सहकारीकर्मी सुरेन्द्रमणि पर्यटन व्यवसायमा, अर्चले डाँडाको काखमा खुल्दैछ ‘वृन्दावन रिसोर्ट’

सुरेन्द्र पौडेल
पोखरा, ८ चैत । युवा व्यवसायी सुरेन्द्रमणि पौडेलले अत्याधुनिक सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् । पोखरा लेखनाथ महानगरपालिका २७ स्थित अर्चलेमा रिसोर्ट निर्माण भइरहेको छ । जेनिया ग्रुप अन्तर्गत सञ्चालन हुने रिसोर्टको नाम ‘वृन्दावन’ राखिएको छ । भगवान श्रीकृष्णले बाल्यकाल बिताएको स्थान बृन्दावनको झझल्को दिने गरी रिसोर्ट परिसरलाई डिजाइन गर्दै त्यही अनुसारको संरचना तयार पार्न लागिएको छ । ५० रोपनी जग्गामा नयाँ अवधारणाका साथ रिसोर्ट निर्माण गरिरहेको पौडेलले जानकारी दिए ।

एक वर्ष अगाडिबाट निर्माण सुरु भएको रिसोर्टलाई अबको एक वर्षभित्रमा पूर्ण रुपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । पहिलो चरणमा रिसोर्टमा जग्गाबाहेक १० करोड रुपैयाँ भन्दा बढी लगानी हुने पौडेलले बताए । ‘जंगल रिसोर्टको झझल्को समेत दिने गरी संरचनाहरु तयार पार्दैछौं,’ उनले भने, ‘अर्चले डाँडाको काखमा स्तरीय रिसोर्ट सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सफल हुन्छौं ।’

आधुनिक रिसोर्टमा हुने सम्पूर्ण सुविधासहित प्राचीन झझल्को दिने गरी संरचना तयार पारिने उनले बताए । रिसोर्टको प्रवेशद्वार मुरली आकारको बनाइनेछ । रिसोर्ट परिसरमै गाईभैसी पालिने पौडेलले जानकारी दिए । गाईभैसी दुहेको र दही मोथेको पनि पर्यटकले प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । ‘पर्यटकलाई खुवाउन मौषमानुकुल फलफुल तथा तरकारी पनि रिसोर्ट परिषरमै उत्पादन हुन्छ,’ उनले भने ।

‘रोबोट्रिक म्युजियम’ स्थापना गरेर पर्यटकलाई प्राचीन झझल्को दिने ‘कृष्ण अवतार’का विविध गतिविधिको भिडियो हेर्ने व्यवस्था मिलाइने पौडेलले बताए । ‘रथमा चढेर रिसोर्ट वरपरको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइने छ,’ उनले भने । रिसोर्टमा आउने प्रत्येक पर्यटकलाई मुरली उपहार प्रदान गरिनेछ ।

पहिलो चरणमा २४ वटा कोठाबाट रिसोर्टले सेवा सुरु गर्नेछ । रिसोर्टका लागि एउटा मुख्य भवन निर्माण भइरहेको छ भने ६ वटा घुमाउने घरका कटेजहरु निर्माण भइरहेका छन् । रुफटपसहित रेस्टुरेन्टको सुविधा उपलब्ध हुनेछ । आधुनिक स्वीमिङ पुलसहित विभिन्न खेलहरु खेल्ने व्यवस्थासमेत मिलाइने पौडेलले जानकारी दिए । ‘एक पटक घुम्न जानैपर्ने रिसोर्ट बनाउन हामी सफल हुनेछौं,’ उनले भने ।

रिसोर्ट परिसरबाट पोखरा तथा लेखनाथ वरपरको दृश्यावलोकन गर्न सकिनेछ । पोखराबाट नजिकै रहेकाले पनि रिसोर्ट धेरैको रोजाइमा पर्ने पौडेलको विश्वास छ । प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्ध निर्देशक समेत रहेका पौडेल अहिले जेनिया एग्रिकल्चर फर्म, जेनिया इन्टरप्राइजेज लगायतका व्यवसायमा आबद्ध छन् ।

You might also like

Comments are closed.