सर्वज्ञमान विष्णुदेवी सँस्कृति पुरस्कार प्रा.डा. जगमानलाई

पोखरा, १४ जेठ ।

भैरव साँस्कृतिक संरक्षण समितिबाट संचालित ‘श्री सर्वज्ञमान विष्णुदेवी सँस्कृति पुरस्कार २०७५’ बाट सँस्कृतिवीद तथा प्राध्यापक डा. जगमान गुरुङ सम्मानित हुने भएका छन् ।

नेपाली सँस्कृति विकासको लागि अनुसन्धानको माध्यमबाट दिनुभएको योगदानको कदर गर्दै उनलाई सम्मानित गर्न लागिएको भैरव साँस्कृतिक संरक्षण समितिका अधयक्ष तीर्थमान प्रधानाङ्गले वताए । प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसमा गुरुङलाई सम्मानित गर्न लागिएको उनले वताए । छनौट समितिमा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, पोखरेली युवा साँस्कृतिक युवा साँस्कृतिक परिवारका पूर्वअध्यक्ष सरस्वती प्रतीक्षा र पदेन सदस्यमा भैरव साँस्कृतिका अध्यक्ष प्रधानाङ्ग र सचिव सुरेन्द्रमान बिजुक्छे तथा संस्थापकको तर्फबाट गुरु कृष्णदेव प्रधानाङ्ग रहेका थिए । गुरुङलाई यही जेठ २० गते पोखरा उद्योग वाणिज्य संघको सचिवालय गैह्रापाटनमा आयोजना हुने विशेष समारोहमा सम्माति गरिँदैछ । पुरस्कारको राशी १ लाख १ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कार हरेक तीन वर्षमा प्रदान गरिन्छ ।

भैरव साँस्कृतिक परिवारका पूर्वप्रमुख सल्लाहकार तथा गुरु स्वर्गीय सर्वज्ञमान प्रधानाङ्ग तथा उनकी धर्मपत्नी विष्णुदेवीको नाममा उनको परिवारबाट यो पुरस्कार स्थापना गरिएको हो । २०५५ सालमा १ लाख ५ हजारको अक्षयकोषसहित स्थापित यो पुरस्कार पहिले क्षेत्रीय स्तरको रहेको थियो भने पछि यसलाई राष्ट्रियस्तरको बनाइएको थियो । यसअघि सो पुरस्कारबाट २०५७ सालमा संगीतकर्मी कृष्णबहादुर श्रेष्ठ, २०५९ सालमा संगीतकर्मी प्रज्ञारत्न बज्राचार्य र २०६१ सालमा सँस्कृतिकर्मी चेतन कार्की सम्मानित भएका थिए । राष्ट्रियस्तरको पुरस्कार बनाइएपछि २०६३ सालमा गायक फत्तेमान , २०६६ सालमा सँस्कृतिवीद सत्यमोहन जोशी,२०६९ सालमा गायक प्रेमध्वज प्रधान र २०७२ सालमा गायक अम्मर गुरुङ सम्मानित हुनु भएको भैरव साँस्कृतिक संरक्षण समितिका सचिव सुरेन्द्रमान बिजुक्छेले जानकारी दिए ।

यसपटक सम्मानित हुन लाग्नुभएका जगमान गुरुङ २००३ सालमा कास्कीको मादी गाउँपालिकाको याङ्जाकोटमा आमा जोगमाया र पिता शेरबहादुरको सुपूत्रको रुपमा जन्मेका हुन् । उनले हाल नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति छन् । उनले गुरुङ जाति तथा सँस्कृति, नेपाल एकिकरणमा गुरुङहरुको भूमिका, ब्लो( मुस्ताङ) को साँस्कृतिक सम्पदा, नेपालको राष्ट्रिय समीकरणको परिपेक्ष्यमा गण्डकीप्रस्रवण क्षेत्रका तीर्थस्थलहरुको विश्लेषणात्मक अध्ययन, गण्डकीप्रस्रवण क्षेत्रको साँस्कृतिक सम्पदा, तमुवानको ऐतिहासिक वृत्तान्तजस्ता कृतिहरु लेखेका छन् । उनले अहिले पनि सँस्कृतिको अनुसन्धानात्मक कार्यमा निरन्तर खटिएका छन् ।

You might also like

Comments are closed.