सुनिता आचार्य
तनहुँ, १५ माघ । ‘नेताहरुले हेर्दै हेर्दैनन् । सहिद परिवारलाई केही त राहत होला भनियो । त्यो पनि भएन । म पनि ब्रिटिस आर्मीको जागिर छोडेर साथीहरुसँगै प्रजातन्त्र प्राप्तीमा होमिएँ । यसको प्रतिफल हामीले पाएनौं । पार्टीको पछि लागेर राइफल बोक्यौं । दिनरात भनेनौं । जेलनेल भोग्यौं । हाम्रा साथीहरुले सहादत प्राप्त गरे । तर, राज्यले हाम्रो योगदानको उचित मुल्यांकन गरेन् ।’
यो दुखेसो व्यास नगरपालिका–८ पुलिमराङका भवेश्वर गुरुङको हो । उनी जस्तै सहिद गाउँका अरुले पनि त्यहाँ पुग्ने सबैसँग यस्तै गुनासो गर्छन् । २००७ सालमा प्रजातन्त्र प्राप्तीका लागि छाति थापेका धर्मध्वज गुरुङसँगै एउटै गाउँका अरु ५ जना सहिदहरुले सहादत प्राप्त गरेको गाउँ हो तनहुँको पुलिमराङ । धर्मध्वज गुरुङले बन्दीपुरको संघर्षमा ज्यान गुमाएका थिए ।
२०१८ सालमा समशेर गुरुङले चितवनको भरतपुरमा, भारत गुरुङ पुलिमराङस्थित आफ्नै गाउँमा, बाँकी तीन जना लालध्वज गुरुङ, हस्तवीर गुरुङ र सर्वसिं गुरुङले कोत्रेमा सहादत प्राप्त गरेका थिए । उनीहरुको सम्झनामा पुलिमराङमा निर्माण गरिएको सहिद स्मारक अहिले अलपत्र छ । त्यसका कारण पनि पुलिमराङवासी धेरै दुःखी छन् । देशमा धेरै परिवर्तन भएर गणतन्त्र स्थापित भइसक्दा पनि राणाशासन र पञ्चायत शासन विरुद्ध लडेर सहादत प्राप्त गरेका ती सहिदको सपना पुरा हुन नसकेको प्रतिपनि पुलिमराङवासीको दुखेसो हो ।
अहिले तिनै सहिदहरुको सम्झनामा निर्माण गरिएको पुलिमराङको सहिद स्मारकमा पुग्दा जो कोहीको पनि मन दुख्छ । वरीपरी झाडी, बीचमा अलपत्र परेका ६ सहिदका अर्धकदको सालिकले सायदै कोहीको मन नबिझाउला । ‘सहिदको बलिदानीको घोर अपमान भयो,’ समितिका अध्यक्ष एकबहादुर गुरुङ बोल्दै थिए, ‘नेताहरु मुखको राम्रो, मनको चाम्रो भएर बिग्रियो ।’ योजना ठुलो भएपनि बजेट आउदा थोरै–थोरै आउने गरेको उनको दुखेसो छ । ‘बजेटकै अभावमा काम अगाडि बढाउन सकिएन । नेताहरुले भाषणका क्रममा कुरालाई धेरै उचाइमा पु¥याउछन् तर कार्यान्वयन पक्ष शुन्य छ । धेरै पटक मन्त्रायलको ढोका–ढोका चहारेको छु । जहाँ जा भन्छन् त्यही पुगेको छु तर उपलब्धी भाको छैन,’ उनले न्याउरो अनुहार बनाउदै भने, ‘सहिद पार्कको बेवारिसे अवस्थाले आफ्नै ठाउँबाट नेतृत्व तहमा पुगेका नेताहरुको मन छोएको छैन ।’ यसो भनिरहँदा उनी घरी दुखित देखिन्थे त घरी आक्रोशित ।
वि.स. २०५१ चैत २९ गते स्वर्गीय गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा सो क्षेत्रमा सोलार उद्घाटन गर्न आएको बेला सहिद स्मारक कोष समिति खडा गरेका थिए । तत्कालीन समयमा जग्गा खरिदका विषयमा केही कुरा नमिल्दा अलमल भएपछि २०६० सालमा जग्गा खरिद गरी स्मारकको कार्य थालेको समितिका अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिए । १ करोडको लागत अनुमान गरिएको उक्त सहिद स्मारक प्रत्येक वर्ष अपुग बजेटको कारण पुरा हुन नसकेको गुरुङले बताए । हालसम्म २५ लाख भन्दा बढी खर्च भइसकेको भएपनि बजेट एकीकृत गरी खर्च गर्न नपाउँदा २५ प्रतिशत कार्य पनि पुरा भएको छैन । यहाँसम्मकी २०६५ सालमा ६ जना सहिदको स्मृतिमा निर्माण गरी सहिद स्मारकमा राखिएको शालिक अहिलेसम्म ढाकिएकै अवस्थामा छ । त्यसले पनि स्थानीय धेरै दुःखी भएका छन । राष्ट्रलाई योगदान दिएर सहिद भएका योद्धाहरुलाई अपराध गरेझैँ राखिएको छ । यो कस्तो न्याय हो ? गुरुङले भने ।
नयाँ व्यवस्था अनुसार स्थानीय तहमा अधिकार आएपछि केही हुनेमा स्थानीयबासी आशावादी पनि छन् । अलपत्र अवस्थामा रहेको सहिद स्मारकलाई केही गरौं भन्ने उद्देश्यका साथ व्यास नगरपालिकाले काम थालेकाले पनि उनीहरुमा आशा पलाएको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले स्मारकको लागि अघिल्लो आर्थिक वर्षमा १८ लाख र चालु आवमा १५ लाख विनियोजन गरेको जानकारी दिए । अहिले निर्माण भएका संरचना बलियो नभएकाले पुन गुरुयोजना बनाएर मात्र खर्च गर्न विज्ञहरुले सुझाव दिए अनुसार नगरपालिका अहिले नयाँ गुरुयोजना बनाउने तरखरमा लागेको न्यौपानेको भनाई छ । सो क्षेत्रमा सडकको अभावका कारण निर्माण सामग्री ढुवानी गर्न अप्ठ्यारो भएकाले पनि स्मारकले पुर्णता पाउन नसकेको उनले बताए ।
Comments are closed.