सहकारीको ब्याजदर वाणिज्य बैंकको बराबर बनाउने अवसर

अपिल कोइराला
उपाध्यक्ष, को–अपरेटिभ मेनेर्जस क्लब, कास्की

सहकारीको अर्थ नै सहकार्य हो । तसर्थ जुन समुदाय, सदस्य र संस्थाबीच त्रिकोणात्मक सम्बन्धमा अडिएको यो विश्वासले आम जन समुदाय र सहकारीकर्मीमा ठुलो महत्व राख्दछ । सहकारीमा आबद्ध सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा सहकारीको महत्वपूर्ण भुमिका रहेको हुँदा हरेक पाइला पाइलामा सदस्यहरुको उन्नती र प्रगतिको माध्यम बन्न सहकारीले हातमा हात र काँधमा काँध मिलाउन नितान्त आवश्यक छ ।

परिवेशमा सहकारीले सुरुवाती अवस्थामा साहु महाजनहरुको जस्तो चर्का ब्याज लगाइएको भन्ने जुन आरोप सहकारीमा विद्यमान छ । यस अवस्थामा बचत तथा ऋणको ब्याजदरका विषयमा सहकारीकर्मीहरुका बिचमा बहस र चर्चा धेरै नै भएको छ । हुन पनि जरुरी छ । समुदायमा नै स्थापना भएर समुदायको आर्थिक उन्नती र प्रगतिलाई मूलमन्त्र र आदर्शको परिकल्पनामा विश्वास राख्ने ठुला भन्दा पनि सुशासनयुक्त सहकारीहरु जसलाई उसले राखेको जगेडा तथा अन्य कोषहरुले अव्वल सावित गर्दछ । त्यस्ता सहकारीहरुका लागि ऋणको ब्याजदर वाणिज्य बैंकहरुको दाँजोमा रहँदा कुनै समस्या उत्पन्न नहोला । तर जो सदस्य तथा समुदाय केन्द्रित नभई पूर्ण रुपमा मात्र नाफा कमाउने उद्देश्यका साथै सीमित बर्गको स्वार्थ पुरा गर्न लागि परेका सहकारीहरुका लागि यस परिस्थिति जटिल र टाउको दुखाईको विषय रहने निश्चित्त छ । जुन सहकारी संस्थाको शुद्ध संस्थागत पुँजी १० प्रतिशत भन्दा बढी छ त्यस्ता संस्थाले अहिले पनि एक अंकमा ऋण लगानी गर्न कुनै पनि कठिनाई छैन ।

सहकारी ऐन २०७४ र सहकारी निवमावली २०७५ अनुसार हरेक सहकारी संस्थाले आफूले गरेको खुद सञ्चालन बचत (नाफा) को न्युनतम पनि २५ प्रतिशत जगेडा कोष (संस्थागतपुँजी) मा जम्मा गरि अन्य कोषहरु नियमानुसार विभाजन गरि हरेक आर्थिक वर्षको समाप्तीसंगै खर्च नभएका कोषहरु जगेडा कोषमा रकमान्तर गर्ने नियम छ । त्यसलाई निरन्तरता दिनु जरुरी छ । वर्तमान अवस्थामा जसको शुद्ध संस्थागत पुँजी १० प्रतिशत भन्दा माथि छ ती संस्थाहरु कुनै पनि समस्यामा पर्दैैनन् भन्ने ठोकुवा गर्न सकिन्छ । हुन त पल्र्स अनुसार शुद्ध संस्थागत पुँजी १० देखि २० प्रतिशतसम्म हुँदा संस्था अत्यन्त मजवुत हुन्छ । तर पनि ५ प्रतिशत भन्दा माथि शुद्ध संस्थागत पुँजी भएका सहकारी संस्थाहरु पनि अव्वलमा नै दर्ज हुन्छन् । तसर्थ हरेक संस्थाले संस्थागत पुँजी वृद्धिको योजना ल्याउनु पर्ने कुरा कोरोना महामारीले पनि सिकाएको छ ।

अर्को महत्वपूर्ण पक्ष हरेक सहकारी संस्थाले कारोवारको आधारमा संरक्षित पुँजी फिर्ता कोषको वितरणको अभ्यास गर्नुपर्ने हुन्छ । यसलाई कार्यान्वयन गरे पश्चात शेयर सदस्यलाई लाभांशको भन्दा पनि कारोवारबाट प्रतिफल प्राप्त गर्न आकर्षण बढ्छ र संस्थाको कुल सम्पत्तीमा वृद्धि हुन जान्छ ।

वित्तीय संस्था नै सहकारी हो भन्ने मान्यता अनुसार समुदायको विश्वास जित्न जरुरी छ । यसका लागि यो अति उपयुक्त समय छ । ऋणको ब्याजमा धेरै भारी बोकाएर सदस्यहरुलाई अझ गरिब बनाउनु भन्दा बचतकर्ता सदस्यहरुलाई पनि केन्द्रमा राखी चलनचल्ती अनुसारको बचतमा ब्याजदर निर्धारण गरेर मासिक वा त्रैमासिक रुपमा ब्याजदरलाई पुनारावलोकन गरी नियन्त्रणमा राखी ऋणको ब्याजदर समायोजन गर्दै अबको यस विषम परिस्थितिमा संस्था सञ्चालन गरेमा समृद्ध सदस्य तथा दीगो संस्था बन्नेमा कुनै दुईमत छैन । यस विषयमा सहकारी अभियान तथा नियामक निकायले ठोस कदम चालोस भन्ने अपेक्षा राख्दछु । जय सहकारी ।

(लेखकः संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा, कास्कीका वरिष्ठ ब्यवस्थापक समेत हुन् ।)

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...