रविरमण तिवारी
अध्यक्ष
जिल्ला सहकारी संघ कास्की
नेपालको सहकारी अभियानको अवस्था कस्तो छ ?
समग्र नेपालको सहकारी अभियानले ठुलो फड्को मारेकोे छ । कास्कीले पनि यस क्षेत्रमा धेरै प्रगति गरेको छ भन्ने मलाई लाग्छ । अझै पनि कतिपय काम हुन सकेका छैनन् । सहकारी मार्फत व्यावसायिक रुपमा उत्पादनमुखी र सहकारीमार्फत गर्नुपर्ने सेवामुखी कामलाई अझै तिव्र गतिले अगाडि बढाउनु आवश्यक छ । सहकारी मार्फत सशक्तीकरण गर्ने र चेतना फैल्याउने काम पनि भइरहेका छन् । सहकारीप्रति आकर्षण बढ्न थालेको छ । सबै तह र तप्काका मानिस सहकारीमा लागेको हामीले पाएका छौं । सहकारी ऐन २०४८ र सहकारी ऐन २०७४ को बीचमा सहकारीलाई सशक्तीकरण र अगाडि बढाउन धेरै काम भएका छन् ।
सहकारी ऐनका बारेमा तपाईंको धारणा के छ ?
सहकारी ऐन २०७४ ले यस क्षेत्रमा रहेका विभिन्न बाधा फुकाएको छ, जसका कारण यस क्षेत्रमा काम गर्नको लागि केही सहज वातावरण बनेको छ । सहकारी सम्वन्धी ऐन तथा नियम बन्ने सन्दर्भमा छन् । महानगर तथा प्रदेशले ऐन बनाउने क्रममा सहकारीकर्मीसँग छलफल गरेर सहकारीकर्मीको धारणा समेटेर बनाउनु आवश्यक छ ।
सहकारीले के कस्ता क्षेत्रमा काम गरिरहेका छन् ?
सहकारीले विभिन्न क्षेत्रमा काम गर्ने गरेका छन् । दुग्द्य, कृषि, पशुपालन, मत्स्यपालन लगायतका क्षेत्रमा विभिन्न सहकारीले काम गर्दै आएका छन् । सामाजिक उत्तरदायित्व अन्तर्रगत रक्तदान, सरसफाई, निःशुल्क स्वास्थ्य शिविर संचालन लगायतका काम पनि सहकारीले गर्ने गरेका छन् । सहकारी निदृष्ट सिद्धान्तबाट सञ्चालित हुन्छ । ती सिद्धान्तलाई हामीले अगाडि बढाउनुपर्ने हुन्छ । विशेष गरी सहकारी सञ्चालनका विधि नै यसमा पर्दछन् ।
कास्कीमा रहेका सहकारीलाई कसरी वर्गिकरण गरिएको छ ?
कास्कीमा १ महानगर र ४ गाउँपालिका छन् । यहाँ विभिन्न सहकारी सञ्चालन गरिएका छन् । सहकारीलाई वर्गीकरण गर्ने सन्दर्भमा गाउँपालिकामा रहेका सहकारी गाउँपालिकामा नै र महानगरमा रहेका सहकारी महानगरमा नै पर्छन् । गाउँ र महानगरमा जोडिएका सहकारी प्रदेशमा पर्नेछन् । संरचनागत रुपले सहकारी फरक फरक धारमा हुन्छन् । सहकारीलाई हेर्ने दृष्टिकोण पनि त्यसै अनुशार बनाउनुपर्छ । सहकारीलाई अनुगमन गर्ने, मनिटरिङ गर्ने र अगाडि बढ्न सहयोग गर्ने काम स्थानीय तह र प्रदेश सरकारको हुन्छ ।
आम मानिसमा सहकारी सम्वन्धी धारणा कस्तो छ ?
हामीले एक चरण पार गरेका छौं । जसमा सहकारीसँग सम्वन्धित सचेतना कै काम ग¥यौं । सहकारी भनेको बचत गर्ने तथा ऋण दिने संस्था हो भन्ने सोचाई अझै पनि यदाकदा भेटिन्छ । हामीले यस बारेमा बुझाउनु जरुरी छ । हामीले पुँजी अबको दिनमा सदस्य केन्द्रित भएर तथा सदस्यको चाहना र हित अनुसारका काममा खर्च गर्नुपर्छ । सदस्य कहाँ तथा कस्तो भौगोलिक स्थानमा छ, उसको चाहना के छ त्यसै अनुसार सहकारी संचालन हुनुपर्छ । मनाङ तथा मुस्ताङ र कास्की तथा चितवनकोे सहकारीको प्रकृति र व्यवसाय फरक हुनसक्छ । यस्ता कुरा त्यहाँ नेतृत्व गर्ने सहकारीकर्मीले बुझ्नुपर्छ ।
नेपालमा सहकारीले कुन क्षेत्रमा बढी जोड दिनुपर्छ ?
नेपालको सन्दर्भमा हेर्ने हो भने कृषि व्यवसायमा विशेष जोड दिनुपर्छ । कृषि व्यवसाय अनुशासित र मर्यादित व्यवसाय हो र यसमा लगानी गर्नुपर्छ । युवापुस्ताको आकर्षण बढाउनुपर्छ भन्ने तर्फ हामी लाग्न जरुरी छ । यसो गर्न सकेमा उत्पादन वृद्धि हुन्छ र पहिचान पनि झल्किन्छ । कुन सहकारीले के ग¥यो भन्ने पहिचान झल्काउन पनि हामीले ध्यान दिनुपर्छ । जिडिपी, वित्तीय, सेवा लगायत विभिन्न क्षेत्रमा यसले सकारात्मक प्रभाव पारेको छ । हामी वित्तीय कारोबारमा मात्र संलग्न नभई अन्य उत्पादनमूलक व्यवसायमा पनि अगाडि बढ्नुपर्छ । देशको तिन खम्वे अर्थनितीको बलियो खम्वा बनाउनको लागि विशेष पहल गर्नुपर्छ ।
कास्कीका सहकारीले कस्ता व्यवसाय गर्नु उचित छ ?
कास्कीमा ६२९ सहकारी छन् । कास्कीको सन्दर्भमा हेर्ने हो भने यहाँको केन्द्र पोखरा पर्यटकीय नगरी हो । देश विदेशका धेरै स्थानबाट पर्यटक तथा सहकारीकर्मी धेरै आउने गरेको हामीले पाएका छौ । हामीले आफ्नो पहिचान झल्काउनु आवश्यक छ । हामीले सहकारीको विकास गर्नको लागि एकको लागि सबै र सबैको लागि एक भन्ने नारालाई आत्मसात गर्दै सहकारीलाई सुदृण बनाउनुपर्छ । पर्यटनसँग सम्बन्धित सहकारीको पनि यहाँ सम्भावना छ । कृषि लगायत अन्य उत्पादनमूलक क्षेत्रमा पनि काम गर्न सकिन्छ ।
कतिपय सहकारीले उद्देश्य तथा नाम अनुसार काम नगरेको पाइन्छ नि ?
बजारमा कृषि सहकारी भनेर खोलिए पनि बचत तथा ऋणको काम गरेको हामीले पाएका छौं । कम्तिमा ३० प्रतिशत सम्वन्धित काम त्यो संस्थाले गर्नैपर्ने हुन्छ । कृषिको नाममा दर्ता गरेर बचत तथा ऋणको काम गरेका छन् भने त्यस्ता सहकारी बचत तथा ऋणमा नै जान्छन् । अथवा बचत तथा ऋण सहकारी दर्ता गरेर कृषिको काम गरेको छ भने त्यो कृषितर्फ नै जान्छ । ३० प्रतिशत नाम अनुसारको काम गर्नैपर्छ ।
सहकारी अभियानको सकारात्मक पक्ष के छ ?
सहकारी क्षेत्रले धेरै कुरा सिकाएको छ । बचत गर्न पनि सहकारीले सिकाएको हो । थोरै थोरै बचत गर्दै गएमा पनि धेरै बचत हुन्छ । महिला सशक्तीकरणमा पनि सहकारीले महत्वपूर्ण भूमिका खेलेको छ । सहकारीले विशेष गरी ग्रामीण क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउने काम पनि गरेको छ । तीन खम्बे अर्थनीतिमा सहकारी एक बलियो खम्वा बनेको छ । दुग्द्य उत्पादन तथा बजारीकरणको लागि गाउँगाउँमा सहकारी स्थापना भए । मानिसको शहरतिर आकर्षण बढिरहेको छ । यसलाई रोक्न आवश्यक छ । गाउँमा रहेका बाँझो खेतबारीमा कृषि उत्पादन गर्नु जरुरी छ । सहकारीप्रति अझै धेरै आकर्षण बढाउनुपर्छ । सहकारीमा लगानी गर्दा मेरो भविष्य सुरक्षित छ र म उद्यमशील पनि बन्न सक्छु भन्ने सन्देश युवापुस्तामा दिनुपर्छ । विश्वसनीय वातावरण सृजना गर्नुपर्छ । सहकारीमार्फत उद्यमशीलताको पनि विकास भएको छ । सहकारीलाई हामीले सिक्ने थलोको रुपमा पनि विकास गर्नुपर्छ । सहकारी मार्फत देशको आर्थिक स्थिति सुधार गर्न सकिन्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
सबैले राम्रो काम गर्नु आवश्यक छ । एउटा सहकारीले नराम्रो काम गरेमा आम मानिसले सबै सहकारी प्रति हेर्ने दृष्टिकोण फरक हुन्छ । सहकारी सञ्चालन गर्ने विधि, पद्धतिमा धेरै चुनौति छन् । सहकारी क्षेत्रमा विभिन्न समस्या देखिने गरेका छन् । हामी सबै मिलेर समस्या समाधानमा लाग्ने गरेका छौं । हामीले लगानी सुरक्षित गर्नुपर्छ । लगानी सुरक्षित भएमा सुरक्षित अवतरण गर्न सकिन्छ । राम्रो प्रतिफल लिनको लागि पनि हामीले त्यसै अनुसार काम गर्नुपर्छ । हामी सबै आफ्नो संस्था सुदृण बनाउनतर्फ लाग्नु जरुरी छ ।
Comments are closed.