सहयात्रीका सदस्यलाई युआरएलमा ३० प्रतिशत छुट

पोखरा, १६ भदौ ।

सहयात्री बचत तथा ऋण सहकारी संस्था पोखराका सेयर सदस्यले पोखरा न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)मा ३० प्रतिशत छुट पाउने भएका छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याबमा हुने सबै खालका रक्त परीक्षणमा सहयात्रीका सदस्य छुट पाउने छन् । सम्झौतामा सहयात्रीका अध्यक्ष डा. त्रिभुवन शर्मा र युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले शनिबार हस्ताक्षर गरे ।

सहयात्रीको ८ औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा यो सम्झौता भएको हो । सहयात्रीका अधिकांश सेयर सदस्य कास्कीका रहेका निजी विद्यालय सञ्चालक हुन् । सो अवसरमा भएको शिविरमा ३ सय ७ जनाको निशुल्क मधुमेह तथा थाइराइडसम्बन्धी रक्त परीक्षण गरिएको थियो ।

साधारणसभामा गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सरदचन्द्र श्रेष्ठले सहकारीले उत्पादनमूलक क्षेत्र र कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिए । यसबाट देशले चाहेको समृद्धि र जनताको जीवनस्तरमा परिवर्तन सम्भव हुने उनको भनाइ छ ।

कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तारा कोइरालाले पोखरामा नै सबैजसो रोगको उपचार र विज्ञ चिकित्सक उपलब्ध रहेको बताए । उनले भने, ‘खोकी लागे पनि राजधानी र विदेश जाने चलन हट्नुपर्छ । हामी पोखरालाई मेडिकल हब बनाउन लागेका छौं ।’ उनले विद्यालय सञ्चालक र शिक्षकहरुलाई आफ्नो देशलाई माया गर्ने पाठ सिकाउन आग्रह गरे । डा. कोइरालाले कार्यक्रममा मधुमेह र थाइराइड रोग लाग्नुका कारण, उपचार पद्धति र पूर्व सावधानीका उपायमाथि प्रकाश पारेका थिए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सामाजिक संघ, संस्थासँगको सहकार्य र सामाजिक उत्तरदायित्व वहन नै आफूहरुको पहिचान बनेको बताए । उनले हालसम्म ५५ वटा निशुल्क शिविरमा करिब ३२ हजारले निशुल्क सेवा पाएको जानकारी दिए ।

कार्यक्रममा कोअपरेटेभि म्यानेजर्स क्लबका अध्यक्ष मिलन ढकाल, प्याब्सन कास्की अध्यक्ष दिनेश श्रेष्ठले लगायतले बोलेको सहकारीका प्रबन्धक पशुपति अधिकारीले जानकारी दिए ।
सहकारीका अध्यक्ष डा. त्रिभुवन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चिनु रानाभाट र सञ्चालन सचिव डा. रामजी शर्माले गरेका थिए ।

You might also like

Comments are closed.