सररर केवलकारैमा पञ्चासे ! १० अर्ब लागमा बन्दैछ ‘मोनोकेबल डिटाचेवल प्यासेन्जर केबलकार’

सुरेन्द्र पौडेल
पोखरा, १७ असोज । पोखरा २३ घाँटीछिनादेखि पर्वतको पञ्चासेसम्म केबलकार सञ्चालन हुने भएको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडको साहायक कम्पनी पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले केवलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो । करिब १० अर्ब रुपैयाँ लागतमा केवलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । १५ महिनामा निर्माण सुरु गरिने उनले बताए । सुरु भएको ५ वर्षमा निर्माण सम्पन्न गर्ने परियोजनाको लक्ष्य छ ।

८.५ किलोमिटर दुरीको मोनोकेबल डिटाचेवल प्यासेन्जर केबलकार निर्माण गरिने उनले बताए । ‘पञ्चासे क्षेत्रको प्राकृतिक स्वरुपलाई यथास्थानमा राखेर, पर्यटन पुर्वाधारहरु निर्माण गर्न नगरपालिका र गाउँपालिका एवं नेपाल सरकारसँग करिब ३ हजार रोपनी जग्गा लिजमा लिने गरी प्रक्रिया अगाडि बढिसकेको छ,’ शर्माले भने । परियोजना निर्माण पूर्व गर्नुपर्ने ‘प्रि फाइनान्सियल एनालाइसिस रिपोर्ट’, ‘प्रि सर्भे’ सहित डिपिआरको काम ७० प्रतिशत सम्पनन भइसकेको शर्र्माले जानकारी दिए ।

केबलकार परियोजनार्थ सुरुको स्टेसनका लागि घाँटीछिनामा करिब ५८ रोपनी जग्गा खरिद भइसकेको छ । माथिल्लो स्टेसनमा प्रशस्त पर्यटन पुर्वाधारहरु तयार पारिने शर्माले बताए । अत्याधुनिक वाटर लाइटिङ डान्स, वाटर फाउन्टेन फ्लोरा, सहिदहरुको सामुहिक पहिचान गराउन र अध्यन गर्न मिल्ने गरि प्राकृतिक सहिद पार्क, युवा युवती लक्षित गरी प्रेम पार्क निर्माण गरिने परियोजनाको योजना छ ।

पञ्चासे तालदेखि चित्रे गाउँसम्म जिप फलायर, पञ्चासे घुम्ने ट्रेकिङ रुट, बाल उद्यान एवं फन पार्क, श्रवण कुमार आश्रम, हस्तकला बिक्री केन्द्र एवं हेरिटेज प्लाजा सहित होटल, रिसोर्ट तथा होमस्टेको व्यवस्था गरियो परियोजनाको लक्ष्य छ । एकै पटक २ हजार जनालाई सेवा प्रदान गर्नेगरी अल्कोहल जोन तयार पारिने उनले बताए । ‘सम्पूर्ण पूर्वाधार विकासका लागि डिपिआर बनिरहेको छ,’ उनले भने ।

परियोजना निर्माणका लागि पुँजी जुटाउन कम्पनीले आफ्नो चुक्ता पुँजी ४ अर्ब २५ करोड रपैयाँ पु¥याउने शर्माले जानकारी दिए । ‘राष्ट्रिय पुँजी निर्माणको नमुना योजना बनाउने गरी काम भइरहेको छ,’ शर्माले भने, ‘औद्योगिक विकासमा फरक सन्देश प्रवाह गर्ने गरी प्रवद्र्धक शेयरको विभाजन गरेका छौं ।’ पुँजीको व्यवस्थापनमा प्रवद्र्धक शेयर ३ अर्ब रुपैँया रहनेछ ।

कर्पोरेट सेयर ५१ प्रतिशत, कास्की जिल्लाका प्रभावित क्षेत्रको जनताहरु र अन्यलाई सात प्रतिशत, पर्वत जिल्लाका प्रभावित क्षेत्रको जनताहरु र अन्यलाई सात प्रतिशत, स्याङ्जा जिल्लाका प्रभावित क्षेत्रको जनताहरु र अन्यलाई सात प्रतिशत र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुलाई सात प्रतिशत सेयरको व्यवस्था गरिने बताइएको छ । कास्की, पर्वत, स्याङ्जामा रहेका सहकारीहरुलाई ६ प्रतिशत राष्ट्र सेवक कर्मचारीहरुका लागी ५ प्रतिशत, पत्रकारहरुका लागि ३ प्रतिशत, नेपाल आर्मीका लागि २ प्रतिशत, नेपाल प्रहरीका लागि २ प्रतिशत शिक्षकहरुका लागि २ प्रतिशत, श्रमिक र अन्यका लागि २ प्रशित सेयर छुट्टाइएको शर्माले जानकारी दिए । बाँकी रकम स्वदेशी एवं विदेशी वित्तीय संस्थाहरुमार्फत सफ्ट लोन लिएर पुरा गर्ने गरी कम्पनीले गृहकार्य गरिसकेको शर्माले बताए ।

‘परियोजना सम्पन्न भई संचालनमा आइसकेपछि यो क्षेत्रको पर्यटन र अन्य विकासमा कायापलट नै हुनेछ,’ उनले भने । केबलकारमा दैनिक १० हजार जनाले सेवा लिन सक्ने क्षमता रहनेछ । तत्कालका लागि वार्षिक १५ लाख बाह्य तथा आन्तरिक पर्यटकलाई यो क्षेत्रको भ्रमण गराउने कम्पनीको योजना छ । परियोजनाको संचालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजार जनाले रोजगारी सिर्जना हुने अनुमान छ । सोही समूहले तनहुँको बन्दिपुरमा पनि केवलकार निर्माण गरिरहेको छ ।

You might also like

Comments are closed.