सशक्त बन्दै सहकारी अभियान

रबिना ढकाल/पोखरा

अर्थतन्त्रको मेरुदण्डका रुपमा स्थापित सहकारीले वित्तीय क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन सफल भएको छ । सहकारी क्षेत्रका माध्यमबाट हुने कारोबारमा वर्षेनी बृद्धि भइरहेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा मात्र कास्कीका सहकारीबाट करिब २७ अर्ब रुपैयाँ कारोबार भएको तथ्यांक छ ।

गत आर्थिक वर्ष २०७३÷७४ को असारसम्म २८ अर्ब रुपैयाँको कारोबार भएको थियो । यो आर्थिक वर्ष सकिन ४ महिना बाँकी नै रहेकाले कारोबार गत वर्षभन्दा अर्बौं बढ्ने अपेक्षा गरिएको छ । यस वर्ष कास्कीमा सहकारीहरु मार्फत झण्डै ३५ अर्ब रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । कास्कीमा सहकारी क्षेत्रबाट हुने कारोबार वर्षेनी बढिरहेको सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय पोखराका प्राचार्य बद्रीनाथ अधिकारीले बताए ।

कास्कीका सहकारीमा ६ अर्ब ६९ करोड रुपैयाँ सेयर पुँजी छ । बचत २१ अर्ब ५० करोड तथा ऋण लगानी २५ अर्ब २१ करोड रुपैयाँ रहेको प्राचार्य अधिकारीले जानकारी दिए । कास्कीमा अहिले ६ सय २९ वटा सहकारी सञ्चालनमा छन् । ‘जिल्लामा सञ्चालित सहकारी मध्ये प्रदेश अन्तर्गत २ सय ११ वटा सहकारी परेका छन्,’ अधिकारीले भने, ‘पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत ३ सय १७ वटा सहकारी छन् । महानगरभित्र मात्रै कार्यक्षेत्र रहेका सहकारी महानगरपालिका अन्तर्गत रहनेछन् भने जिल्लाभरी कार्यक्षेत्र रहेका सहकारीहरु प्रदेश अन्तर्गत रहने नीतिगत व्यवस्था छ । कास्कीमा रहेका ४ वटा गाउँपालिका अन्तर्गत १ सय १ वटा सहकारी छन् । सबै सहकारीलाई यही चैत्र २३ गते एक कार्यक्रमका बीच स्थानीय तह तथा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको अधिकारीले जानकारी दिए ।

कास्कीका सहकारीको कुल शेयर पुँजी ७ अर्ब रुपैयाँ छ । ऋण लगानी २५ अर्ब रुपैयाँ रहेको अधिकारीले जानकारी दिए । कास्कीमा सहकारीमा सदस्य २ लाख ६६ हजार जना छन् । ‘सहकारी सदस्य संख्या धेरै भएपनि डुब्लिकेसनको समस्या छ,’ उनले भने, ‘एकैजना व्यक्ति धेरै सहकारीमा सेयर सदस्यहुँदा डुब्लिकेसन समस्या बढिरहेको छ ।’ कुल सेयरसदस्य मध्ये पुरुषभन्दा महिला ३ हजार बढी छन् । कास्कीका सहकारीमार्फत करिब २ हजार ८८ जनाले प्रत्यक्ष रोजगारी र ८ हजार जनाले अप्रत्यक्ष स्वरोरोजगारी पाइरहेका छन् ।

समग्र नेपालको आर्थिक क्षेत्रमा सहकारीले पु¥याएको योगदान महत्वपूर्ण रहेको जिल्ला सहकारी संघ लि कास्कीका अध्यक्ष रविरमण तिवारीले बताए । नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले सरकारले पनि सहकारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

शहरी क्षेत्रमा सहकारीको संख्या बढी भएपछि बिगत केही वर्ष दर्तामा रोक लगाइएको छ । ‘शहरी क्षेत्रमा अहिले सहकारी दर्ता गर्न पाइँदैन,’ प्राचार्य अधिकारीले भने, ‘ग्रामीण क्षेत्रमा केही सहकारीहरु थपिने क्रम जारी छ ।’ कृषि सहकारी सञ्चालनमा ल्याउन भने खुल्ला छ । ‘कृषि सहकारी पनि मूख्य शहरी क्षेत्रमा स्थापना गर्न पाइँदैन,’ उनले भने, ‘कृषि सहकारी सञ्चालन गर्न मिल्ने खुल्ला ठाउँमा दर्ता गर्न मिल्ने व्यवस्था छ ।’ कास्की लगायत देशभरको सहकारी अभियान निकै सशक्त बनेको बताउँछन् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)का सञ्चालक तथा प्रदेश संयोजक भीम गुरुङ । ‘आर्थिक तथा वित्तीय क्षेत्रमा सहकारीको योगदान महत्वपूर्ण छ,’ उनले भने, ‘सामाजिक जागरणका क्षेत्रमा पनि सहकारीले राज्यलाई ठूलो योगदान पु¥याएको छ ।’

You might also like

Comments are closed.