प्रभातफेरीमा राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, महिला मानवअधिकार रक्षक सञ्जाल , सामुदायिक वन उपभोक्तामहासंघ,शान्तिका लागी नागरिक समाजको सञ्जाल, सिविन, मानवअधिकार एलायन्स, मानवअधिकार संरक्षण तथा प्रर्वद्धन केन्द्र, युवापत्रकार सञ्जाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत बिभिन्न सरकारी तथा गैरसरकारी निकायको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै अवसरमा आज बेलुकी ५ बजे पोखरास्थित मानवअधिकार चोकमा दिप प्रज्जवल कार्यक्रम समेत आयोजना गरिने इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेलले जानकारी दिए ।

You might also like

Comments are closed.