सर्वाधिक राशीको पोखरा प्रिमियर लिग आजदेखि, हिमालको काखमा क्रिकेट खेल्ने र हेर्ने दुर्लभ अवसर

सन्देश श्रेष्ठ

पोखरा । नेपालकै सर्बाधिक राशीको क्रिकेट प्रतियोगिता पोखरामा आज शुक्रबारदेखि हुँदैछ । क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा नेपालकै सर्बाधिक २७ लाख पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पिपिएल) प्रतियोगिता आज शुक्रबारदेखी हुन लागेको हो । प्रतियोगिताको उपबिजेताले भने १० लाख प्राप्त गर्नेछ ।

शुक्रबारदेखि शुरु हुने प्रतियोगिता कात्तिक २० गतेसम्म हुनेछ । प्रतियोगिताको उद्घाटनमा घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्स आमनेसामने हुँदैछन् । पहिलो दिन एक खेल भएपनि दोश्रो दिनदेखी दैनिक २ खेल हुने आयोजकले जनाएको छ । दोश्रो दिनको पहिलो खेलमा चितवन राइनोज र बुटवल ब्लाष्टर प्रतिष्पर्धामा उत्रिनेछन् भने सोहि दिनको दोश्रो खेलमा एक्सपर्ट धनगडी ब्लुज र काठमाडौं रोयल्स भिड्नेछन् ।

प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताका लागि मैदान तयार भइसकेको छ । पोखरा रंगशालाको दक्षिणतर्फ रहेको क्रिकेट मैदानलाई प्रतियोगिताका लागि चालीस लाख खर्चेर नेपालकै उत्कृष्ट क्रिकेट मैदान बनाइएको छ । सो मैदानबाट कुमारी हिमाल माछापुच्छ्रेसहित अन्नपूर्ण हिमश्रृंखला प्रष्ट देखिन्छ ।

प्रतियोगिताका लागि सामान्य अवस्थामा रहेको क्रिकेट मैदानलाई सम्याएर फराकिलो बनाइएको छ । साविक क्रिकेट मैदानलाई चार मिटर लम्ब्याइएको छ । झाडी फाँडेर मैदान सम्याइएको हो । मैदानमा दुबो रोपेर रहर लाग्दो बनाइएको छ । त्यसमाथि डिजाइन गरेर आउटफिल्ड आकर्षक बनाइएको छ । आउटफिल्ड तयार गर्न र डिजाइनिङका लागि काठमाडौंबाट विशेषज्ञ ल्याएर काम गरिएको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्धक निर्देशक छुम्बी लामाले बताए ।

चार हजार ५ सय अटाउने दर्शक प्याराफिट

प्रिमियर लिगका लागि करीब चार हजार पाँच सय जनासम्म दर्शक अटाउने अस्थायी प्याराफिट बनाइएको छ । मैदानको पूर्व पट्टीको भागमा दर्शक प्याराफिट बनाइएको हो । दर्शक प्याराफिट फोल्डिङ सिस्टमको छ भने यसलाई जोड्न र खोल्न मिल्छ । मैदानको दक्षिण भागमा मञ्च बनाइएको छ । जुन अस्थायी खालको छ । जसलाई भिआइपी प्याराफिटको रुपमासमेत प्रयोग गरिनेछ । भिआइपी प्याराफिटसँग जोडेर थोरै दक्षिणतर्फ मिडिया जोन बनाइएको छ भने त्योसँगै साइड स्क्रिन राखिएको लामाले बताए ।

मैदानको उत्तर पश्चिमतर्फको कोणमा खेलाडीका लागि वेटिङ र चेञ्जिङ रुम बनाइएको छ । त्यसको थोरै माथी पट्टी स्कोर बोर्ड राखिएको छ । क्रिकेट मैदानको मध्यभागमा ४ वटा क्रिकेट पिच (विकेट) बनाइएको छ । मुख्य पिच (सेन्टर विकेट) मध्य भागमा छ भने अन्य ३ वटा पिच सेन्टर विकेटको साइडमा छ । पिच पूर्ण रुपमा तयार भएर खेल्नका लागि तयारी अवस्थामा रहेको लामाले जानकारी दिए ।

हिमालको काखमा क्रिकेट खेल्ने र हेर्ने दुर्लभ अवसर

तस्बिरः सुदर्शन रञ्जित

पोखरा प्रिमियर लिगका लागि बनाइएको क्रिकेट मैदान नेपालकै सबैभन्दा राम्रो मैदान भएको आयोजकले दाबी गरेको छ । क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्धक निर्देशक छुम्बी लामाले पोखराको क्रिकेट मैदानलाई नेपालको अन्य मैदानसँग तुलना गर्न नमिल्ने बताए । उनले भने,‘पोखराको क्रिकेट मैदान त्रिभूवन विश्वविद्यालय (त्रिवि)को क्रिकेट मैदान भन्दापनि राम्रो बनेको छ, अन्यसँग त यसको तुलना गर्नै मिल्दैन ।’ उनले पिपिएलको लागि भनेर बनाइएको पोखराको क्रिकेट मैदानमा अन्र्तराष्ट्रिय क्रिकेट प्रतियोगितासमेत गर्न सकिने बताए । हिमालको काखमा क्रिकेट खेल्न र हेर्न पाउनु नै सबैभन्दा ठूलो कुरा भएको उनको भनाई छ । त्यसमाथी पोखराको सुन्दरता, यहाँको तालतलैयाले प्रतियोगिताको झनै ओज बढाएको उनको विश्लेषण छ ।

प्रतियोगितालाई आइसिसीले एप्रुभल दिइसकेको छ । प्रतियोगिता तयारीमा जुटेको आयोजकलाई आइसिसीले छोटो समयमै एप्रुभल दिएको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक लामाले बताए । नेपालको क्रिकेट विकास, यहाँको क्रेज र पोखराको वातावरणलाई हेरेर आइसिसीले यति चाँडो एप्रुभल दिएको उनको भनाई छ ।

लामाले पोखरा प्रिमियर लिग क्रिकेटले पोखरा पर्यटनलाई सघाउने दाबी गरे । पोखरा र पिपिएल एक अर्काका पर्याय हुने विश्वास व्यक्त गर्दै उनले भने,‘पोखरा आफैमा पर्यटकीय केन्द्र हो, अझ पिपिएलले पर्यटक आगमनमा बृद्धि ल्याउँछ ।’ उनले सरकारले २०२० सम्ममा २० लाख पर्यटक नेपाल ल्याउने घोषणा गरेको महत्वकांक्षी योजनामा पनि पिपिएल सहायक सिद्ध हुने विश्वास व्यक्त गरे । पोखरामा क्रिकेट खेल्दै गर्दा माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृंखला देखिएको फोटो खिचेर फेसवुक, ट्विटरमा पोष्ट हुने, आइसिसीले पनि प्रोमोट गरिदिने गर्दा त्यसले पर्यटनमा पनि फाइदा पुग्ने उनले बताए ।

सर्बाधिक राशीको पिपिएलमा पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन्स, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगडी ब्लुज गरी ६ टिम प्रतिष्पर्धामा उत्रिदैछन् । सबै टिमले खेलाडी छनौट गरिसकेका छन् । टीममा २÷२ जना विदेशी खेलाडी र २÷२ जना लोकल खेलाडी अनिवार्य राख्नुपर्ने नियम अनुसार खेलाडी अनुबन्ध गरेका छन् । प्रतियोगितामा सहभागि पोखरा पल्टनको मार्की प्लेयर शरद भेस्वाकर छन् भने बुटवल ब्लास्टरको मार्की प्लेयर सोमपाल कामी, चितवन राइनोजको मार्की प्लेयर नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्का, विराटनगर टाइटन्सको मार्की प्लेयर युवा तथा चर्चित खेलाडी सन्दीप लामिछाने, काठमाडौं रोयल्सको मार्की प्लेयर नेपाली राष्ट्रिय क्रिकेट टीमका उपकप्तान ज्ञानेन्द्र मल्ल र एक्स्पर्ट धनगडी ब्लुजको दीपेन्द्र ऐरी मार्की प्लेयर छन् ।

पीपीएललाई नमस्तेको साथ

पोखरा प्रिमियर लिग (पीपीएल)लाई नमस्ते प्रिमियम लागर बियरले साथ दिएको छ । नमस्ते प्रिमियमले टाइटल स्पोन्सर गरेको हो । नमस्ते प्रिमियमको टाइटाल स्पोन्सरसँगै अब प्रतियोगिताको नाम नमस्ते पोखरा प्रिमियर लिग नामाङ्करण भएको छ ।

 

You might also like

Comments are closed.