सराङकोट बहुउद्देश्यीय सहकारीको भवन शिलन्यास

पोखरा, १५ साउन ।

सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाले बहुउद्देश्यीय कार्यको लागि निर्माण गर्न लागेको भवनको शिलन्यास गरिएको छ ।

२०६३ सालमा स्थापना भएको सहकारी शुरुवातको ८ वर्ष रेडियो सराङ्कोट मात्र संचालन गर्दै विगत ६ वर्षदेखि बचत तथा ऋणको कारोवार मार्फत सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको सचिव कृष्ण थापाले बताए । संस्थाले ३ वर्ष न्यूरोड संगम मार्गमा घर सहितको जग्गा खरिद गरी रेडियो संचालनमा रहँदै आएकोमा पूर्ण रुपमा सम्पूर्ण कार्य संचालनका लागि थप भवन निर्माण गरिन लागिएको अध्यक्ष प्रेम बहादुर जिसीले बताए ।

शुभ साइतमा निर्माण कार्यको शुभारम्भ गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका पूर्व प्राचार्य, उपसचिव बद्रीनाथ अधिकारीले सहकारीको विकासमा सदस्यहरुको एकतासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिनुपर्ने बताए । सहकारी ऐन नियमलाई आम सहकारीले पूर्ण कार्यान्ववयन गर्न सके सहकारीमा समस्या नआउने बताए ।

पोखरा महानगरपालिकाको वडा नं। ९ का वडा अध्यक्ष रामराज लामिछानेले सहकारीले आर्थिक सामाजिक विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । भवन निर्माण समितिका संयोजक अर्जुन बहादुर बस्नेतले निर्माण सम्पन्न पश्चात आम समुदायमुखी कार्यक्रम गर्न सहज हुने बताए ।

संस्थाका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक केदार उप्रेती, शिक्षाविद् दामोदर पराजुली, संगम मार्ग विकास समितिका अध्यक्ष ढाकामोहन लामिछाने, संगममार्ग महिला समितिका अध्यक्ष लक्ष्मी बास्तोला, उपाध्यक्ष बसन्त बहादुर बानिया, रेडियो सराङ्कोटका समाचार प्रमुख कमल पौडेल, पण्डित सोमनाथ सुवेदी, जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष गणेश बहादुर अधिकारी, जाल्पादेवी महिला उद्दार समितिका उपाध्यक्ष राधिका थापा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

४ करोड ३० लाख शेयरपुँजी रहेको संस्थाले २४ करोड ऋण लगानी गरेको छ । स्थापनासँगै संस्थाले सामाजिक उत्तरदायित्वमूलक कार्यहरु गर्दै आएको सचिव कृष्ण थापाले बताए ।

निर्माणाधीन भवनमा व्यवसायिक प्रयोजन, कार्यालय संचालन र बहुउद्देश्यीय प्रयोजनका कार्य हुने गरी १ करोड लागतमा आगामी माघ मसान्तभित्र सम्पन्न गर्ने योजना रहेको समितिका सदस्य रामचन्द्र थापाले बताए । सहकारीले गएको वर्ष राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट सहकारी सम्मान र सहकारी डिभिजन कार्यालयबाट उत्कृष्ट सचिव सम्मान पाएको थियो ।

You might also like

Comments are closed.