‘सहकारीको गुणात्मक विकास आवश्यक छ’

बद्रीनाथ अधिकारी
प्राचार्य
सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, पोखरा

६१औं राष्ट्रिय सहकारी दिवस मनाउने क्रममा कास्कीमा विभिन्न कार्यक्रम आयोजना गरेका छौं । विभिन्न कार्यक्रम अन्तर्गत चैत २० गते राष्ट्रिय सहकारी दिवसकोे दिन उत्कृष्ट सहकारी सम्मान तथा समापन कार्यक्रम हुँदैछ । यस अगाडि रक्तदान, सरसफाइ लगायतका कार्यक्रम भइसकेका छन् । सहकारी दिवसलाई भव्य रुपमा मनाउने क्रममा कास्कीमा वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएका छौं । यस पटक पनि हामीले विभिन्न कार्यक्रम गरेर भव्य रुपमा यो दिवस मनाउन सफल भयौं । यो अभियानमा कास्कीका सम्पूर्ण सहकारी सहकारीकर्मीहरुले साथ दिएका छन् ।

संख्यात्मक रुपमा सहकारीको संख्यामा निकै बृद्धि भएको छ । अहिले कास्कीमा सहकारी संख्या ६ सय २९ पुगिसकेको छ । संख्या बृद्धि भए अनुसार गुणात्मक विकास भएको सहकारीका सेयर सदस्यले नै महसुस गर्न सकेका छैनन् । वास्तवमा सहकारीको संख्यात्मक भन्दा पनि गुणात्मक विकास आजको आवश्यकता हो । सकेसम्म धेरै सेवा सुविधा पाउने सहकारीका सेयर सदस्यको इच्छा तथा आकांक्षा हुन्छ । बेरोजगार व्यक्तिले सिप सहितको रोजगार वा व्यवसाय गर्ने इच्छा राखेको हुन्छ । कास्कीका अधिकांश सहकारी बचत तथा ऋणमै लागेका छन् । बास्तवमा लाग्नुपर्ने भनेको उत्पादनतिर हो । कुनै पनि बस्तुको उत्पादन सुरु गरेपछि त्यहाँ रोजगारी पाउनेको संख्यामा बृद्धि हुन्छ । सामान्यतया बचत तथा ऋणको मात्र कारोबार गर्दा फाइदा बढी हुन्छ । रोजगारी सिर्जना बढी हुँदैन । यद्यपि, समग्र नेपालको तुलनामा सहकारीको क्षेत्रमा बढी सुशासन भएको राम्रो गरेको जिल्ला कास्की नै हो । सहकारीमा पश्चिमाञ्चल राम्रो छ त्यसमा पनि कास्की अग्रणी स्थानमा छ । यहाँ धेरै सहकारीहरु उत्पादनमुलक क्षेत्रमा लाग्ने क्रम पनि बढेको छ । कास्कीका सहकारी राम्रा भएकाले बाहिर जिल्लाबाट पनि अध्ययन तथा अवलोकनमा आउने गरेको हामी पाउँछौं । सहकारीको माध्यमबाट हुने आयकरमा बृद्धि भइरहेको छ ।

कास्कीमा मात्र नभएर नेपाल भरी नै सहकारीको संख्या बढी नै छ । सहकारीको संख्या बढी भएकाले र सहकारी क्षेत्रलाई सुशासित तरिकाले अगाडि बढाउने उद्देश्यले अहिले दर्ता रोकिएको हो । सरकारले सहकारी संख्या घटाउनका लागि एकीकरणमा जोड दिएको छ । संख्यात्मक बृद्धि मात्र प्राथमिकतामा राख्नु हुँदैन । संख्यात्मक बृद्धिले मात्र सदस्यहरु लाभान्वित हुँदैनन, त्यसका लागि गुणात्मक बृद्धि आवश्यक पर्छ । संख्या कम भएपनि ती सहकारीहरुले उत्पादन, प्रशोधन तथा बजारको काम गरे भने रोजगारीमा पनि बृद्धि हुन्छ र सेयर सदस्यहरु पनि लाभान्वित हुन्छन् । राम्रा थोरै सहकारीले पनि धेरै सेवा गर्न सक्छन् ।

एक सहकारी संस्था एक उत्पादन भन्ने राष्ट्रिय सहकारी नीति पनि छ । यही नीति अनुसार कास्कीका कतिपय सहकारी संस्थाहरु उत्पादनमा अगाडि बढिसकेका छन् । उदाहरणका लागि प्राइम सहकारीले उत्पादनमा लगानी गरिसकेको छ । सहकारीले जुस उद्योग चलाएर बाख्रापालन गरेको छ । कतिपय सहकारीले पसल चलाएका छन् भने डाँफेले कृषिमा लगानी गरेको छ । कास्कीका करिब ३० वटा भन्दा बढी सहकारी संस्था उद्योग तथा व्यवसायमा लागेको पाइन्छ । अन्य सहकारीहरु पनि यो अभियानमा अगाडि बढ्ने क्रम जारी छ । सहकारीलाई सबैको बनाउन सहकारी शिक्षा अथवा सहकारी प्रशिक्षण अति आवश्यक छ । सबै सदस्यले संस्था मेरो हो भन्ने बुझे पनि पक्कै पनि सहकारी गतिशील हुन्छ र सहकारी सबैको साझा पनि प्रमाणित हुन्छ । सबै सदस्यले आफ्नो संस्थाप्रति चासो राखेर सूचनाहरु जानकारीमा लिइराख्नुपर्छ । दुई÷चार जनाले मात्र सहकारी मेरो हो भने झैं गरी चलाएको उदाहरण पनि पाइएको छ । सञ्चालकहरुमा सधैं आफूहरु मात्र बस्ने र संस्थालाई व्यक्तिगत जस्तो गरी सञ्चालन गर्नु राम्रो होइन । तीनै सहकारी सञ्चालकका कारण सदस्यहरु सहकारीप्रति सन्तुष्ट नभएको पनि पाइन्छ । यसप्रति सबै सेयर सदस्य सचेत बन्नुपर्छ । सदस्यले सचेतक भएर तथा आफ्नो कर्तव्य बुझेर सहकारीप्रति निभाउनुपर्ने भूमिकालाई बिर्सनुहुँदैन ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...