सराङ्गकोटमा वित्तीय साक्षरता

पोखरा,१९ फागुन

कृषि विकास बैंक लिमिटेड मुख्य शाखा कार्यालय पोखरा र भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटेड सराङ्गकोटको संयुक्त आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।  शनिवार पोखरा –१८ सराङ्गकोटमा सम्पन्न सो कार्यक्रममा वित्तीय साक्षरताको महत्वका बारेमा अन्तरक्रिया पनि गरिएको थियो ।

सहकारीका सदस्य तथा सर्वसाधरणलाई वित्तीय ज्ञान विस्तार गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।  कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १८ का अध्यक्ष रणबहादुर थापाले वित्तीय साक्षरताबाट सर्वसाधरणले विभिन्न जानकारी लिन सक्ने भएकाले यसको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा कृषि विकास बैंक लिमिटेड मुख्य शाखा कार्यालय पोखराका मुख्य शाखा प्रवन्धक, शाखा प्रमूख र अधिकृतहरुले सहजीकरण गरेका थिए ।

सो अवसरमा विमा सम्बन्धमा रघु न्यौपानेले, आधुनिक बैकिङ्ग उपकरण बारे सन्दीप रेग्मीले, कर्जा सम्बन्धमा राजेन्द्र सुवेदीले, शेयर सम्बन्धमा सन्तोष थापाले, समग्र बैकिङ्ग बारे हिमलाल श्रेष्ठले विभिन्न जानकारी दिएका थिए । अन्तरक्रियामा उठेका जिज्ञासाका बारेमा कृषि विकास बैंक मुख्य शाखा प्रबन्धक चुडामणि अधिकारीले मेटाएका दिएका थिए । उनले जीवनको हरेक क्षेत्रमा आर्थिक एवम् वित्तीय ज्ञान आवश्यक रहेकोले विवेकशील भएर प्रयोग गर्न जरुरी रहेको धारणा व्यक्त गरेका थिए ।  सहकारीका अध्यक्ष बलराम कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष शिवप्रसाद कोइराला र उपाध्यक्ष योगेन्द्र थापा लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.