आर्थिक आवाज
पोखरा, ३ असोज । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले सहकारीको संख्या धेरै भएकाले मर्जरमा जानुपर्ने बताएका छन् । बैंकहरु मर्जर गएको उदाहरण प्रस्तुत गर्दै उनले सहकारी पनि मर्जरमा जानुपर्नेमा जोड दिए ।
सञ्चार बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभाको बुधबार उद्घाटनका अवसरमा बोल्दै थापाले संख्यामा भन्दा गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने बताए । ‘सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ,’ उनले भने ।
बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष सुदिप ढकालले सहकारीलाई खुम्च्याउने काम भएको बताए । कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष रामराज लामिछाने, कोपिला साकोसका अध्यक्ष सूर्यबहादुर जि.सी लगायतले बोलेका थिए ।
उत्कृष्ट कर्मचारी तथा सेयर सदस्य तथा सहयोगी व्यक्तिहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो । सहकारीको शेयर पुँजी २ करोड ५६ लाख रुपैयाँ, निक्षेप २ करोड ७३ लाख रुपैयाँ र ऋण लगानी ४ करोड ४६ लाख रुपैयाँ रहेको सचिव पवित्रराज तिवारीले जानकारी दिए । सहकारीका अध्यक्ष विनोद ढुङगानाको सभापतित्वमा कार्यक्रम भएको हो ।
सञ्चारको अध्यक्षमा विनोद ढुङगाना सर्वसम्मत
सञ्चार बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विनोद ढुङगाना पुनः अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको बुधबार सम्पन्न ७औं साधारणसभाले ढुङगानाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा प्रेमप्रसाद दाहाल, सचिवमा पवित्रराज तिवारी, कोषाध्यक्षमा युवराज खनाल निर्वाचित भए । सदस्यहरुमा किरण ढकाल, सविना श्रेष्ठ, मात्रिका पोखरेल, विनोद भुजेल, रुद्रबहादुर केसी, नन्द प्रसाद पोखरेल र जमुना शर्मा निर्वाचित भएका छन् ।
सहकारीको लेखा संयोजक रेशम खड्का र सदस्यमा दीपेन्द्रबहादुर आले र गणेश पराजुली निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भएपछि ढुङगानाले सम्पूर्ण सेयर सदस्यहरुको भावना अनुसार संस्थाको नेतृत्व गर्ने प्रतिबद्धता गरेका छन् । छोटो समयमा सहकारीले उल्लेख्य प्रगति गरेको बताउँदै उनले आगामी दिनमा अझ राम्रो काम गर्ने बताए ।
Comments are closed.